सम्पादकीयः निराशाजनक भौतिक विकास

विकास मानवीय आवश्यकता हो । मानवीय रुची र चाहनाले पनि विकासको गतिमा प्रभाव पार्दछ । मानिसका इच्छा र चाहना असिमित छन् । तर ती चाहना र इच्छाहरु पूरा गर्ने दौडमा मानव लागि परेको छ । यही कारण त भौतिक विकासको गति अगाडि बढिरहेको छ । आज मानवले चाहेमा असम्भव केही छैन । आकासमा जहाज उडाउने देखी समुद्रभित्र रेल कुदाउनेसम्मका प्रगति हात पारेको छ । त्यतिमात्र होइन, अन्तरिक्षमा समेत बस्ती बसाउनेतर्फ मानवका प्रयासहरु अगाडि बढीरहेका छन् । आज विकसित भनिएका देशहरुमा भौतिक विकासले फड्को नै मारेको छ । यस्तो अवस्थामा पनि नेपालजस्ता अल्पविकसित अर्थात विकासको गतिमा कुद्दै गरेका देशका लागि भौतिक विकास सपना बनेको छ । अर्थात भौतिक विकासको लाभ लिन अझैं केही समय कुर्नुपर्ने देखिन्छ । नेपालमा विकासको चाहना नै नभएको होइन । तर हाम्रो काम गर्ने शैली, उपलब्ध स्रोत र साधनको परिचालनमा तालमेल मात्र नमिलेको हो । आजसम्म आउँदा राजनीतिक सिद्धान्त र व्यवस्थाका कारण विकासमा बाधा पुगेको भनियो । तर आज देशमा गणतन्त्रसम्म आउँदा नागरिकले भौतिक विकासको भोक भेटाउने अवसर पाएका छैनन् ।

नागरिकको यही विकासको भोक भेटाउनका लागि स्थानीय, प्रदेश र संघ गरी तीन वटा सरकार छन् । गाउँका सिंहदरबार भनिने स्थानीय सरकारले पनि खुबै विकास गर्ने अपेक्षा नागरिकमा छ । यद्यपी आजसम्मको गति र काम हेर्दा नागरिकको अपेक्षा कति पूरा हुन्छ, त्यो समिक्षा गर्ने बेला भएको छ । भौतिक विकासमा हालसम्म पछाडि पारिएको, अवसरबाट विभेद गरिएको र सम्भावना भएर पनि त्यसको सदुपयोग नभएको कर्णालीमा विकासको गति निराशाजनक नै छ । चाहे त्यो प्रदेश सरकारको होस् या स्थानीय सरकारको नै किन नहोस् । भौतिक विकासमा अपेक्षाकृत नतिजा दिन सकेका छैनन् । प्रदेश सरकारले वितेको आर्थिक बर्षमा जम्मा डेढ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेशका १० जिल्लामा एक बर्षको अवधिमा जम्मा डेढ किलोमिटर सडक कालोपत्रे हुनु निराशाजनक नै हो । यस्तै कर्णालीको राजधानी सहर रहेको वीरेन्द्रनगरको भौतिक प्रगति पनि आशालाग्दो छैन । वीरेन्द्रनगरले गएको आर्थिक वर्षमा जम्मा दुईसय मिटर मात्र सडक कालोपत्रे गरेको छ ।


यही गतिमा विकास भए नागरिकले चाहेको समृद्धि आउन कति बर्ष कुर्नुपर्ने हो ? भाषण र घोषणापत्रले मात्र विकास हुने होइन । वास्तवमा सरकार र जनप्रतिनिधिको इच्छाशक्ति र तत्परता चाहिन्छ । हाल जुन भौतिक विकास भएको छ, यो सन्तोषजनक छैन । यही गतिमा विकास गर्ने हो भने सरकारप्रति नागरिकको विस्वास पनि गुम्नेछ । यसकारण अब स्थानीय र प्रदेश सरकारले आफ्नो गति बढाउनै पर्दछ । भौतिक विकासको भोकमा रहेको नागरिकको चाहना पूरा गर्न सम्भव छ । यो सम्भावनालाई आत्मसात गरेर सरकारले चुनौतीको सामना गर्दै भौतिक विकासको गति तीव्र बनाउनु पर्दछ । विकासको गति बढेमा मात्र समृद्धिको नजिक पुग्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार