सपना लाहुरे बन्ने थियो तर सहकारीमा रमाएँ

जीवनमा जो व्यक्तिले हार मान्दैनन्, उनीहरु नै सफलताको शिखरमा पुग्छन् । संघर्षले नै मान्छेलाई सुखको अनुभुति दिलाउँछ । दुखमा रमाउन जानेका मान्छेहरु जहाँ गए पनि असफल हुँदैनन् । यस्तै दुखसँग रमाउँदै जीवनमा संघर्ष गरिरहेका व्यक्ति हुन् हिमलाल गौतम । उनले बाल्यकालदेखि नै धेरै संघर्ष गर्नुप¥यो । त्यही संघर्षका कारण त आज उनी वीरेन्द्रनगरमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक छन् । आजको जम्काभेटमा उनै गौतमसँग हाम्रा सहकर्मी गीता थापाले कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांश ः

बाल्यकालै बुबा गुमाए

वि.सं २०३५ सालमा सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ४ भैरवस्थानमा जन्मिएका हिमलाल गौतमको बाल्यकाल दुखद नै वित्यो । उनी चार वर्षका हुँदा उनका पिताको निधन भयो । उनको पिताको २०३९ सालमा निधन भएको थियो । उनलाई त्यहि बेलाको समय यादसमेत छैन । उनको खाना र खेल्न पाए पुग्ने उमेर थियो । उनलाई त्यो समयको केही याद छैन । घरको मुख्य व्यक्ति नै नरहेपछि सबै जिम्मेवारी उनकी आमामा आइलाग्यो । गौतमकी एउटी दिदी र दुई बहिनी छन् । दिदी र आमाले नै काम गरेर घरको खर्च टर्ने गथ्यो । जब उनी बुझ्ने भए घरको स्थिती देखेर मेहेनत र परिश्रमकासाथ पढाइ गरे ।

पढाइमा संघर्ष

गौतमले कक्षा एकदेखि पाँचसम्म भैरव माध्यमिक विद्यालय भैरवस्थानमा पढे । कक्षा ६ देखि शुल्क लाग्ने भएपछि उनी जन माविमा भर्ना भए । र एसएलसी पनि त्यहिबाट पास गरे । जन माविमा पढ्दा शुल्क तिर्ने उनीसँग पैसा थिएन । तत्कालिन अवस्थामा हेमप्रसाद पन्त सरले उनलाई जन माविमा निशुल्क पढ्ने वातावरण मिलाइ दिएपछि उनले त्यहाँबाट एसएलसी पास गरेका थिए । कक्षा ११ र १२ भने वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट पास गरेका हुन् । उनले चार वर्षसम्म वीवीएस अध्ययन गरे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले वीवीएस उर्तिण गर्न सकेनन् । त्यसपछि भने उनी सुर्खेत शिक्षा क्यापसमा भर्ना भएर वीएड उर्तिण गरे ।

अरुलाई पढाउँदै, आफू पढ्दै

घरको आर्थिक अवस्था नाजुक थियो । तर, पनि उनी मेहेनत गरेर आफ्नो पढाइ भने छोडेनन् । घरखर्च चलाउनदेखि आफु पढ्ने खर्च जुटाउने जिम्मेवारी उनमा नै थियो । उनले खर्च जुटान स्कुलमा पढाउन सुरु गरेका थिए । २०५२ सालमा एसएलसी पास भएपछि उनले उषा बालबाटिका स्कुलमा पढाउन सुरु गरे । स्कुलमा पढाएवापत उनले महिनाको पाँचसय रुपैयाँ मात्र पाउँथे । त्यही पैसाले घर खर्च र आफ्नो पढाइ खर्च पु¥याउनु पथ्र्यो । दुई बहिनी, आमा र आफ्नो खर्च त्यहि पाँच सयले पु¥याउनु पथ्र्यो ।

उनले चारवर्ष सोही स्कुलमा पढाउँदै खर्च निकाले । तत्कालिन द्वन्द्वकालिन अवस्थामा निजी स्कुलहरु बन्द भएपछि दुई÷तीन वर्ष खाली बसे । त्यही खाली भएको समयमा उनले विद्यार्थीहरुलाई जम्मा गरेर घरमै ट्युसन पढाएर घरखर्च निकाल्ने गर्थे । उनले एसओएसमा पनि ट्युसन पढाएर घरखर्च पु¥याएका थिए । उनले बीएड सुर्खेत शिक्षा क्याम्पसबाट गरेका हुन् । जति दुख भएपनि उनले हार भने मानेनन् । संघर्ष गर्दै पढाइलाई निरन्तरता दिए । घरको एक्लो छोरा सबै जिम्मेवारी उनीमा नै थियो । बाल्यकालमा आमा र दिदीले समाले पनि बुझ्ने भएदेखि नै घरको सबै जिम्मेवारी उनकै थियो ।

घर छोड्न नमिल्दा…

जीवनमा सबैले देखेका सबै सपना पुरा हुँदैनन् । बाल्यकालमा देखेका सपना काल्पनिक नै हुन्छन् । ती काल्पनिक सपना समयले साथ दिएसम्म मात्र कोही कोहीको पुरा हुन्छ । समय र परिस्थिति अनुसार मानिस बदलिदै जान्छ । अथवा समय अनुसार चल्नुपर्छ । यस्तै गौतमले पनि बाल्यकालको सपना पुरा गर्न सकेनन् । बाल्यकालमा उनको रुची लाहुरे बन्ने थियो । तर, समयले उनलाई त्यो पेशामा लाग्न दिएन । बाल्यकालदेखि नै नेपाली सेना अवथा नेपाल पुलिसको अधिकृत बन्ने उनको सपना थियो । सेना र प्रहरी बनेर देशको सेवा गर्ने उनको सपना भने पुरा हुन सकेन । घरको सबै जिम्मेवारी उनीमा नै भएका कारण घर छोडेर बाहिर जाने परिस्थिति थिएन । लाहुरे भएर देशको सेवा गर्ने बाल्यकालदेखिको सपना पुरा नभए पनि उनी समाजसेवामा भने लागे ।

सहकारीमा आवद्ध

उनले जागिरको शिलशिलामा धेरै संघर्ष गरे । त्यतिबेला जागिर खान आफ्नो मान्छे ठाउँमा हुनुपर्ने भएकाले उनलाई जागिर खान समस्या पनि भयो । जागिरको शिलशिलामा उनी जनहितकारी सहकारी संस्थामा २०५९ साल पौष ४ गते जोडिन पुगे । सोही सहकारीमार्फत उनले समावसेवामा पनि लागे । देशकै सेवा गर्न नपाएपनि केही समाजमा भने उनीहरुको समस्या बुझेर समाधान गर्न भने सहकारी मार्फत मौका पाए । सुरुमा उनी सहकारीमा नगद सहायक भएर काम गर्थे । पछि ऋण सहायक हुँदै अहिले उनी सहकारीको व्यवस्थापन हेर्ने गर्छन् । उनको मेहेनत, लगनशिलता र परिश्रमले अहिले सहकारीको प्रवन्धक भएका छन् ।

सुरुमा लाहुरे बन्न नसकेको पछुतो लाग्ने गथ्र्यो । तर, अहिले भने उनी आफ्नो कामप्रति सन्तुष्ट छन् । इच्छा भए जहाँबाट जुनसुकै पेशाबाट पनि समाजसेवा गर्न सकिन्छ भन्ने लाग्छ उनलाई । सहकारीमा लागेर उनी अहिले सन्तुष्ट भएका छन् । सहकारीमा सात हजार सदस्यहरुको सेवा गर्न पाएकोमा उनी सन्तुष्ट छन् । तीनै सदस्यहरुको समस्या समाधान गर्न पाउँदा पनि उनलाई आनन्द आउँछ । उनी भन्छन्, ‘पहिला लाहुरे बन्न सकिन भन्ने चिन्ता लाग्ने गथ्र्याे, तर अहिले भने ठिकै गरेजस्तो लाग्छ । सहरकारीमा लागेर आफ्नै समाजको सेवा गर्न पाएको छु ।’ २०५५ सालमा स्थापना भएको जनहितकारी सहकारी संस्थामा उनी आवद्ध हुँदा भाडाको कोठामा थियो । समाजसेवी हरिहरनाथ योगी लगायतका स्थानीय नागरिकको पहलमा सहकारीलाई व्यवस्थित गर्ने काम भएको थियो ।

भावी योजना

उनको भावी योजना त्यही सहकारीलाई नै निरन्तरता दिने र अगाडी बढाउने हो । सहकारीलाई ठुलो आधारको ब्यालेन्समा लैजाने उनको योजना छ । उनका अनुसार सहकारीले नौ कठ्ठा जग्गा किनेको छ । उक्त जग्गामा डिपाटमेन्टल स्टोरहरु सञ्चालन गर्ने र सहकारीहरुको प्रदेशस्तरीय डिपाटमेन्टल स्टोर बनाउने योजनामा लागि परेको उनले सुनाए । सहकारीकै माध्यमबाट स्थानीयको आयआर्जन बढाउने र सहकारीका सदस्यहरुको मुहारमा खुशी ल्याउने आफ्नो अबको मुख्य योजना हुने उनले बताए ।

तपाईको प्रतिक्रिया