आन्तरिक उडान आजदेखि खुले, बुद्ध एयरको पहिलो उडान पोखरा

काठमाडौं, ५ असोज ।

आन्तरिक उडान खुलेसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा र चितवन परेका छन् । आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । ५६ जना यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ । यति एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतिले आज पोखरासहित भरतपुर र विराटनगर उडान गर्नेछ । ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ ।

आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल(पहल बढेको छ । लकडाउन र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा सुरु भएपछि सर्वसाधारणलाई गन्तव्य पुग्न सहज हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले सबै वायुसेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित हवाई यात्राको प्रक्रिया पूरा गरेका बताए । अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने महाप्रबन्धक केसीले बताउनुभयो । सामान्य अवस्थामा आन्तरिकतर्फ जहाजको आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको थियो ।

आन्तरिक उडानमा १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन ।

तर तारा एयरले नेपालगञ्ज उडान भर्नेछ । आज उडान अनुमति पाएका विमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायतका ठाउँहरुमा उडान भर्ने छन् ।

उज्यालो अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया