ट्राफिकले अटोबाट रकम असुलेको गुनासो

सिपी कार्की
सुर्खेत (भेरीगंगा), ३ असोज ।
सुर्खेतको छिन्चु जहरे सडक खण्डमा ट्रफिक प्रहरीले अटोरेक्साबाट मासिक रुपमा रकम असुल्ने गरेको अटो व्यवसायीहरुले गुनासो गरेका छन् । कागजात नभएकाहरुबाट प्रहरीले मासिक एक हजारका दरले पैसा असुल्ने गरेको व्यवसायीहरुको गुनासो छ । लाईसेन्स नभएका अटोबाट ट्राफिक प्रहरीले मासिक रुपमा रकम लिएर अटोलाई निर्बाध रुपमा संञ्चालन गर्न दिने गरेका छन् ।

छिन्चुमा कार्यरत ट्राफिक प्रहरी गजेन्द्र बहादुर सिंहले अटोरेक्साबाट मासिक एक हजार रकम लिने गरेको खुलेको छ । सिंहले त्यसक्षेत्रमा रहेका झन्डै साढे दुईदेखि तीन सयसम्म अटोबाट मासिक रकम असुल्ने गरेको अटो व्यवसायीहरुले आरोप लगाएका छन् । छिन्चु–जाजरकोट सडकखण्डमा प्रहरीले मासिक रुपमा रकम असुल्ने गरे पनि नियामक निकाय जिल्ला प्रशासन कार्यालय सुर्खेत मौन छ । त्यसैबीच रकम लिएको आरोप लागेका ट्राफिक प्रहरी सिंहलाई अनुसन्धानको लागी जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा तानिएको छ ।

ट्राफिक प्रहरी कार्यालय कर्णालीका प्रमुख एसपी राकेश सिंहले आवश्यक अनुसन्धानको लागी जिल्ला तानिएको भन्दै दोषि पाईए कारवाही गरिने बताउनुभयो । उहाँले छानविनको लागी भन्दै समिति गठन समेत गरिसकेको भन्दै एक हप्ताभित्र प्रतिबेदन बुझाउन निर्देशन दिएको जिकिर गर्नुभयो ।

यस्तै सवारी साधनको धेरै चाप हुने क्षेत्रमा प्रहरी प्रमुखले नै आफु निकटका व्यक्तिलाई डियुटिमा खटाएर रकम असुल्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना ट्राफिक प्रहरीले बताएका छन् । वीरेन्द्ररनगरको सुब्बाकुना, गोठीकाँडा, छिन्चु लगायतका क्षेत्रमा कार्यालय प्रमुखले नै मासिक लक्ष्य निर्धारण गरेर ट्राफिक प्रहरीलाई रकम असुल्न लगाउने गरेको ट्राफिक प्रहरीकै भनाई छ । ट्राफिक प्रमुख सिंहले आफु सरुवा भएर आएको दुई हप्तामात्र भएको भन्दै यस बारे वास्तविता बुझ्ने भन्दै त्यसो गरेको पाईए कारबाही गर्ने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया