सम्पादकीयः प्रतिबद्धता पूरा गर

आजभन्दा १२ बर्षअघि सुर्खेतमा एउटा अभियान चल्यो । त्यो अभियान थियो आँगनमै उच्च शिक्षा हाँसिल गर्ने उपायको खोजी । दुर्गम जिल्ला र आर्थिक अवस्था कमजोर हुँदा यहाँका नागरिकले सहज रुपमा उच्च शिक्षा हाँसिल गर्न पाएका थिएनन् । यही समस्या समाधानका लागि सुर्खेतमा एउटा विश्वविद्यालय स्थापनाको बहस चल्यो । त्यही बहसले सार्थकता पाउन धेरै संघर्ष नै भयो । अन्नतः नागरिकले एउटा अठोट नै गरे । कि सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने । त्यसको लागि आर्थिक संकलन अभियान थालियो । सुर्खेतमा महायज्ञ नै संचालन भयो । महायज्ञमा स्थानीयले आफ्नो छाक काटेर सहयोग गरे । कतिपयले जग्गा र नगद नै दान गरे । केहीले रकम सहयोग गर्ने कबुल पनि गरे । त्यसैको जगमा मध्यपश्चिम विश्वविद्यालय स्थापना पनि भयो । हाल विश्वविद्यालयले एउटा आकार लिएको छ । अध्ययन र अध्यापनको काम अगाडि बढेको छ । आंगिक र संम्बधन्न प्राप्त क्याम्पसहरुको विस्तार भएको छ । भौत्तिक संरचनाहरु पनि विस्तार भएका छन् । एक हिसावले विश्वविद्यालयले लय समातेको छ ।

तर सुरुवातमा स्थानीयले जुन तत्परता देखाए, विश्वविद्यालय स्थापना भएपछि स्थानीयमा अपनत्व कम भएको हो की भन्ने संकेतहरु देखा परेका छन् । महायज्ञमा आफैले कबुल गरेको रकम हालसम्म धेरैले दिएका छैनन् । कबुल गरेका दाताहरुबाट अहिले पनि करिब तीन करोड रकम उठाउन बाँकी देखिएको छ । यो रकम धेरै नै हो । १२ बर्षसम्म पनि दाताले हस्तान्तरण नगर्नु र विश्वविद्यालय प्रशासनले पनि संकलनका लागि चासो नदिएको देखिन्छ । यसकारण अब दाताले कबुल गरेको रकम विश्वविद्यालयलाई हस्तान्तरण गर्न ढिला हुँदैन । यस्तै विश्वविद्यालयले पनि दाताहरुसँग आवश्यक परामर्श गरेर सहयोग रकम खातामा जम्मा गराउन पहल गर्न जरुरी छ । अहिले पनि विश्वविद्यालयका भौतिक संरचनाहरु निर्माण गर्न बाँकी नै छन् । ति संरचना विस्तार गर्न, शैक्षिक गुणस्तर विकास गर्न र विश्वविद्यालयलाई गति दिन बजेट आवश्यक छ । यसका लागि दाताबाट कबुल भएको रकम जम्मा गराउन सकेको खण्डमा आर्थिक हिसावले विश्वविद्यालयलाई राहत नै मिल्नेछ ।


मध्यपश्चिम विश्वविद्यालय समग्र कर्णाली प्रदेशको शैक्षिक धरोहर हो । कर्णालीका गरिबका छोराछोरीले उच्च शिक्षा सहज रुपमा प्राप्त गर्नका लागि पनि यो विश्वविद्यालयको अवस्था बलियो हुनु पर्दछ । आर्थिक, भौतिक र शैक्षिक रुपमा बलियो भएको खण्डमा मात्र विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ । विश्वविद्यालयलाई दैनिक रुपमा संचालन गर्ने जिम्मेवारी त्यहाँका पदाधिकारीहरुकै हो । तर आफैले जन्माएको विश्वविद्यालय भएका कारण पनि यहाँका नागरिकको पनि दायित्व हुन्छ यसको विकास र विस्तारका लागि । यसकारण आफूले हिजो सार्वजनिक रुपमा गरेको प्रतिबद्धता र कबुल अनुसार विश्वविद्यालयलाई दिनुपर्ने रकम बेलैमा हस्तान्तरण गर्नेतर्फ दाताहरुले अब आनाकानी गर्नु हुँदैन । त्यतिमात्र होइन, विश्वविद्यालयको नेतृत्वले पनि दाताको दानलाई सदुपयोग गर्नेतर्फ ध्यान दिनै पर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार