नगरपालिकाले हामीसँग समन्वय नै गरेको छैन

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ नगरकै मुटुमा अवस्थित छ । मुख्य बजार क्षेत्रपर्ने भएकाले पनि यो वडाको आफ्नै महत्व छ । जनघनत्व धेरै भएकाले पनि यो वडामा खानेपानी, सरसफाइ र पूर्वाधारको आवश्यकता पनि बढी नै छ । तर नागरिकको अपेक्षा अनुसार यो वडामा भौतिक तथा सामाजिक विकास भएको छ त ? निर्वाचित भएपछि जनप्रतिनिधिहरुले नागरिकको चाहना अनुसार विकास गरिरहेका छन् त ? यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वडाध्यक्ष मोतीप्रसाद कँडेलसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांश ः

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले विश्वभरी कोरोना भाइरसको महामारी छ । यो समयमा कोरोना नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गर्ने र संक्रमितहरुको अवस्था बुझ्ने, उनीहरुको रेखदेख गर्ने र कार्यालयको नियमित काममा नै दिन विति रहेका छन् ।

तपाइँ निर्वाचित भएयता हालसम्म के–के काम गर्नुभयो ?

हामीले पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिएको हुँदा विशेषगरी सरसफाइमा ध्यान दिएका छौं । वीरेन्द्रनगरलाई ग्रीनसिटी बनाउन बोट विरुवा रोपेका छौं । कौशी खेती, बाटो निमार्ण, बेरोजगार युवाहरुलाई सीपमुलक तालिम सञ्चालन गरेका छौं । वडामा खानेपानीको समस्या छ । विद्यालय र सार्वजनिक स्थलहरुमा हामीले बोरिङ खनेर पानीको व्यवस्थापन गरेका छांै । हामीले बोरिङ खनेर डाडाँ स्कुल, राममन्दिर र जन माविमा पानीको व्यवस्थापन गरेका छांै । सार्वजनिक शौचालय निमार्ण गरेका छौं ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

बाटो लगत कट्टा नहुँदा हामीलाई काम गर्न चुनौती थपिएको छ । नागरिक बीच बाटोमा घर बनाउन खोज्छन् । त्यसले गर्दा बाटो बनाउन समस्या भएको छ । घर बनाउन नदिए अदालत जाने र फेरी अदालतले पनि नागरिकको पक्षमा सुनुवाई गर्ने हुँदा हामीलाई काम गर्ने वातावरण छैन ।

भौतिक निमार्णका काम कति गर्नुभयो ?

वडाभित्र तीन वटा टोलमा हामीले नाला निमार्ण गरेका छौं । वडाका विभिन्न सडक कालोपत्रे गर्ने, सडक भत्केको ठाउँमा टाल्ने काम पनि गरेका छौं । हाम्रो वडालाई जति आउनुपर्ने बजेट हो त्यो बजेट नहुँदा हामीलाई काम गर्न समस्या भइरहेको छ । बजेट कम हुँदा गर्नै पर्ने कामहरु गर्न सकिरहेका छैनौ । हाम्रो वडामा आएको बजेटले जति विकास गर्न पुग्छ त्यति मात्र विकास गरेका छांै ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?


सुकुम्बासी आयोगले विना पुर्जाको जग्गा वितरण गर्नाले समस्या भएको छ । सबैले मेरो जग्गा हो भन्ने र बाटो बनाउन समस्या भएको छ । बनाइएका संरचना भत्काइदिने र नबनाई दिने हुँदा पनि समस्या भएको छ । हामी संरचना बनाउँदै जाने र अरुले भत्काइ दिने भए संरचना बनाएको के काम भो र ? खानेपानीले पाइपको लाइन विछ्याउँदा आफ्नो मनोमानीले जहाँ पायो त्यहि खन्ने र संरचना विगारेर छोड्ने हुँदा झन् समस्या भएको छ । खानेपानी, विजुली, दुरसञ्चारको एकआपसमा समन्वय नहुँदा त्यसको मार हामी वडाले भोग्नु परेको छ ।

नगरको केन्द्र रहेको वडा भएकाले पनि विकासको गति यहाँहरुले बढाउनुपर्ने होला नी ?

अन्य वडाहरुलाईभन्दा हाम्रो वडालाई धेरे दबाव छ । बाहिरबाट आउने पर्यटकहरु पहिला हाम्रै वडामा आउने भएकाले यहाँको विकास, भौतिक पुर्वाधार, सामाजिक कुरा बढी हामीले ध्यान दिनुपर्छ । तर, सोचे जति विकास भने भएको छैन । भन्ने बेला राजधानी वीरेन्द्रनगर ६ भन्ने बजेट अन्य वडा सरह दिने ? कसरी हुन्छ विकास ? वर्षको एककरोड बजेटले के के विकास गर्ने ? त्यति बजेटले पुग्छ र ? हाम्रो वडालाई अरुसँग दामासायी नगरेको भए हुन्थ्यो । तर १६ वटै वडालाई समान बजेट दिने र सबै काम सक्नुपर्छ भन्ने कसरी सम्भव हुन्छ ? त्यसकारण वडा नम्बर ६ को विकास नभएसम्म नगरको मुहार पनि बदलिदैन । ६ नम्बर वडाको विकास भए समग्र नगरको मुहार बदलिन्छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि के गर्नु भएको छ ?

हामीले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छौं । मास्क, सेनिटाइजर, विभिन्न ठाउँमा हातधुने ठाउँ बनाएका छौं । सुरक्षाकर्मीहरुलाई मास्क वितरण पनि गरेका छौं । टोलटोलमा नयाँ व्यक्ति आउने वित्तिकै पीसीआर परीक्षण गराउने र सुरक्षित रहन आग्रह गरेका छौं । कोरोनाबाट कसरी बचाउँने र बच्ने सचेत बनाएका छौ र भएका पनि छौं ।

बेरोजगार युवाका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ?

हाम्रो वडामा भारत र तेस्रो मुलुकबाट आउँने नागरिक धेरै हुनुहुन्न । अन्य जिल्लाका युवाहरु आएर कोठा भाडामा बस्नु हुन्छ र ठेगाना यहीँको लेखाउनु हुन्छ । उहाँहरुको समस्या समाधान गर्ने गरेका छौं । बरोजगार युवाहरुका लागि हामीले वडामा सिलाईकटाई तालिम, हाउस वाइरिङ, पानी पलम्बर तालिक दिइरहेका छौं ।

अबका योजनाहरु के के छन् ?

पहिलो कुरा त यो साढेतीन वर्षको अवधिमा मैले आर्थिक विपन्नता भनेको के रहेछ भन्ने कुरा बुझेँ । आर्थिक रुपमा व्यक्ति मात्र होइ, संस्था पनि विपन्न हुँदो रहेछ । यो अनुभुति भइरहेको छ । प्रदेश सरकार र नगरपालिकाले नहेरेपछि हाम्रो वडाको अहिलेसम्म भवन बनाउन सकेका छैनौं । अबको कार्यकालमा वडाको आफ्नै भवन बनाउने योजना बनाएको छु । वडा कार्यालय अहिलेसम्म मंहगो घरभाडा तिरेर बसिरहेको छ । अर्काे मंगलगढी चोकदखि बजार क्षेत्रमा विजुलीको तार अन्डरग्राउण्ड गर्ने काम बाँकी नै छ । समग्र वडाको बजेट एक करोड हुन्छ । त्यसका ५० लाख सामाजिक क्षेत्रमा खर्च हुन्छ । ५० लाखले भौतिक पुर्वाधारको काम गर्ने की अरु ? सम्भवन नै छैन ।

त्यसले गर्दा पनि बजेट प्रर्याप्त नहुँदा आएको बजेट पनि फ्रिज भएर गएको छ । दुईवर्ष भयो बजेट फ्रिज भएको । वडासँग प्राविधिक छैनन् । नगरपालिकाले प्राविधिक खटाएको छैन । न त स्टेटमेन्ट नै बनाएको छ । नगरपालिकाले वडासँग केही कामको पनि समन्वय गरेको छैन । वीरेन्द्रनगरलाई ग्रीनसिटी बनाउनका लागि पनि हामीले बोटविरुवा रोपेका छांै । तर, नगरपालिकाले अन्य वडामा बोट विरुवा रोपेको छ, हाम्रो वडामा हामी आफैले रोपेका हौं । राम मन्दिरको उकालोमा अहिले विरुवा हरियाली भइसकेका छन् । त्यो वडाले नै रोपेको हो । यी सबै काम गर्नमा प्रदेश सरकार र नगरपालिकाले वडासँग समन्वय गरेकाको भए काम गर्न सहज हुने थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार