नेपाल–चीन : हराएको ११ नम्बरको सीमास्तम्भ भेटियाे

सुर्खेत, ८ असोज ।
नेपाल–चीन सीमाना अन्तरगर्त हुम्लामा पर्ने ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिका वडा नं. ६ टाकुलेमा सीमास्तम्भ भेटिएको हो । हराएको भनिएको झण्डै ५८ वर्षपछि बुधबार भेटिएको हो ।  सीमा अनुगमनका लागि गएको टोलीले ११ नम्बर सीमास्तम्भ भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) जानकारी दिए ।

हिल्सा नाकाभन्दा झण्डै पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । ११ नम्बर सिमास्तम्भ नभेटिँदा चीनले हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चाक्षेत्र (लोलुङजोङ) मा भवनहरु बनाएको भनेर विवाद उत्पन्न भएको थियो ।  नेपाली सिमानामा चीनले भवनहरु बनाएको जानकारी पछि हुम्लाको सुरक्षाकर्मी टोली सिमास्तम्भ अनुगमनमा गएको थियो ।

सिमास्तम्भ भेटिएपनि लोलुङचोङ क्षेत्र नेपाल या चीन सिमानामा पर्छ भन्ने बारे एकिन भइसकेको छैन । अनुगमन टोली फर्किएपछि मात्रै थप अध्ययन प्रतिवेदन तयार पार्ने र सोही अनुसार थप अध्ययन गरेर लोलुङ्चोङ क्षेत्रको एकिन हुने अध्यक्ष लामाले बताए ।  खोला किनारलाई आधार मान्ने हो भने भवन बनाइएको स्थान नेपालतर्फ नै पर्ने अनुमान गरिएको छ ।

यद्यपी यसको एकिन अध्ययन विना लोलुङचोङ नेपाल र चीनतर्फ पर्छ भन्ने बारे एकिन गर्न कठिन हुनेछ । हुम्ला जिल्लामा मात्रै १५ वटा सिमास्तम्भ रहेका छन् । चीनले भने नेपाली भूमिमा संरचना निर्माण नगरेको बताउँदै आएको छ । नेपाल सरकारले चीनले नेपाली भूमिमा भवन बनाएको स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया