सन्दर्भ राष्ट्रिय बाल दिवस

कर्णालीमा बाल अधिकार

सजना सुनार।

पिठ्युँमा गरुंगो झोला बोकेर कर्णाली नदीको तिरैतिर हिँडिरहेको म । मेरो कानमा एक्कासी गुञ्जिएका थरिथरि आवाजले झस्किएँ । कारण, मैले बोकेको गरुंगो झोला तीन चारजना बालबालिकाहरु माग्दै थिए । कोही त मेरो झोला नै खोस्न खोज्दै थिए । सुरुमा त मलाइ निकै अफ्ठेरो लाग्यो । खिन्नता पनि । मेरो नैतिकताले उनीहरुलाई मेरो झोला बोकाउन सक्दैनथ्यो । तर उनीहरु पटकपटक मेरो झोला मागिरहेका थिए । त्यो पनि तछाडमछाड नै गेरर । यो घटना कोरोना महामारी सुरु हुनुभन्दा केही समय अगाडिको हो । त्यतिखेर म कर्णाली नदीको तिरैतिर बालबालिकाकै अधिकारको लागि आयोजित कार्यक्रमहरु सहजिकरण गर्न एक प्रशिक्षकको रुपमा हिँडिरहेको थिए । त्यसै क्रममा थाहा पाएँ, कर्णालीको तिरतिरै भएर हिँड्ने व्यक्तिहरुको थोरै रकममा झोला बोकिदिने त्यहाँका बालबालिकाहरुको दैनिकी जस्तै रहेछ ।

त्यसैले होला उनीहरु मेरो झोला पनि माग्दै थिए । गन्तब्यमा पुग्न पाँच घण्टा बाँकी थियो । त्यसबेला त्यहाँ पुगेर बाल अधिकारका बारेमा के बोल्नुपर्छ भन्ने कुरा सबै कुरा िबर्सीएँ । कारण तितो वास्तविकताले वास्तविकतामै फर्काएको थियो । म स्तब्ध थिएँ । ति साना बालबालिकाहरु, जसको हातमा कापी, कलम र किताव हुनुपथ्र्यो । तर उनीहरुको हातमा बरियो थियो । तीनै बालबालिकाहरु पातलो फाइबरको टिसर्ट र हाप पाइन्टमा तन्दुरुस्त दौडिरहेका थिए । यता उता भारीको खोजीमा । त्यो दृष्य प्रत्यक्ष नियाल्दा मन कटक्क भयो । कर्णाली छेउको चिसो हावाले मलाइ पनि हानेको थियो । उनीहरुलाई पनि हानेकै थियो होला । बालबालिकाहरुको पट्पटी फुटेका थिए खुट्टाका पैताला । सायद भारीकै कारण होला । म केही बोल्न सकिरहेको थिइँन । मैले उनीहरुसँग भलाकुसारी गर्न खोजँे । तर उमेरले ११, १२, १३, १४ वर्ष यस्तै यस्तै देखिने ती बालबालिका पैसा र भारीबाहेक अरु कुरा गर्न चाहान्थेनन् । मलाइ उनीहरुसँग अन्य विषयमा कुरा गर्न सारै गाह्रो प¥यो । केहीबेरपछि उनीहरुले आफ्ना बृतान्त सुनाए । हुन त योबर्ष कोरोना महामारीका कारण विगतका बर्षहरुमा जस्तै बाल दिवस मनाउन सकिने अवस्था छैन । सयांै बालबालिकाहरुलाई समावेश गरेर दिवस मनाउन सकिने अवस्था छैन । तर पनि भर्चुअल माध्ययमबाट दिवस मनाइरहेका छौं ।

कर्णालीका बालबालिकाहरुको कुरा गरिरहँदा मलाइ झलक्क एउटा लेखको सम्झना दिलाँयो । उक्त लेख रचना सुनारले लेख्नुभएको थियो । शिर्षक थियो ‘खोरमा हुर्कदै ‘कर्णालीको भविष्य’ । यो लेख कर्णालीका बालबालिकाहरुको वास्तविकता हो । त्यो पनि कर्णाली प्रदेशकै जाजरकोट जिल्लाका बालबालिकाहरुको वास्तविकतालाई समेटिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दा गर्दै धेरैले नाम कमाउनुभयो । सायद मैले पनि कमाए हुँला । तर हामीले भने झैँ वा बोलेझै बालबालिकाहरुले अधिकार पाएका छन् त ? कर्णालीको तिरमा भारी बोकिरहेका ती बालबालिकाहरुको अभिभावक नभएका पनि होइनन् । सोध्दा वा उनीहरुसँग भलाकुसारी गर्दा एउटै घरका चारपाँच जनासम्म कर्णाली किनारमा भारी बोक्न आउने गरेको थाहा पाएँ । बालबालिकाहरुलाई यस्तो काम गर्न किन लगाउनुभन्दा छेउमै रहेका अभिभावकहरुको जवाफ थियो, ‘गरिबी र एक छाक टार्नकै लागि त्यो गर्नु परेको हो ।’ उहाँहरुले जति नै गरिबीको कारण देखाए पनि वास्तविकता फरक थियो ।

त्यहाँ भारी बोक्न आउनुभएको अभिभावकहरुले भारी बोकेर राम्रै आम्दानी हुँदो रहेछ । तर, जति नै पैसा कमाए पनि दिनभरीको कमाइ रक्सी र मासुमा सकिएको थर्थाथ खुल्यो । तर, ती मध्ये केही बालबालिका साँच्चिकै पीडित र बाध्यताले काम गरेका थिए । यी सबै कुरा गरिरहँदा अर्को कुराले मलाइ थप अचम्मित बनायो । त्यो बाटो मेरो लागि नयाँ थियो । म पहिलोपटक कर्णालीको तिरैतिर हिँडिरहेको थिएँ । मभन्दा पहिला त्यही बाटो भएर कति अभियान्ता र अधिकारकर्मी हिँड् नुभयो होला । सरकारी निकायका व्यक्तिहरु पनि हिँड् नुभएको होला । के साँच्चिकै त्यो ठाउँमा भारी बोकेर हिँड्ने बालबालिकाहरुलाई नदेख्नु भएको होला र ? या त त्यसबारेमा बुझ्न र जान्न समय नै थिएन । या त ती बालबालिका कुनै पनि सरकारी तथा गैरसरकारी निकायहरुको कार्यक्षेत्र भित्र परेनन् । या त बालबालिकाको बारेमा कार्यक्रमहरु गर्दै हिँडेकाले यसरी बाटोमा भेटिएका बालबालिकाको वास्ता कसैले गरेनन् । अर्कोतर्फ हामी जुन होटलमा गफिदै चिया खाजा खाईरहेका हुन्छौं, यहि होटलमा एकजना बालकले चिया लिएर दिन्छ ।

त्यसले हामीलाई कुनै असर पार्दैन । हामी फेरी भन्छौ, ‘ए कान्छा चियासँग खाने अरु केही छैन ? छ भने ल्याऊ ।’ खाजा खाईसकेपछि कार्यशाला तालिम वा समारोहमा जान्छांै र भन्छौं बालबालिकाहरुलाई ‘बाल श्रममा राख्नु हुँदैन ।’ कर्णाली प्रदेशको कूल जनसंख्याको ५२.४९ प्रतिशत जनसंख्या बालबालिकाको छ । प्रदेशमा रहेको १५ लाख ७० हजार ४१८ जनसंख्यामध्ये आठ लाख २४ हजार तीनसय ७३ जना बालबालिका छन् । प्रदेशमा व्याप्त बालविवाहसँगै छाउपडी बालश्रम तथा बलात्कारजन्य क्रियाकलापबाट धेरैजसो बालबालिका प्रभावित छन् । गरिबी तथा पारिवारिक समस्याका कारण बालबालिकाहरू उमेर नपुग्दै होटल, कारखाना र यातायात क्षेत्रमा मजदूरी गर्न बाध्य छन् । बालबालिकाहरू हराउने, विद्यालय छाड्ने, विद्यालय भर्ना नहुने र अभिभावकविहीन बन्ने समस्या छ । यतिमात्रै कर्णालीका बालबालिकाका वास्तविकता होइनन् । जति अध्ययन ग¥या,े त्यति नै दर्दनाक छ । बालबालिकाहरु बाल श्रमका लाग्नु रहर नभइ बाध्यता बनेको छ । कतिपय अभिभावकहरुको वेवास्ता लगायतका कारण बालश्रमीकको रुपमा लाग्न बाध्य छन् ।

यातायातका साधनमा सहयोगीको काम गर्दै हिँड्ने पनि तीनै बालबालिका हुन् । सडक बालबालिकाको अवस्था झनै भयानक छ । यतिमात्रै कहाँ हो र ? १४ बर्ष नपुग्दै भारतमा गएर कमाइ गरेर ल्याउनु यहाँका बालबालिकाको बाध्यता छ । केन्द्रिय बाल अधिकार परिषद्ले २०७५ मा गरेको सर्बेक्षण अनुसार यातायातमा श्रम गरिरहेका बालबालिकाको संख्या २६ प्रतिशत छ । घर वा होटलमा काम गर्ने बालबालिकाहरुको संख्या २१ प्रतिशत छ । लागु पदार्थ ओसार पोसारमा फसिरहेका बालबालिकाका संख्या १९ प्रतिशत छ । यो डरलाग्दो तथ्यांक भनि रहँदा अहिलेको कोरोना महामारीको अवस्थामा बालबालिकाको अवस्था झनै दर्दनाक छ ।

कोरोना महामारीका कारण आम जनजीवन सिमित र असहजिलो बनिरहेको छ । यसले सबै क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । अरु क्षेत्रका बालबालिकाहरुलाई जत्तिकै सहज कर्णालीका बालबालिकाहरुलाई छैन । कारण विभिन्न हुन सक्छन्, बालबालिकाहरु शिक्षण सिकाइबाट बञ्चित छन् । जो पहिले पनि शिक्षण सिकाइको पहुँचभन्दा टाढा थिए, उनीहरुको झनै डरलाग्दो अवस्था छ । बालबालिकासँग काम गर्ने थुप्रै संघ संस्थाहरु छन् । जसले थुप्रै नयाँ नयाँ प्रकृतिको कामहरु सञ्चालन गरिरहेका छन् । त्यसले केही हदसम्म भए पनि परिवर्तन त ल्याएको छ । तर, बाल अधिकारका कुराहरु बासबिस (बाँच्न पाउने, संरक्षण हुन पाउने, विकास हुन पाउने र अर्थपूर्ण सहभागिता हुन पाउने) बाट कर्णालीका अधिकाँश बालबालिकाहरुले महसुस गर्न पाएका छैनन् ।

यो कोरोना महामारीको समयमा निम्न आयस्रोत र मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरुले पोषणयुक्त खानासमेत पाएका छैनन् । शिक्षण सिकाइको वातावरण त परैको कुरा रह्यो । बालिकाहरु यौन शोषणको शिकार भइरहेका छन् । यसको लेखाजोखा कसले गर्ने ? हरेक बर्ष मनाइने राष्ट्रिय बाल दिवस यो बर्ष पनि मनाईदै छ । योबर्ष पनि बालबालिकाको कुरा सुनाइँदै छ । प्रत्येक बर्ष फरकफरक नाराका साथ बाल दिवस सम्पन्न हुन्छ । बालबालिकाहरुको कुरा सुन्दा क्या गज्जबको प्रश्न ग¥यो भनेर प्रसंशा गर्ने तर, कार्यान्वयनमा शुन्यता आउने परम्परा यो बर्षबाट अन्त्य होस् ।

तपाईको प्रतिक्रिया