डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव

पोखरा, १ असोज ।
स्नातकोत्तरको पढाई सकेर अवसरको खोजीमा देश विदेश भौतारिएका बागलुङका युवा यतिबेला बङ्गुर स्याहार्न व्यस्त छन् । बागलुङमा रहँदा शैक्षिक तथा राजनीतिक मुद्धामा सक्रिय रहने युवाहरु यतिबेला ‘समृद्धि’ प्राप्तीका लागि बङ्गुर स्याहार्न व्यस्त हुन थालेका हु्न् ।

पढाई सकेपछि अवसरको खोजीमा पोखरा आएका बागलुङको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीका युवा सागर कुँवरले रोजगारीका लागि अन्यत्र भौतारिनु भन्दा आफ्नै स्वरोजगारको बाटो अपनाउँने सोंच अनुसार बङ्गुर फार्म सञ्चालन गरेको बताउनुभयो । ‘हामीले विद्यार्थी जीवनमा धेरै सामाजिक रुपान्तरणका नारा उठायौं, सामाजिक रुपान्तरणको मुख्य आधार आर्थिक समृद्धि भएकाले आफू लगायत अन्य तीन जना साथीहरु मिलेर बङ्गुर फार्म सञ्चालनमा ल्याएका छौं ।’

अहिले कुँवरसँगै जैमिनी नगरपालिका वडा नं. ७ का अर्जुन शर्मा, विष्णु पौडेल र जैमिनी नगरपालिका वडा नं. १० का प्रेम बिकको दैनिकी बङ्गुर फार्ममा बङ्गुर स्याहार्ननै वितेको छ । पोखरा महानगरपालिका वडा नं. ३३ मालेवगरमा रहेको पखेरो जग्गा भाडामा लिएर एक करोड रुपियाँ बढी लगानीमा सृजनशिल युवा सहकार्य बङ्गुर फार्म सञ्चालन गरेका युवाहरु बिहानदेखि बेलुकासम्म बङ्गुर फार्ममै काम गर्ने गरेका छन् ।

‘हामीले विदेशमा गएर रोजगारीका लागि गर्ने कामकोपनि अनुभव गरेका छौं, विदेशमा गएर जस्तोपनि काम गर्ने तर स्वदेशमा काम गर्न लजाउँने परिपाटीको अन्त्य गर्दै बङ्गुर फार्ममै काम गर्ने गर्दछौं, चारै जनाले नियमित काम गर्ने भएपछि अन्य कामदार राख्नुपर्ने अवस्था आएको छैन ।’ फार्मका टिम कोअर्डिनेटर सागर कुँवरले भन्नुभयो ।

सानो ठाउँमा ठूलो परिणामको व्यवसाय गर्दा बजारको अभाव हुने भएपछि आफूहरु पोखरा आएर बङ्गुरपालन गर्नुपरेको युवाहरु बताउँछन् । ‘अहिले बजारमा बङ्गुरको मासुको माग अत्याधिक छ, जहाँ माग बढी छ त्यही व्यवसाय सञ्चालन गर्दा आफ्नो उत्पादन बिक्रीमा समस्या नहुने भएको यहाँ आएका हौं ।’ कुँवरले भन्नुभयो ।

अध्ययनशिल युवा, कोही विदेशबाट अनुभव प्राप्त गरेर आएका भएकाले बङ्गुरलाई दाना बनाउँने, खोप दिने, दिसा पिसाव सफा गर्ने, गर्भवती बङ्गुर तथा नवजात बच्चाको स्याहार सुसारमा आफूहरु नै खटिने गरेको सञ्चालक अर्जुन शर्माले बताउनुभयो । ११ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर बङ्गुर फार्मकै बीचमा रहेको खुल्ला ठाउँमा आलोपालो रात विताउँने गर्दछन् ।

‘रातको समयमा नवजात बच्चा च्यापिने, बङ्गुर सुत्केरी हुनेलगायतका समस्या हुने भएकाले बङ्गुरकै बीचमा सुत्ने गरेका छौं, करिब तीन सय बङ्गुरको बीचमा सुत्नु जोकोहीका लागि सामान्य विषय होइन, तर हामीले बङ्गुरबाटै समृद्धिको सपना देखेकाले कुनै समस्या छैन ।’ सञ्चालक शर्माले भन्नुभयो ।

सञ्चालक विष्णु पौडेलले युरोप, अमेरिका जानका लागि ४०–५० लाख रुपियाँ खर्च गरेर सामान्य काम गर्नु भन्दा आफ्नै पौरख आफ्नै ठाउँमा देखाउनु उपयुक्त हुने बताउनुहुन्छ । अहिले पोखरामा दैनिक १५ सय किलोग्राम बङ्गुरको मासु अपुग भएर बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेकाले यही ठाउँमा आएर बङ्गुरपालन गरेको सञ्चालकको भनाई छ ।

नेपालको कृषि क्षेत्रमा राज्यले ठूलो रकम अनुदानको रुपमा वितरण गरिने गरेपनि त्यो पारदर्शी नभएको सञ्चालकको गुनासो छ । ‘हामीले राज्यको अनुदान प्राप्तीकै लागि लगानी गरेका होइनौ, राज्यले आवश्यक औषधी, प्राविधिक तथा प्रविधिको व्यवस्थापनमा ध्यान दिन सक्ने हो भने कृषि क्षेत्रमा लगानी गर्नेहरुलाई सहज हुने थियो ।’ सञ्चालक प्रेम बिकले भन्नुभयो ।

तपाईको प्रतिक्रिया