चामुण्डाविन्द्रासैनीमा खुल्यो पौने दुई करोड लागतमा डेरी उद्योग

सुर्खेत, २९ भदौं ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्नेचौतारामा अत्याधुनिक डेरी उद्योग खुलेको छ । दैलेख जिल्लामै सबैभन्दा धेरै लगानीमा ठुलो क्षमताको डेरी उद्योग खुलेको हो । प्रदेश सरकार, नगरपालिका र स्वयंम सहकारीको करिव पौने डेढ करोडको लागतमा डेरी उद्योग खोलिएको हो ।

सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित दुग्ध डेरी उद्योग गएको साउन महिनाबाट सञ्चालनमा आएपनि औपचारिक रूपमा शुक्रबार उद्घाटन गरी नियमित संचालनमा आएको छ । कर्णाली प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट एक करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित एक करोड ६७ लाख लागतमा उक्त डेरीको स्थापना भएको हो । हाल उक्त डेरीले स्थानीय दूध संकलन गरी सुर्खेतमा ल्याएर विक्रि गर्ने गरेको छ ।

डेरीको उद्घघाटन कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाही र उपप्रमुख तारा शाही लगायतले संयुक्त रूपमा गरेका हुन् । उद्घघाटन समारोहमा बोल्दै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले किसानको आयआर्जन बढ्ने गतिविधि सञ्चालन गरेकोमा सहकारी संस्थालाई धन्यवाद दिए ।

उनले आगामी दिनमा आफुहरूले सहकारी र किसानलाई भरपुर सहयोग गर्न तयार रहेको बताउँदै किसानका उत्पादनको बजारीकरण गर्न सडक पुर्वाधार विकासमा ध्यान दिइने बताए । उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानका उत्पादनको बजारीकरण तीनवटै तहका सरकार मिलेर गर्नुपर्ने बताएइन् ।

मन्त्री केसीले प्रदेश सरकारले गरेको लगानीमा नागरिकलाई फाइदा हुनेगरी प्रतिफल दिँदा निकै उत्साहित भएर चामुण्डा पुगेको बताइन् ।  उनले भनिन ‘किसानले भैंसी पालेर जब दूध दिन सुरु गर्छ । त्यतिबेला उ उत्साहित भएर राम्रो राम्रो घाँस खोज्न जान्छ,’ ‘हामीले गरेको लगानीमा नागरिकको गोजीमा पैसा पर्ने प्रतिफल आउँदा मलाई कतिबेला यहाँ पुगुला लागेको थियो ।’ उनले किसान र कृषि पेसालाई सबैले सम्मानित पेसाको रूपमा बुझ्न आग्रहसमेत गरिन् ।

अब चामुण्डाबाट दैनिक हजारौं लिटर दूध बेच्न सुर्खेत लैजानुपर्ने बताउँदै मन्त्री केसीले सहकारीको सक्रियताले सरकारको लगानीले प्रतिफल दिएकोले संस्थालाई धन्यवाद व्यक्त गरिन् । उनले किसानलाई दुधमात्र नभई भैंसीको गोबरबाट तरकारी र अन्य नगदेबाली उत्पादन गर्न आग्रह गर्दै आफुहरूले किसानलाई पुरस्कृत गरेको बताइन् । साथै अब किसानलाई पेन्सन, किसानका उत्पादनको वीमा लगायत न्युनतम लागत मुल्य किसानलाई दिने लगायत कार्यक्रम गरिने समेत बताईन ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सहकारीको प्रशंसनिय सक्रियताको लागि धन्यवाद दिए । त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले नागरिकको जनजिविका र आयआर्जन बढाउनसक्ने उद्योग नगरपालिकामा संचालन जरूरी रहेको बताइन् ।

राष्ट्रिय सहकारी बोर्डका सदस्य तथा उक्त सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानका उत्पादन र बजारबीचमा पुलको काम गर्ने बताए । उनले किसानलाई उत्पादन गर्न आग्रह गरे । ‘तपाइहरू ढुक्कसँग उत्पादन गर्नुहोस् । तपाईका उत्पादनको बजारीकरण हामी गर्नेछौं’ उनले भने ।

अध्यक्ष रावतले किसानका उत्पादनको बजारीकरणको लागि तीन तहका सरकारले सडक पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै प्रत्येक वडामा एउटा संकलन केन्द्र स्थापना जरुरी रहेको बताए । कृषिजन्य उत्पादनको दररेट नगरपालिकाले कायम गरिदिए सोही मुल्यमा खरिद गरी सहकारीले विक्रि गर्ने बताए ।

तपाईको प्रतिक्रिया