सम्पादकीयः कानुनको कार्यान्वयन

हाम्रो समाज अपराधमुक्त छैन । समुदायमा भएका विभिन्न सोच, विचार र दृष्टिकोण भएका व्यक्तिहरुको उपस्थिति हुन्छ । त्यही सोचका कारण अपराधहरु पनि हुन्छन् । यसका लागि नै कानुन आवश्यक हुन्छ । देशलाई व्यवस्थित रुपमा संचालन गर्न संविधान हुन्छ भने समाजलाई व्यवस्थित गर्न कानुनहरु बनाइएका हुन्छन् । नेपालमा पनि हालसम्म धेरै संविधान निर्माण भए । कानुनको अभाव पनि छैन । तर राजनीतिक पहुँच र स्वार्थका कारण कानुनको कार्यान्वयन हुन सकेन । यसैको परिणाम समाजमा अपराधको संख्या बढ्दै गयो । जनताबाट निर्वाचित भएका प्रतिनिधिहरुले कानुन बनाउने र त्यसलाई सरकारले कार्यान्वयन गर्ने गरेका छन् । कानुनको ब्याख्या गर्न अदालत पनि छन् । तर कतिपय अवस्थामा आर्थिक चलखेल, सामाजिक र राजनीतिक दबाव र पहुँच नहुँदा कानुन भएरु पनि पीडितले न्याय नपाउने अवस्था हुन्छ । पीडकलाई नै संरक्षण गर्ने खालका क्रियाकलाप हुँदा पनि सर्वसाधारणको कानुन र यसलाई कार्यान्वयन गर्ने निकायप्रति अविस्वास पैदा हुने गरेको छ ।

समाजमा विभिन्न प्रकृतिका अपराधहरु हुने गर्दछन् । कतिपय अपराधलाई कानुनले नै कडा सजायको व्यवस्था पनि गरेको छ । यद्यपी नेपालमा मृत्युदण्डको व्यवस्था छैन । तर अपराधको प्रकृति हेरेर जन्मकैदसम्म हुने व्यवस्था छ । यति हुँदाहुँदै पनि कानुनको सही रुपमा कार्यान्वयनमा समस्या देखिएका छन् । कानुनको सही रुपमा कार्यान्वयन हुन नसक्दा नै अपराध बढ्दै जाने र पीडितहरु थप पीडित हुनेक्रम बढेको पनि देखिन्छ । समाजमा अहिले पनि बलात्कार, हत्या, लुटपाट, घरेलुहिंसा र जातीय विभेदका घटनाहरु भइरहेका छन् । त्यसमा पनि बालिका, किशोरी र महिलामाथि बलात्कारका घटनाहरु बढेका छन् । यसो हुनुको पछाडि धेरै कारणहरु छन् । अधिकांश बलात्कारका घटनाहरु समजमा नै मिलापत्र हुने, आर्थिक लेनदेनमा मिलाउने, प्रहरीले गम्भिर अनुसन्धान नगर्ने र पीडितहरु नै ब्याक हुँदा पीडकहरु कानुनी दायरामा आउन सकेका छैनन् । यसले पनि यस्ता घटनाहरुलाई थप बढवा दिएको देखिन्छ । यहाँ मुख्य समस्या भनेको भएका कानुनको सही रुपमा कार्यान्वयन नहुनु नै हो ।


समाजमा अहिले मुख्यगरी बलात्कार, घरेलुहिंसा, जातीय विभेद, हत्या लगायतका अपराधका घटनाहरु हुने गरेका छन् । त्यसमा पनि बलात्कार मुख्य समस्याको रुपमा देखिएको छ । भएका कानुनको सही रुपमा कार्यान्वयन हुन नसक्दा बलात्कारका घटनाहरु बढेको देखिन्छ । यसमा राजनीतिक तथा सामाजिक दबाव, आर्थिक लेनदेन, प्रहरीकै कमजोर अनुसन्धान र मिलापत्र जस्ता कारणले अपराधीलाई उम्काउने काम गरेका छन् । अधिकांश घटनमा महिलाहरु नै पीडित छन् । तर अर्कातर्फ कतिपय घटनमा पुरुषहरु पनि पीडित हुन थालेका छन् । सुर्खेत अदालतको पछिल्लो एउटा फैसलाले पनि यस्तो देखाएको छ । रकम असुल्नका लागि पुरुषमाथि बलात्कारको गलत आरोप लगाएका भन्दै एक किशोरीलाई अदालतले कैद सजायको फैसला गरेको छ । यसले पनि हाम्रो समाजमा कस्ता कस्ता घटनाहरु भइरहेको रहेछन् भन्ने देखाएको छ । यसकारण पनि यदि कानुनको सही र प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको खण्डमा अपराधहरु नियन्त्रण गर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार