आपसमा विश्वास भए सम्बन्ध दिगो

गीता थापा।

जीवन दुख र सुख मिसिएको यात्रा हो । कतिपयको जीवन सुखमय हुन्छ भने कतिको दुःखमय वित्छ । अझ भनों जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बासना मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ । भनिन्छ नि, ‘हुने बिरुवाको चिल्लो पात, नहुने विरुवाको फुस्रो पात ।’ मानिसको जीवन पनि त्यस्तै हो । जसको जीवन राम्ररी सुखमय बितेको छ । उनीहरु सानैदेखि नै मेहेनेती र लगनशीलताका साथ अघि बढेका हुन्छन् । यस्तै लगनशील, मेहेनती र सघर्ष गरेका जोडी हन् नवराज बस्नेत र डिलकुमारी बस्नेत । उनीहरुले हाल बस्नेत नर्सरी फर्म सञ्चालन गरिरहेका छन् ।

बोटबिरुवालाई प्रेम

नवराज बस्नेत बाल्यकालदेखि नै बोटविरुवाप्रति लगाव धेरै राख्ने गर्थे । उनलाई बोटविरुवा रोप्न, गोलमेल गर्न र तीनै बोटविरुवाहरुसँग रमाउने उनको रुची थियो । उनी सानैदेखि घरवरीपरी बोटविरुवा रोप्ने, करेसाबारी बनाउने गर्थे । व्यक्ति भविष्यमा के बन्छ भन्ने कुराको थोरै संकेत बाल्यकालमा नै देखिने गर्छ । उनको पनि बाल्यकालदेखिको बोटविरुवाप्रतिको लगावले नै उनलाई नर्सरीतिर तान्यो । कसैकसैको रुची एकातिर भए पनि पेशा अर्कैतिर पनि हुने गर्छ । तर, बस्नेतको रुची जे थियो पेशा पनि त्यहि भयो । उनी अहिले बस्नेत नर्सरी फर्म सञ्चालन गरिरेहका छन् । उनले बाल्यकालमा नर्सरी फर्म नै खोलेर बस्छु भनेर सोचेका भने थिएनन् । तर, उनलाई भविष्यमा पनि त्यहि बोटबिरुवाले नै तान्यो । बस्नतेको बोटबिरुवालाई माया गर्ने र आफ्नो करेसाबारीमा बोटबिरुवा रोप्ने बाल्यकालको स्वभावले भविष्यमा नर्सरी फर्म खोल्ने प्रेरणा पनि मिल्यो । कृषि कार्यालयमार्फत् तालिम लिएर बस्नेत नर्सरी फर्म सञ्चालन गरे । उनले अहिले आफ्नो नर्सरीबाट दैलेख, नेपालगन्ज, बर्दिया, कालिकोट लगायतका जिल्लाहरूमा बिरुवाहरू पठाउने गर्छन् । बिरुवा बेचेरै उनले वार्षिक रूपमा तीन लाखभन्दा बढीको कारोबार गर्ने गर्छन् । उनलाई बिरुवाहरूसँग रमाउन खुबै मन पराउँछन् । बिरुवाहरूसँग रमाउँदाको पल नै आनन्द लाग्ने उनी बताउँछन् ।

सहमतिमा विवाह

बस्नेत एसएलसी दिएपछि नर्सरी फर्मतिर लागेका हुन् । उनले नर्सरी फर्म खोलेपछि त्यसमा साथ दिने एउटा साथीको खाँचो थियो । जीवनमा एक्लै संघर्ष गर्न गाह्रो पनि हुन्छ । साथ दिने साथी साथमा भए संघर्ष त के पहाडको चट्टान नै आए पनि फोड्नसक्ने हिम्मत हुन्छ । त्यसैका लागि उनी विवाहका लागि केटी हेर्ने गए । आफन्तको सिफारिसमा उनले डिलकुमारीलाई हेर्न गए । डिलकुमारी त्यतिबेला आफ्नो मावली घरमा बस्थिन् । उनको घर लाटीकोइलीमा थियो । बस्नेत उनको हात माग्न जाँदा उनी कक्षा आठमा जन माविमा पढ्दै थिइँन् । बस्नेत पहिला डिलकुमारीलाई हेर्नको लागि उनको स्कुलमा नै गएका थिए । बस्नेतले डिलकुमारीलाई नजिकबाट चिनेका थिए । तर, डिलकुमारीले भने बस्नेतलाई देखे पनि चिनेकी भने थिइनन् । डिलकुमारीको हात माग्नको लागि बस्नेत डिलकुमारीको घरमा गए । डिलकुमारीको माइतीले पनि केटा मन पराए । मावली घरबाट नै उनलाई बिहेको लागि सहमति भयो । बस्नेत र डिलकुमारीको घरपरिवारको सहमतिमा नै उनीहरूले २०४३ सालमा भागी विवाह गरे ।

बुहारी हुँदाको अनुभव

एक छोरीका लागि विवाह अघि र पछिका दिन आकाश पातालको फरक हुन्छ । विहेपछि छोरीको हुन पाइँदैन । छोरी हुँदाको स्वतन्त्रता बुहारी हुँदा पाइँदैन । विवाहपछि डिलकुमारीलाई छोरी र बुहारी हुँदाको अनुभव थाहा भयो । माइतीमा हुँदा बुबाआमासँग जस्तो व्यवहार गरे पनि हुने, जहाँ गए पनि हुने, स्वतन्त्र रूपमा घुम्न डुल्न पाइने तर, बिहेपछि घरमा हरेक काम गर्दा अरुको अनुमति लिएर मात्र गर्नुपर्ने अनुभव डिलकुमारीले लिइन् । बिहे अघिको छोरीको ठाउँमा बिहेपछि बुहारीको नयाँ नाता सम्बन्ध, बाबुआमाको ठाउँमा सासु ससुराको सम्बन्ध, दिदी बहिनीको ठाउँमा नन्द अमाजुको सम्बन्ध, दाइभाइको ठाउँमा जेठाजु देवरको सम्बन्ध निभाउनुपर्ने सबै छोरीहरूको लागि आइपर्ने कुरा नै हो । बुहारी भएपछि बिहानै उठ्नुपर्ने, दैलो कुच्चो गर्नुपर्ने बाध्यता नै हुन्छ । यस्ता बाध्यता डिलकुमारीले पनि पार गर्दै जिन्दगीसँग सम्झौता गर्दै आइन् । लाटिकोइलीमा जन्मिएकी डिलकुमारीको बाल्यकाल सुखद्सँगै नै बितेको थियो । घरकी एक्ली छोरी सबैको माया ममतामा नै उनको बाल्यकाल बित्यो । त्यसैले पनि होला उनलाई विवाह पछिका सुरुवाती दिनमा गाह्रो नै भयो ।

विहेपछि पनि पढाइ

विवाह गर्दा उनी भर्खर कक्षा आठमा पढ्दै थिइन् । कक्षा आठमा पढ्दापढ्दै उनको विवाह बस्नेतसँग भयो । बिहेपछि पनि उनले घरव्यवहार सम्हाल्दै एसएलसीसम्म दिइन् । एसएलसीपछि भने उनले आफ्नो पढाइलाई रोकिन् र घर व्यवहारमा नै लागिन् । घरकी जेठी बुहारी भएकाले पनि उनलाई अलि बढी नै जिम्मेवारी थपियो । त्यसै जिम्मेवारीलाई पूरा गर्नका लागि उनी सधैं घरपरिवारको सेवामा लागिन् । उनले घरपरिवारसँगै खुद्रा व्यापार गरेकी थिइन् । लामो समयसम्म खुद्रा व्यापार गरेका यो जोडीले खुद्रा व्यापार छोडेर सबै समय नर्सरीमा दिएर लागे ।

कामको बाँडफाँड

श्रीमान् श्रीमती भएपछि कहिलेकाही सामान्य भनाभन जस्को पनि हुन्छ । एकअर्काेमा भनाभन हुनु सामान्य कुरा भएको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘कहिलेकाहीं सामान्य झगडा हुन्छ, तर त्यो झगडाले कहिल्यै ठूलो रूपमा लिएको छैन ।’ एकआपसमा जति नै झगडा गरे पनि यो जोडी एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । बस्नेतलाई डिलकुमारीको आफूलाई खान मन लागेको समयमा जे भन्यो त्यही बनाएर खुवाउने बानी साह्रै मन पर्छ । त्यस्तै डिलकुमारीलाई पनि बस्नेतको आफूलाई मन लागेको काम सहजै गर्न दिने वानी मनपर्छ । डिलकुमारीलाई बस्नेतको मन नपर्ने बानी कुनै छैन । त्यस्तै बस्नेतलाई पनि डिलकुमारीको सबै बानी मन पर्छ । बस्नेतले घरभित्रको काममा डिलकुमारीलाई सघाउने भन्दा पनि नर्सरीमा नै उनको दिन बित्ने गर्छ । डिलकुमारी पनि घरभित्रको काम सरसफाइमा व्यस्त हुने भएकाले बस्नेत नर्सरीको काम र डिलकुमारी घरभित्रको काम सम्हाल्ने गर्छन् ।

विश्वास र समझदारी आवश्यक

यो जोडीका अनुसार दाम्पत्य सम्बन्ध सफल र दिगो बनाउनको लागि श्रीमान् श्रीमतीबीचको सम्बन्धमा विश्वास र समझदारी हुन आवश्यक छ । जबसम्म एकअर्काप्रति विश्वास हुँदैन, तबसम्म दाम्पत्य सम्बन्ध दिगो हुन सक्दैन । एकअर्काेको भावना बुझेर व्यवहार गर्नुपर्छ । यो जोडीले विवाहपछिका दिनमा अहिलेसम्म एकअर्काेको जन्मदिन र विवाहउत्सव मनाउने गरेका छैनन् । उनीहरू भन्छन्, ‘पहिलेको समयमा मनाउने चलन थिएन, अब बुढेलकालमा मनले मान्दैन त्यसैले पनि मनाउँदैनौं ।’ यो जोडी मात्र होइन उनीहरूका दुई छोराहरूसमेत जन्म दिन मनाउँदैनन् ।

जीवन संघर्ष

जीवन भनेको सुख दुःखको संगम हो । जीवनमा कसैको सुखैसुख हुन्छ त कसैको जीवनमा दुखै दुःख । तर, मान्छेले आफ्नो जीवनलाई कसरी बिताउन चाहन्छ र कस्तो बनाउँछ, त्यो स्वयम् व्यक्तिको हातमा भरपर्ने गर्छ । जीवन दुःख र सुखसँगै गरिने संघर्ष पनि हो । यो जोडी भन्छन्, ‘जीवन साथी भनेको एकअर्काेको सुखदुःख बिसाउने चौतारी हो । जुन कुरा कसैसँग भन्न र खोल्न सकिदैंन । त्यो कुरा जीवनसाथीसँग भन्न सकिन्छ । जीवनको हरेक क्षणमा साथ दिँदा जीवनको अन्त्यसम्म साथमा रहने साथी भनेकै जीवनसाथी हो ।’ छोराछोरी त आ–आफ्नै जीवनसाथीसँग हुन्छन् । जीवनको अन्त्यसम्म साथ दिने साथी जीवनसाथी हो । श्रीमान् श्रीमती भनेका एक रथका दुई पांग्रा हुन् । रथ चल्न दुई पांग्रा चाहिए जस्तै जीवन सञ्चालन गर्नका लागि पनि जीवनसाथीको आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया