बलात्कारको झुटो आरोप लगाउने युवतीलाइ जेल

सुर्खेत, ३० भदाै ।
बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजाय फैसला गरेको छ । तत्कालीन साल्ट ट्रेडिङ्ग कर्पोरेशन सुर्खेतका प्रमुख रामप्रसाद गुप्तालाई बलात्कारको आरोप लगाउने युवतीलाई अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

ञयहीँ भदौ १४ गते अदालतले एक महिना कैद र १५ सय रुपैयाँ जरिवाना हुने गरी फैसला गरेको अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिए । ‘यो गम्भीर आरोप हो । जबरजस्ती करणीको आरोप लगाएर कसैको जीवनमाथि खेलवाड गर्नुहुन्न । अदालतले ती युवतीलाई कैद र जरिवानाको फैसला गरेको छ,’ श्रेस्तेदार बास्कोटाले भने ।

कैद सजाय फैसला भएकी १८ वर्षीय युवती सुर्खेतको बराहतालकी हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २ (क) अनुसार फैसला भएको श्रेस्तेदार बास्कोटाको भनाइ छ । गत असोज २८ र ३० गते गुप्ताले कार्यालयमै बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन् ।

युवतीले जागिर लगाइदिने भन्दै गुप्ताले यौन शोषण गरेको वकपत्रमा उल्लेख छ । तर उक्त वकपत्र नै झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको श्रेस्तेदार बास्कोटाले बताए । अदालतको फैसलापछि ती युवती फरार भएकी छन् । ‘फैसला भएदेखि ती युवती सम्पर्कमा आएकी छैन्न । कैद भुक्तान तथा जरिवाना असुल गर्न पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाइएको छ,’ उनले भने । अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया