प्राधिकरणले कुलमानलाई आज बिदाइ गर्दै

काठमाडौं, ३० भदौ ।

नेपाल विद्युत प्राधिकरणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ । प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए ।


४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका छन् । उर्जामन्त्रालयले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेपनि सोबारे छलफल नै भएको छैन ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमनत्री केपी शर्मा ओलीले कानुनी अड्चन रहेको भन्दै यसबारेमा आफूले थप बुझेर निर्णय लिने बताएका थिए । ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ ।

उनको पुनर्नियुक्तिबारे निर्णय लिन ढिलाइ भएपछि घिसिङल बिदाई हुने इच्छा देखाएको प्राधिकरणका ती कर्मचारीले बताए । घिसिङकै इच्छा अनुसार विदाइ गर्न लागिएको बुझिएको छ ।

यता मन्त्रालय स्रोतले उनको पुनर्नियुक्तिको सम्भावना टरिनसकेको जनाएको छ । लोडसेडिङ अन्त्य गर्ने कुलमानकै पुनर्नियुक्तिको माग ज्यादा भएपनि राजनीतिक तहमा स्वार्थ नमिल्दा नियुक्ति हुने नहुनेमै शंका भने उब्जिएको छ ।
रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया