सम्पादकीयः भूमिको सुरक्षा

कुनै पनि देशको भौगोलिक सिमा भूमि नै हो । निश्चित भूमिमा देशको अस्तित्व हुन्छ । त्यही कारण पनि हरेक देशले आफ्नो भूमिका सुरक्षा गर्दछन् । देशको भूमि र सिमानाको रक्षाका लागि प्रतिबद्ध हुन्छन् । आज विश्वमा भूमि र देशको सिमानाको सुरक्षाका लागि नै संघर्ष छ । देशको एक इन्च पनि भूमि अतिक्रम हुनु सार्वभौमिकतामाथिको अतिक्रमण हो । देशको भूमि प्राणभन्दा पनि प्यारो हुन्छ । हाम्रो जस्तो दुई ठूला चीन र भारतले घेरिएको देशका लागि थप भूमिको महत्व छ । छिमेकीबाट बारम्बार भूमि मिचिने समस्या छ । मुख्यगरी भारतीय पक्षबाट सिमा अतिक्रमण भएको, सिमा स्तम्भ हराएको र भूमि नै कब्जा भएका घटनाहरु धेरै छन् । पछिल्लो समय कर्णालीमा चिनिया पक्षबाट सिमा अतिक्रमण भएको समाचार बाहिर आएका छन् । चिनसँग सिमाना जोडिएको हुम्लामा चिचिया पक्षबाट नेपाली भूमिमा अतिक्रमण भएको छ । त्यतिमात्र होइन, नेपाली भूमिमा चिनिया पक्षले भवन नै बताएको पाइएको छ । वास्तटवमा सार्वभौम देशका लागि यो अन्याय र हस्तक्षेप नै हो । यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मापर्ने लिमीको लाप्चा क्षेत्रमा अनुमतिविना चिनले नौ वटा भवन बनाएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चीनले एकतर्फी रुपमा भवन बनाएको हो । सो क्षेत्र नेपाली भूभाग भए पनि चिनिया सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्नसमेत दिने गरेका छैनन् । तर चिनिया सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गर्दै आएका छन् । यस्तै भवन निर्माण भएको स्थानमापर्ने ११ नम्बर सिमास्तम्भ हराएको छ । हाल भवन बनेको क्षेत्र १२ नम्बर सिमास्तम्भ नजिक पर्दछ । कर्णाली प्रदेश छिमेकी देश चीनसँग मात्रै सिमाना जोडिएको छ । यहाँका सात वटा नाकाहरु चीनसँग जोडिएका छन् । हुम्लाको हिल्सा, लाप्चा, ताकुलेक, ताकु, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला र क्याटो नाका चीनसँग जोडिएका छन् । तर हुम्लाको सिमकोट गाउँपालिकामापर्ने ताकुलेक र चंखेली गाउँपालिकाको ताँके, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १ को क्याटो नाका र डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्ला (तिन्जे क्षेत्रमा लामा छहरा) नाकामा सिमा सुरक्षा छैन ।

आफ्नो भूमिको रक्षा गर्ने जिम्मेवारी सरकारको हो । त्यसकारण चीनले अतिक्रमण गरेको नेपाली भूभागको सुरक्षा गर्न ससरकारले ढिलाइ गर्नु हुँदैन । सिमा क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गर्न आवश्यक छ । यसका लागि छिमेकी चीनसँग सरकारले कुटनीतिक पहल, छलफल र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न जरुरी छ । यस्तै नाकाहरुमा तत्काल सुरक्षाकर्मीको उपस्थिति गराएर हराएका सिमा स्तम्भहरुको खोजी गर्नेतर्फ सरकार लाग्नु पर्दछ । स्थानीय, प्रदेश र केन्द्र सरकारले अविलम्ब हुम्ला लगायत चिनसँग जोडिएका कर्णालीका नाका र सिमाको सृुरक्षा गर्न जरुरी छ । देशको भूमि र सिमाको रक्षा भएमा मात्र हामी सार्वभौम देशका नागरिक बन्न सक्ने छौं ।

तपाईको प्रतिक्रिया