राष्ट्रिय बाल दिवस आज, भर्चुअल रुपमा मनाइँदै

काठमाडौं, २९ भदौ ।

आज भदौ २९ गते राष्ट्रिय बाल दिवस भर्चुअल रुपमा मनाइँदै छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्ष कोरोना महामारीका कारण बाल दिवस भर्चुअल रुपमा मनाउन लागिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिकातर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । यो महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउ दर बढाउने चुनौती कायमै छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुव्र्यवहार, गैह्रकानुनी ओसारपसारजस्ता बालअधिकार विरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण र विद्युतीकरण आदि सुधार हुनुपर्ने सुझाव दिएको छ ।

बालअधिकारका क्षेत्रमा कार्यरत संस्था ‘चाइल्ड नेपाल’ का अध्यक्ष कृष्ण सुवेदीले राष्ट्रिय बालअधिकार दिवस मनाउने अवसरमा सबै बालबालिकाले आफ्नो अधिकार प्रयोग गर्ने अवस्था सिर्जना हुनुपर्ने बताउनुभयो । दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लास्तरमा सुरक्षाका मापदण्ड पालना गरी दिवस मनाउन र माध्यमिक तहका कक्षा ९ र १० स्तरीय निबन्ध प्रतियोगिता गर्न आह्वान गरेको छ ।

मदन भण्डारी फाउण्डेशनले दिवसका सन्दर्भमा ‘बाल विकासमा कोरोना महामारीले पारेको असरबारे बालबालिकमन्त्री पार्वत गुरुङ, विज्ञ र बालबालिकासँग अन्तर्क्रिया गर्दैछ ।

विषम स्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने बताइन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानुन तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व भएको उनको भनाई छ ।

ुगुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु, सामुदायिक क्षेत्र, सञ्चारजगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरु भइरहेका छन्ु, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ,ुबालहिंसाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ तथा संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने नीतिसमेत लिएको छ ।

महामारीका समयमा वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षा साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा पनि व्यक्त गर्नुभएको छ ।

बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताए । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाका सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताए ।

‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याएर कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारे । प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्न आह्वान गरे ।

उज्यालोबाट साभार

तपाईको प्रतिक्रिया