अनुमतिबिना चीनले बनायो हुम्लामा ९ वटा भवन

सुर्खेत, ४ असोज ।

नेपाली भूमिमा चीनले हस्ताक्ष गरेको छ । हुम्लाको जिल्लाको सिमा क्षेत्रमा चीनले हस्तक्षप गरेको हो । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लिमीको लाप्चा क्षेत्रमा अनुमतिबिना नौ वटा भवन बनाएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चीनले एकतर्फी रुपमा भवन बनाएको हो । जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार चीनले नेपाली भूमिमा भवन बनाउदै गरेको जानकारी आएपछि स्थलगत अनुगमन गर्न थालिएको छ । गृह मन्त्रालयको अनुमति लिएर हुम्लाका प्रमुख जिल्लाअधिकारी चिरञ्जीवी गिरीसहित चारवटै सुरक्षा निकायमो टोली शनिबार नाम्चातर्फ लागेको छ ।

अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीसहित, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली लाप्चातर्फ लागेको हुम्लाका सहायक प्रमुख जिल्लाअधिकारी दत्तराज हमालले जानकारी दिए । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिएपछि अनुगमनका लागि सुरक्षाकर्मीको नेपाली त्यसतर्फ लागेको हो । सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्नसमेत दिने गरेका छैनन् । तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गर्दै आएका छन् ।

उनले नेपाली भूभागमाथि बनेका भवन के गरिन्छ भन्ने जानकारी पनि नभएको बताए । यसअघि २०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन मात्र निर्माण थालेको थियो ।

हरायो ११ नम्बर सिमास्तम्भ

यस्तै भवन निर्माण भएको स्थानमा पर्ने ११ नम्बर सिमास्तम्भ हराएको छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले ११ नम्बर सिमास्तम्भ हालसम्म पत्ता लगाउन नसकिएको बताए । हाल भवन बनेको क्षेत्र १२ नम्बर सिमास्तम्भ नजिक पर्दछ । पहिले भवन बनाउने बेला लिमीबासीले कुरा उठाउँदा पशुबस्तुको उपचार गर्नका लागि भ्याक्सिन लगाउने ब्लक बनाउने र दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको थियो । तर भवन बनेपछि कहिल्यै प्रयोमा आएका छैनन् ।

केही वर्ष भवन त्यतिकै अलपत्र अवस्थामा रहेको उनले बताए । यसरी अर्काको जमिनमाथि भवन बन्नुभन्दा पहिले नाम्खा गाउँपालिकासँग समन्वय हुनुपर्ने तर त्यो हुन नसकेको उनको तर्क छ । हाल भवन बनेको क्षेत्रमा पहिले चिनियाँ र नेपाली पक्षबीच बस्तु विनिमयको व्यापार हुने गथ्यो । अहिले सोही क्षेत्र हुँदै लिमीसम्म सडक निर्माण गरिएको छ ।

नाकामा छैन सुरक्षा

कर्णाली प्रदेश छिमेकी देश चीनसँग मात्रै सिमाना जोडिएको छ । यहाँका सात वटा नाकाहरु चीनसँग जोडिएका छन् । हुम्लाको हिल्सा, लाप्चा, ताकुलेक, ताकु, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला र क्याटो नाका चीनसँग जोडिएका छन् । तर हुम्लाको सिमकोट गाउँपालिकामा पर्ने ताकुलेक र चंखेली गाउँपालिकाको ताँके, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १ को क्याटो नाका र डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्ला (तिन्जे क्षेत्रमा लामा छहरा) नाकामा सिमा सुरक्षा छैन ।

हुम्लाको हिल्सा नाका बाहेक अन्य नाकाहरु सञ्चालनमा आउने सकेका छैनन् । औपचारिक रुपमा नाका सञ्चालन नआएपनि वर्षाैदेखि स्थानीयले प्रयोग गर्दै आएका छन् । दैनिक उपभोग्य बस्तुको आयातदेखि, जडिबुटीको ब्यापार गर्दै आएका छन् । ती नाकाहरुमा सुरक्षासमेत छैन । डोल्पामा पर्ने दुबै नाकाहरु वर्षदिनमा एक पटक मात्रै खुल्ला हुने शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष निमा लामाले जनाए । दुबै नाकामा साउन २५ गतेदेखि भदौ १० गतेसम्म खुल्ला रहन्छ । नाका खुल्ला भएको समयमा त्यहाँ हाटबजार लाग्ने गर्दछ । मेलामा खाद्यान्न, लत्तालपडा र यार्सा गुम्बाको व्यापार हुने गर्दछ ।

हिल्सा नाका खोल्न माग

यसैबीच हुम्ला उद्योग वाणिज्य संघले हिल्सा नाका सञ्चालनमा ल्याउन गरेको छ । कोरोनाका कारण बन्द हिल्सा नाकालाई सहज बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसायहरू आर्थिक संकटको घेराबन्दीमा परेको, अर्कोतर्फ कर्जाको ब्याजले सताएको हुम्ला उद्योग वणिज्य संघका अध्यक्ष नामग्याल तामाङले जानकारी दिए । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको व्यापारीहरूले गुनासो गर्ने थालेका छन् । व्यापार–व्यवसाय ठप्प हुँदा राजस्वमा घाटा गिरावट आउने दैनिक उपभोग्य वस्तु उपभोग आपूर्ति गर्न नसकिने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया