महाधिवेशनले व्युँझिएका काँग्रेसी

जनक केसी

अब पनि विपीले यस्तो गरेको, गणेशमान, किशुनजी, गिरीजावावु र शुसीलले यस्तो गरेको भन्नेजस्ता पुराना नारा रटेर काँग्रेसले आफ्नो पुरानो विरासत फर्काउन सक्दैन । अहिले काँग्रेस कमजोर हुनुको मुख्य कारण पनि यही हो । सधै इतिहास र पुर्खाको योगदान भजाएर जनताको मन जित्न र राष्ट्रमा समृद्धिको मार्ग पहिल्याउन सकिँदैन ।

चौधौं महाधिवेशनले यतिबेला नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु व्युझिएझै भएका छन् । स्थानीय तह, प्रदेश र संघीय संसदको चुनावमा पार्टीले हारेपछि सिथिल र निरास बनेका काँग्रेसीहरु तीनबर्षे सुताइपछि महाधिवेशनको हावाले फेरी व्युँझिन थालेका छन् । पार्टीको अस्थित्व, भविष्य, चरित्र, नीति र सिद्धान्तका बारेमा चारैतिरबाट शंका र प्रश्नहरुको ओइरो लागिरहेका बेला पनि केन्द्रदेखि गाउँ टोलसम्मका काँग्रेसीहरु लगभग सुतेकै अवस्थामा देखिए । पछिल्लो समयमा बैचारिक र सैद्धान्तिक धरातलमा कम्पन्न आएको भनेर चारैतिर आलोचित हँुदै गएको काँग्रेसलाई अहिलेको अवस्थाबाट माथि उकास्न अबको महाधिवेशनले सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ ।

लोकतान्त्रिक मुल्य मान्यताहरुको प्रयोगमा काँग्रेस किन कम्जोर भयो ? काँग्रेसको मुख्य आदर्श लोकतान्त्रिक समाजवादका चरित्रहरु पार्टी र नेता कार्यकर्ताहरुको संस्कार र कार्यशैलीहरु किन हराउदै गए ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने र जनताको संविधान लेख्ने कामको सफलतापछि काँग्रेसले स्पातिलो एजेन्डा किन बनाउन सकेन ? त्याग बलिदान र संघर्ष गर्ने जनता र कार्यकर्ताहरुका लागि पछिल्लो समयमा पार्टी नेतृत्वले निर्माण गरेका नयाँ आदर्शहरु के के हुन् ? किसान, मजदुर, युवा, महिला, दलित, जनजाति, अपांग, जेष्ठ नागरिक र विद्यार्थीहरुले पटकपटक उठाइरहेका आफनो अधिकार र समृद्धिका सवालहरु प्रति काँग्रेसको जनमुखी र न्यायपूर्ण जवाफ के हो ? वेरोजगारीका कारण दिनहुँ सयौंको संख्यामा मातृभुमि छोड्ने युवाहरुको रगत र पसीनालाई देशभित्रै सदुपयोग गर्ने काँग्रेसको नीति र कार्यक्रम के हो ? सबै कृषि उपजको आपूर्ति भारतबाटै गर्नुपर्ने बाध्यात्मक अवस्था हटाउने काँग्रेसको समाजवादी सुत्र के हो ?

वास्तवमा आफूलाई लोकतान्त्रिक मुल्य, मान्यताको मसिया ठान्ने काँग्रेसमा महाधिवेशन भएको चार बर्षसम्म आन्तरिक सरंचना अधुरै राख्ने पुरानो रोग कहिले अन्त्य हुन्छ ? यस्तै अनेकौं प्रश्नहरुले काँग्रेसको तल्लो तहदेखि केन्द्रिय नेतृत्व सम्मलाई घेरिरहेका छन् । यी प्रश्न र सवालहरुको खरो प्रहारलाई अहिलेको नेतृत्वमा रहेकाहरुले सामना गर्न सकेको देखिदैन । सम्भावना, विचार सिद्धान्त अनुसार देश र पार्टी हाँक्ने सौर्य बोकेको नेतृत्व अभावको पीडा यतिबेलाको काँग्रेसले भोगिरहेको छ । यही बिचमा काँग्रेसको चौधौं महाधिबेसन हुँदैछ । एकपटक नेतृत्वमा परीक्षण भइसकेकाहरु असफल भए पनि वारम्वार सोही ठाउँमा टाँसिरहेको रोग नेकपा लगायतका अन्य दलहरुमा जस्तै काँग्रेसमा पनि सशक्त बनेको छ ।

देशमा नेकपाको दुईतिहाइको सरकारले उधुमै मच्चाउने अपेक्षाको कचौरा थापेर बसेका जनताहरु कचौरामा भरिएको निरासाले आक्र्रोसित भएको बेलामा पनि सत्ताको छेउमा ट्वाँ परेर बसेका काँग्रेसका नेता कार्यकर्ताहरुलाई महाधिवेशनको हावाले फेरि हल्लाउन सुरु गरेको छ । इतिहासको निकै जर्जर अवस्थामा पनि विपी कोइरालाको दर्शन, दुरदृष्टि र विचारमार्फत स्थापित काँग्रेस यो सहज अवस्थामा पनि दयनीय अवस्थामा पुगेको छ । जीवन र राजनीतिको उत्तरार्थमा पुगेकाहरुका लागि यो कुनै नौलो कुरा नभए पनि उर्जाशील युवा नेता कार्यकर्ताहरुका लागि निकै चुनौति हो । एकपटक चुनाव जिते जुनीभरलाई पुग्छ भनेजस्तै गरी नेता कार्यकर्ताहरु अल्छी र विलासी भएकै कारण अहिले काँग्रेसको यो अवस्था आएकोभन्दा फरक पर्दैन । पद पाएका नेता र सत्ता पाएको पार्टीसँग स्पातिलो नीति र जनमुखी कार्यक्रमको खडेरी परेका कारण आज विपीको नाम भजाउनु र विगतको योगदान भट्टयाउनु बाहेक अर्काे कुनै बलियो अस्त्र छैन ।

आफनो विचार र सिद्धान्तको व्यवहारिक प्रयोगलाई जनस्तरसम्मै देखाएर राजनैतिक फाइदा लिन नसकेको पार्टी नेतृत्व, नीति र कार्यशैलीकै विचमा महाधिवेशनको नसाले सलवलाएका नेता कार्यकर्ताहरुले अब के गर्ने हुन हेर्न बाँकी छ । इच्छाशक्ति, दुरदृष्टि, जोस जाँगर र सपना भएका युवाहरुले पार्टी नेतृत्व हाक्न पाउने सम्भावना प्रवल नहुने र वारम्वार परीक्षण भएर असफल भइसकेकाहरुले नेतृत्वमा जवरजस्त हालीमुवाली गरिरहने हो भने माथि उल्लेख गरिएका कुनै पनि प्रश्नहरुको जवाफ कोही पनि काँग्रेसजनसँग भेटिने सम्भावना छैन । संसदमा गगन थापाले देखाएको शसक्त र उर्जाशील प्रस्तुती र बाहिर रहेर विश्वप्रकाश शर्माले देखाएको बौद्धिकतापूर्ण खरो विचार र राष्ट्रियताको सन्दर्भमा मिनेन्द्र रिजालले भारतीय पक्षलाई दिएको देशभक्तिपुर्ण जवाफको भावनालाई समेटेर अबको महाधिवेशनले उचित सम्बोधन गर्नसक्छ कि सक्दैन हेर्न वाँकी छ । पार्टीको मुल नेतृत्व आफ्नै दलभित्र गुट निर्माण र आखापाखाको नीतिबाट व्याक नभएसम्म पार्टी सुध्रिन्छ भनेर कल्पना गर्न सकिदैन ।

पार्टीलाई लोकतान्त्रिक, जनप्रिय, गतिशील र आम जनताको सुखदुखको असली साथी बनाउन सबैभन्दा पहिले युवाहरु पार्टीभित्रका गुट भत्काउन र नेताका व्यक्तिगत पिछलग्गु बन्न छोड्नुपर्छ । पार्टीका कार्यक्रम र दस्तावेजहरुमा बाँझा जमिनहरु कसरी उर्वर बनाउने, वेराजगार युवाहरुलाइ कसरी उद्यमी वनाउने, देश छोड्ने युवाहरुलाई कसरी देशभित्रै रोकेर उनीहरुको श्रम र सीपलाई समुन्न्त नेपाल निर्माणमा प्रयोग गर्ने, सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती, अनियमितता, अपारदर्शिता कसरी हटाउने, लोकतान्त्रिक मुल्य मान्यतालाई पार्टीभित्र र बाहिर कसरी स्थापित गर्ने, वेरोजगारी र गरिबीको पीडामा छटपटाइ रहेका जनताको मुक्तिको सुत्र कसरी निकाल्ने भन्नेतिर युवा नेता अनि कार्यकर्ताहरुले समय खर्च गरे पार्टीेले बेहोरिरहेका धेरै चुनौतीहरुको सहज सामना गर्न सकिन्छ ।

कोही पनि मानिस या प्राणी एक पटक हारेपछि या चोट लागेपछि पछिल्ला पटकहरुमा सुध्रिएको देख्न सकिन्छ । तर काँग्रेसका नेता कार्यकर्ताहरु पार्टी संगठन र विचार निर्माणको सवालमा सुध्रिएकोभन्दा बढी विग्रिएको नै देखिएको छ । महाधिवेशनको नजिक पुगेको अवस्थामा व्यँुझिएका नेता कार्यकर्ताहरुको जोश नदी नभएर खहरे मात्रै हुने गरेको विगत हामीमाझ ताजै छ । यतिवेला काँग्रेसमा नीति, सिद्धान्त र विचारको वहस र छलफलभन्दा पनि आगामी नेतृत्व कसरी फुत्काउने भन्नेमा नेता कार्यकर्ताहरुको ध्यान केन्द्रित हुन थालेको छ । पार्टी सभापति, महामन्त्री र अन्य प्रमुख पदमा दावी गर्नेहरुले अबको पाँच वर्ष या दश बर्षको अग्रगामी लक्ष्य र योजना निर्धारण गरेको देखिँदैन । अब पनि विपीले यस्तो गरेको, गणेशमान, किशुनजी, गिरीजावावु र शुसीलले यस्तो गरेको भन्नेजस्ता पुराना नारा रटेर काँग्रेसले आफ्नो पुरानो विरासत फर्काउन सक्दैन । अहिले काँग्रेस कमजोर हुनुको मुख्य कारण पनि यही हो । सधै इतिहास र पुर्खाको योगदान भजाएर जनताको मन जित्न र राष्ट्रमा समृद्धिको मार्ग पहिल्याउन सकिँदैन ।

देश र पार्टीलाई पार लगाउने सवल, सक्षम र दुरदर्शि नेता कार्यकर्ताहरुको पहिचान अबको महाधिवेशनले गर्नुपर्छ । पार्टीले लिएको नाराले देश र पार्टीको लागि देखाएको सम्भावना र नयाँ पुस्तामा देखाएको भविष्य के हो ? राज्य संचालनको प्रवृत्ति, स्वरुप, शैली र नियत वदलियो कि वदलिएन ? व्यक्ति पार्टी, विधि र प्रभाव सधैं एउटै छ कि समयको मागअनुसार वदलिएको छ ? यही कुराले आज नेपालीहरुको दिल दिमागमा व्यापक द्धन्द चलाइरहेको छ । यी प्रश्नहरु आम जनतामा मात्र होइन, प्रत्येक पार्टीको तल्लो तहका नेता कार्यकर्ता र माथिल्लो तहकै इमान्दार नेता र शुभचिन्तकहरुका मनभित्र र वाहिरका मंचहरुमा पनि उठिरहेका छन् । यसकारण अब काँग्रेसलाइ जनता र भरभराउँदा युवाहरुको सम्पुर्ण आस्थाको पार्टी भनेर भाषण र प्रतिवद्धताहरुमा मात्र नभइ प्रयोगात्मक रुपमै स्थापित गर्न आवश्यक छ । अब हाम्रा अघि आउने सबै अवसरहरुमा नयाँ पुस्ताले सुधारको वाटो नरोजे, आफुलाई वदल्न नसके या विकृतिहरुकाविरुद्ध आगो ओकल्न नसके र आफुलाई दासता, गुट र संकीर्ण मनस्थितिको जालवाट वाहिर निकाल्न नसके हाम्रा सबै सपनाहरु हाम्रै कारणले खरानी हुनेछन् । महाधिवेशनको तयारीमा जुटेका काँग्रेसीहरुले अब सुधार र परिवर्तनका लागि एउटा कठोर निर्णय र संकल्प गर्नै पर्दछ ।

(लेखक नेपाल पत्रकार महासंघ जाजरकोटका निवर्तमान अध्यक्ष हुन् ।)

तपाईको प्रतिक्रिया