क्यानले गरेको वर्गीकरण प्रति महिला क्रिकेट खेलाडीको असन्तुष्टि

काठमाडौं, ७ असोज ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष खेलाडीसँगै पहिलोपटक महिला खेलाडीहरुको वर्गीकरण गर्दे एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरेको छ ।

क्यानले गरेको वर्गीकरणमा महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएका छन । ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।

पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् ।

तर क्यानले गरेको महिला क्रिकेट खेलाडीको वर्गीकरण प्रति केही महिला खेलाडीले असन्तुष्टि जनाएका छन । डिसी नेपालसँगको कुराकानीमा केही महिला खेलाडीले क्यानले खेलाडी वर्गीकरणमा पक्षपात गरेको बताए । उनले लामो समयसम्म टिममा रहेर देशका लागि खेलेका तथा दक्षिण एसियाली खेलकुद ९साग० मा खेलेका खेलाडीहरुलाई नसमेटेर बर्षौ टिममा नरहेका खेलाडीलाई क्यानले वर्गीकरणमा राख्दा दुःख लागेको बताए । उनले क्यानको यो निर्णयले खेलाडीहरुको मनोबल गिर्ने बताए । उनले महिला खेलाडीहरुले बोल्न नसक्दा आज यो दिन देख्नुपरेको बताए ।

साथै क्यानले गरेको पुरुष खेलाडीहरुको वर्गीकरणमा पनि क्रिकेटका सरोकारबाला तथा समर्थक हरुले असन्तुष्टि जनाएका छन । यो निर्णयको अहिले चारैतिर आलोचना भईरहेको छ ।

तपाईको प्रतिक्रिया