डोल्पामा प्रदेश लेखा इकाई कार्यालय स्थापना

रामचन्द्र न्यौपाने
डोल्पा, ३० भदौं ।
डोल्पामा प्रदेश मातहतका विकास योजना तथा कार्यक्रमहरुको बजेट निकासालाई सहज एवं प्रभावकारी बनाउन प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको भवनमा मंगलवार प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको हो ।

प्रदेश लेखा इकाई कार्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले प्रदेश लेखा इकाई कार्यालयको उद्घाटनसँगै आगामि दिनहरुमा विकास बजेट निकासा तथा माग गर्न सहज हुने बताए । विगतमा संघीय, प्रदेश र स्थानीय सरकारका कार्यक्रम तथा बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयबाटै निकासा गर्दा कार्यभारले ठुलो झन्झट व्यहोर्नु पर्ने बाध्यताबाट सर्वसाधारणहरु मुक्त भएको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले संघियता लागुसंगै यसको संरचना तल्लो तहसम्म लैजाने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप ढिलै भएपनि प्रदेश लेखा इकाई कार्यालयको स्थापना हुनु खुसिको कुरा भएको बताए । जिल्लामा रहेका दश वटा कार्यालय र ८ ओटा स्थानीय तह समेतको बजेट निकासा तथा कार्यक्रमको लेखा नियन्त्रण इकाई कार्यालयले गर्ने प्रजिअ सुनारले बताए । सबै कार्यालयको आर्थिक लेखा प्रणाली एउटै कार्यालयले गर्दा विगतमा कोष तथा लेखा नियन्त्रण कार्यालयलाई कामको चाप हुने गरेको बताईएको छ ।

तपाईको प्रतिक्रिया