कोरोना बीमामा नयाँ मापदण्ड

काठमाडौं,३० भदौ ।
बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमाङ्क रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाइका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन ।

उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

नयाँ बीमितलाई नयाँ मापदण्ड
सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको छ । बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ । तर बीमा गरेको व्यक्ति अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ ।

मानौं, कुनै बीमित कोरोना संक्रमित भएर घरमै आइसोलेसन बसे राहत खर्च बापत २५ प्रतिशत रकम अर्थात (एक लाखको बीमा गरेको भए २५ हजार रुपैयाँ पाउनेछ । यदि बीमित संक्रमित अस्पताल भर्ना हुनु परेमा चिकित्सकले प्रमाणित गरेको बिल भपाई पेश गरेमा अस्पताल भर्ना खर्च बापत अधिकतम् ७५ प्रतिशतसम्म अर्थात बाँकी ७५ हजार रुपैयाँसम्म पाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया