काँक्रेविहार क्षेत्रमा संरचना निर्माणमा खेलाँची

सुर्खेत, ८ असोज ।

सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहारको संरचना निर्माणमा खेलाँची गरिएको छ । मन्दिर निर्माणदेखि कम्पाउण्डिसम्मको काममा खेलाँची गरिएको हो । २१ वर्षदेखि उत्खननको प्रयास गरेको पुरातत्व विभागले मन्दिर निर्माण सम्पन्न गरेपनि रंगरोगन लगायतका कामहरु अधुरै छोडेको छ ।

त्यस्तै काँक्रेविहारको संरक्षणका लागि कम्पाउन्डिङको काम सुरुवातसमेत हुन सकेको छैन । गत वर्ष काँक्रेविहारको कम्पाउन्डिङका लागि प्रदेश सरकारले चार करोड बजेट छुट्याएको थियो । तर असारमा आएर मात्रै कामको टेन्डर प्रक्रिया सुरु भएको थियो । समयमा टेन्टर स्विकृत नहुँदै आर्थिक वर्ष सकिएपछि कामको प्रक्रिया अन्यौलमा परेको छ । डिभिजन बन कार्यालय सुर्खेतले कम्पाउन्डिङका लागि असार २२ गतेभित्र टेन्डर माग गरेको थियो । टेन्डर पूर्ण हुन नै २७ गते पुगेको थियो । तर टेन्डर छनौट नहुँदै आर्थिक वर्ष सकिएपछि चार करोड रकम फ्रिज गएको हो । कोरोना भाइरसका कारण समयमै टेन्डर हुन नसक्दा बजेट फ्रिज गएको डिभिजन बन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले जानकारी दिए । तर चालु आर्थिक वर्षमा भने कम्पाउन्डिङ शीर्षकमा प्रदेश सरकारले बजेट छुट्याएको छैन । बजेट नभएपछि टेन्डर लिइसकेको वन कार्यालयले टेन्डर रद्द गर्ने वा मन्त्रालयबाट बजेट स्विकृत भएपछि ठेक्का प्रक्रिया अघि बढाउने भनेर अन्यौलमा परेको छ ।

काँक्रेविहार कर्णालीको महत्वपूर्ण सम्पदा भएको भन्दै कम्पान्डिङ निर्माण गर्नुपर्ने जिल्ला बन कार्यालयको तयारी छ । जसका लागि बन कार्यालयले कर्णाली प्रदेशसँग बजेट माग गरेको छ । गुरुयोजना अनुसार कम्पान्डिङका लागि २१ करोड लाग्ने अनुमान गरिएको छ । तत्काल २१ करोड बजेट उपलब्धि नभएपछि क्रमागत योजना अनुसार कम्पाउन्डिङको कामलाई पूर्णता दिनुपर्ने बन कार्यालयको भनाइ छ । बरु बन कार्यालयले कम्पाउन्डिङको यसअघि भएको टेन्डर प्रक्रियामा सहभागी निर्माण व्यवसायीबाटै ठेक्का प्रक्रिया छनौट गर्न सकिने निष्कर्ष निकालेको छ । टेन्डर आह्वानका लागि हुन सक्ने फजुल खर्चलाइ कम गर्न टेन्डर प्रक्रिया रद्द गरिएको छ । मन्त्रालयले तोकिएकै समयमा बजेट उपलब्धि गराए यसअघिकै टेन्डरबाट ठेक्का प्रक्रिया सुरु गर्ने बन कार्यालयको तयारी गरेको छ । तर मन्त्रालयले भने कम्पाउन्डिङका लागि बजेट दिने वा नदिने भनेर टुङ्गो लगाइ सकेको छैन । बन कार्यालयको बजेट माग पत्रलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गरेको छ ।

यता मन्त्रालयले भने गत आर्थिक वर्षकै टेन्डर प्रक्रियालाई आधार मानेर कम्पाउन्डिङको काम सुरु गर्ने जनाएको छ । ‘टेन्डर भइसक्दा पनि कोरोनाले गर्दा गत वर्ष काम गर्न सकिएन, यो वर्ष बजेट स्विकृत हुन वित्तिकै कम्पाउन्डिङको काम सुरु गछौँ’ मन्त्रालयका सूचनाअधिकारी शेरबहादुर रोकायाले भने, ‘गत वर्ष परेकै टेन्डरबाट टेक्का प्रक्रियाको सुरु हुन्छ ।’ बहुबर्षिय आयोजना अन्तरगत कार्यक्रम समावेश गरेर काम सुरु हुने रोकायाले बताए । गत वर्ष टेन्डर भएकै रकम बराबरको माग गरिएको र आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट स्विकृत गर्न वित्तिकै ठेक्का प्रक्रिया सुरु हुने उनले बताए ।


छैन बन्यजन्तिुको गणना 

काँक्रेविहार जंगल नेपालको संरक्षित क्षेत्र हो । घटना जंगल भएका कारण काँक्रेविहार जरायो, खरायो, मृग, बदेल लगायतका जंगली जनावरको पनि बासस्थान हो । बजार क्षेत्र नजिकै भएपनि काँक्रेविहारमा बर्षाैदेखि जंगली जनावर बस्दै आएका छन् । तर लामो सयमदेखि काँक्रेविहारमा बन्यजन्तिुको गनना भएको छैन । बनन्यजन्तुको एकिन नहुँदा बर्षेनी चुरी सिकार बढ्दै गएको छ । डिभिजन वन कार्यालय सुर्खेतका अनुसार केही वर्ष अघि १६÷१४ वटा मृग थिए । तर हाल कति काँक्रेविहार कति जनावरहरु छन् भनेर गनना गर्न सकिएको छैन । काँक्रेविहारमा मृगका दुइवटा बासस्थान छन् ।

वर्षदिनमा पनि रंगरोगन भएन

काँक्रेविहारमा पुनर्निमाण सम्पन्न भएको भएको एक वर्ष पूरा भएको छ । तर एक वर्षमा रंगरोगन हुन सकेको छैन । एक वर्षअघि २१ मिटर अग्लो शिखर शैलीको मन्दिर निर्माण सकिएको हो । मन्दिरमा गजुर राखिसकिएको छ । तर मन्दिरमा गजुर राखिएको एक वर्षवित्दा पनि अन्तिम रुप अर्थात रंगरोगनको काम भने बाँकी छ । पुरातत्व विभागले २०७४ साल जेठदेखि सिद्धबाबा कन्टक्स्ट्रक्सन प्रालिलाई काँक्रेविहार पुनःनिर्माण जिम्मा दिएको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुवुरका अनुसार ठेकेदार कम्पनीले प्राविधिक कठिनाइ र कोरोना भाइरसका कारण रंगरोगनको काममा ढिलाई भएको जनाए । सहज अवस्था आएपछि रंगोगनको काम थालिने गरिने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार