बिलिङ समस्याले टेलिकमका ग्राहकको पैसा काटियो

काठमाडौं,२ असोज ।
नेपाल टेलिकमको बिलिङ प्रणालीमा शनिबार बिहान समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको रहेछ,’ उनले भने, ‘प्रणालीमा आएको समस्या समाधान भइसकेको छ ।’ बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो ।

डेटा प्याक लिएर भन्दा नियमित ब्यालेन्सबाट डेटा चलाउँदा महँगो पर्ने भएकाले उपभोक्ताहरुले धेरै रकम काटिएको गुनासो गरेका थिए ।  सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापत्को रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले बताए । ‘मेन ब्यालेन्सबाट काटिएको रकम पनि डेटा प्याककै दर लगाएर बाँकी रकम ब्यालेन्सको रुपमा फिर्ता गर्ने प्रक्रियामा छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया