सम्पादकीयः संक्रमितमाथि निगरानी

कोरोनासँग जुधेको करिब ६ महिना भयो । अहिले पनि संक्रमण बढ्दो क्रममा छ । पाँच महिनासम्मको लकडाउन केही खुकुलो भए पनि लामो दुरीका सार्वजनिक यातायात, विद्यालय र हवाइ उडान बन्द छन् । कोरोना त्रासका कारण आर्थिक क्षेत्र अस्तव्यस्त नै बनेको छ । कर्णालीमा कोरोनाका कारण मृत्युदर पछिल्लो समय शून्य नै छ । तर संक्रमण भने घटेको छैन । सुरुवातमा भारतबाट आएकाहरुमा मात्र देखिने संक्रमण हिजोआज समुदायमा नै पुगेको छ । सरकारको कमजोर व्यवस्थापन, सर्वसाधारणको लापरबाही र असावधानीका कारण कोरोना समुदायसम्म पुगेको छ । कोरोना संक्रमण बढेसँगै आइसोलेसन पनि थपिएका छन् । तर पछिल्लो समय कतिपय संक्रमितहरु पहुँचको भरमा आफ्नै घर र कोठामा बस्न थालेका छन् । होम आइसोलेसनको नाममा संक्रमितहरु स्वास्थ्यकर्मी र सरकारी नियकाको निगरानीभन्दा बाहिर छन् । पछिल्लो समय समुदायसम्म कोरोना पुग्नको एउटा कारण होम आइसोलेसन पनि हो । जहाँ बसेका संक्रमितहरु कसैको निगरानीमा हुँदैनन् । सहज रुपमा नै अन्य व्यक्तिको सम्पर्कमा जाने भएकाले पनि संक्रमण फैलिने जोखिम पनि बढी हुन्छ ।

सुरुमा सरकारी पहुँच र निगरानी भएका आइसोलेसनमा मात्र संक्रमितलाई रोख्ने गरिएको थियो । यसले संक्रमितहरु निगरानीमा हुन्थे । सुरक्षाकर्मीको घेरा तोडेर बाहिर जान पाउने अवस्था हुन्थेन । स्वास्थ्यकर्मी पनि हुने भएकाले औषधि र उपचारको व्यवस्थापन पनि हुन्छ । यसले संक्रमणमुक्त नहुँदासम्म संक्रमितको सम्पर्कमा कोही पनि जान पाउँन्थेनन् । यसले संक्रमण फैलिनबाट रोक्न सम्भव हुन्थ्यो । तर अहिले होम आइसोलेसनका नाममा संक्रमितहरु घरमै पनि बस्न पाउने व्यवस्था छ । यसले संक्रमितहरु घरमै बस्ने नाममा संक्रमण बढाउने काम भइरहेको छ । यतिसम्म कि, कसैको निगरानीमा नहुने भएकाले संक्रमितहरु घरबाट निस्केर खेतबारीमा जाने, ढुक्कसँग बजारतिर घुम्ने, चौकमा गएर अन्य व्यक्तिहरुसँग सम्पर्कमा रहनेलगायतका क्रियाकलापहरु गरिरहेका छन् । यसले एकातिर संक्रमितको स्वास्थ्यमा नै समस्या आउने खतरा छ भने अर्कोतर्फ परिवार र समुदायका व्यक्तिहरु पनि संक्रमित हुने क्रम बढ्दो छ । सरकारले आवश्यक निगरानी नगरेकै कारण संक्रमण फैलिने जोखिम बढेको छ ।


कोरोना रोकथाममा राज्यको अर्बौ रकम खर्च भइरहेको छ । संक्रमण नियन्त्रणमा नआउँदा नागरिकलाई छाक टार्ने पीरलो बढेको छ भने राज्यले पनि आर्थिक क्षति भोगिरहेको छ । नियन्त्रण र रोकथाममा भएका प्रयासहरु व्यवस्थित र प्रभावकारी नहुँदा महामारी फैलिने क्रममै छ । यसकारण सरकारी निकायले अब होम आइसोलेसनमा रहेका संक्रमितमाथि पनि निगरानी बढाउन आवश्यक छ । होम आइसोलेसनका नाममा भित्रभित्रै फैलिरहेको महामारी रोकथाममा अब स्थानीय जनप्रतिनिधि, स्वास्थ्यक्रमी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसका अलवा स्थानीय बासिन्दाले पनि संक्रमितसँगको सम्पर्कमा अन्य मानिसहरुलाई जान नदिन र संक्रमितलाई आइसोलेसनमा निको नहुँदासम्म रहनका लागि निगरानी गर्न सक्छन् । यसो भएको अवस्थामा मात्र कोरोना महामारीबाट अरुलाई संक्रमण हुन नदिन, समुदायमा फैलिन नदिन र रोकथाम गर्न सम्भव हुनेछ ।

२०७७ भदौ ३० गते मंगलवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार