बनेन तीन करोडको पुल, भएको काठेपुल भाँचियो, सवारी साधन आवतजावत बन्द !

रामचन्द्र न्यौपाने
डोल्पा, २९ भदौं ।
यहाँको ठुलीभेरी नगरपालिका वडा नं ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ । सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामाग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर पुल भाँचिएको हो ।

ट्रयाक्ट बिच पुलमा पुगे लगत्तै काठको पुल भाँचिएपछि बिचमै फसेको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए । भएको काठेपुल भाँचिएपछि सवारी साधन आवत जावत ठप्प भएको छ । पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी, सर्वसाधारणहरु लाई पनि १३ किमि सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

तीन करोडको पुल खोई ?
तत्कालिन जिल्ला बिकास समितिको ३ करोडको लागतमा जिल्ला प्राबिधिक कार्यालयले रेखदेख गर्ने ०७३ सालमा पक्की मोटरेवल पुलको निर्माण शुरु गरिएको थियो । ०७३ सालमा टेण्डरमार्फत मित्र संजीवनी कन्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्ष भित्रमा पुलको निर्माण कार्य पुरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए ।

पुल निर्माणकाे जिम्मेवारी पाएको मित्र संजीवनी कन्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि हिमबहादुर बुढाले आफुहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाले काम रोकिएको बताए । निर्माण ब्यवसायी हिमबहादुर बुढाले पेश्की स्वरुप लगेको रकमले स्थानीय ढुँगा गिटी बालुवा संकलन तथा पुलको दुबै तर्फको पिलर र खाल्डा खन्ने काममा ठिक्क भएको बताए ।

तत्कालिन जिबिसबाट पुल निर्माण शिर्षकमा २ करोड ७० लाख भन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने समयवधी ०७४ चैत्रमा सकिसक्नु पर्ने भएता पनि तीन पटक सम्म म्याद थप गर्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

जोखिम मोलेर सवारी यात्रा
समयमै पुलको निर्माण कार्य पुरानाे हुँदा अहिले सदरमुकाम दुनै भित्रने यातायातका साधनहरु जोखिम मोलेर काठकोे पुल मार्फत ओहर दोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरु वारपार गर्दा कुन दिन ठुलो मानविय दुर्घटना हुन्छ चिन्ताको बिषय भएको जीप चालक शुशिल कठायतले बताए ।
दुर्घटनापछि चिन्ता ब्यक्त गर्नु भन्दा समयमै पुल निर्माण गरेर सहजरुपमा यातायात संञ्चाल गर्ने वातावरण मिलाउन उनले माग गरे । अघिपछि भन्दा बर्खायाममा खोला बडेको बेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया