होम आइसोलेसनमा रहेका संक्रमितबाटै संक्रमणको जोखिम

सुर्खेत, २८ भदौ ।

कर्णालीमा कोरोना संक्रमण रोक्न हरेक जिल्लामा लाखौ रकम खर्च गरेर आइसोलेसन बनाइएको छन् । तर पहुँचवाला कोरोना संक्रमितहरु भने ती आइसोलेसनसम्म पुग्दैनन् । अर्थात उनीहरु आनन्दले होम आइसोलेसन (आफ्नै घर) मा बस्छन् । तर होम आइसोलेसनमा सरकारी निकायले निगरानी नै गर्दैनन् । निगरानी नहुँदा संक्रमितहरुले खुलेआम भेटघाटमा निस्कने र परिवारभित्रै घुलमिल गर्दै आएका छन् । जसकाकारण होम आइसोलेसनमा रहेका संक्रमितबाटै समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

सरकारले लक्षण र स्वास्थ्य समस्या नभएका संक्रमितलाई होम आइसोलसनमा बस्न दिने निर्णय गरेको छ । आइसोलेसनको चाप घटाउन र आर्थिक भार कम गर्न होम आइसोलसन बस्न दिने निर्णय गरिएको हो । संक्रमितहरु होम आइसोलेसनमा बस्दा राज्यलाई खर्चको भार घट्ने देखिन्छ । तर संक्रमितमाथि निगरानी नहुँदा संक्रमण फैलिने जोखिम बढेको छ । बरु होम आइसोलेसनमा बसेकाहरुबाटै संक्रमण फैलिएको खण्डमा राज्यलाई लाखौ खर्च बढ्ने देखिन्छ । कर्णाली प्रदेशमा पनि पहुँचवाला होम आइसोलसनमा बस्दै आएका छन् । उनीहरुको आजसम्म कसैले रेखदेख गरेको छैन । होम आइसोलेसनमा बसेकाहरुको निगरानी हुन नसक्दा संक्रमितहरु नियमित काम र भेटघाट गर्दै आएका छन् ।

कोरोना संक्रमण रोक्न रिपोर्ट नेगेटिभ भएमात्रै नाकाबाट प्रवेश दिने, संक्रमित क्षेत्र सिल गर्ने, मास्क, सेनीटाइजर लगायतका आवश्यक सुरक्षा सावधानी अपनाइदै आएको छ । तर होम आइसोलेसनमा बसेकाको निगरानी नहुँदा संक्रमण तीब्र रुपमा फैलिने जोखिम बढेको हो । उसो त स्वास्थ्य सुरक्षाका हिसावले पनि संक्रमितहरु होम आइसोलेसनमा बस्नु जोखिमपूर्ण छ । कुनै पनि अवस्थामा जटिल समस्या आउन सक्ने खत्तरा भएका कारण होम आइसोलेसनमा बस्नु जोखिमपूर्ण मानिन्छ । आइसोलेसनमा बस्दा डाक्टरको नियमित र क्लोज निगरानी हुन्छ । तर होम आइसोलेसनका बसेकाहरुको न निगरानी गरिन्छ, न संक्रमितहरु डाक्टरसँग परामर्श गर्न नै पाउँछन् । स्वास्थ्यका हिसावले पनि होम आइसोलेसनमा बस्नु जोखिमपूर्ण देखिएको छ ।

‘जनप्रतिनिधि र समुदायले नै निगरानी गर्नुपर्छ’

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले भने होम आइसोलेसनमा बसेका संक्रमितहरुमाथि स्थानीय जनप्रतिनिधि र समुदायले नै निगरानी गर्नुपर्ने जनाएको छ । ‘संक्रमितको अवस्था कस्तो छ ? उनीहरु कसैको सम्पर्कमा गए÷नगएकोबारे जनप्रतिनिधि र स्थानीयले नै निगरानी गर्नुपर्छ’ जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधी वाग्लेले भने, ‘२१ दिन नवित्दै संक्रमितहरु अरुको सम्पर्कमा जाँदा संक्रमणको थप जोखिम बढ्छ ।’ संक्रमण फैलिन नदिन संक्रमित नै इमान्दार र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । संक्रमितको संख्या धेरै भएका कारण आफूहरुले घरघरमा पुगेर संक्रमितको अवस्था बुझ्न नपाएको वाग्लेले बताए ।

कार्यालयले स्वास्थ्य समस्या भएका र होम आइसोलेसनमा बसेका व्यक्तिलाईसमेत घरमै पुगेर औषधि उपलब्ध गराउँदै आएको उनको भनाइ छ । संक्रमित भएको २१ दिन नपुग्दै अरुको सम्पर्कमा पुग्ने, रिपोर्टको विश्वास नगर्ने, लकडाउनको पालना नगर्ने र स्वाव संकलनपछि अन्यको सम्पर्कमा जाने गैरजिम्मेवार नागरिकका कारण समुदायमा संक्रमण फैलिदै गएको छ । तराइका संक्रमित क्षेत्रबाट आउनेक्रम नरोकिएको र दशैं तिहार नजिकिएसँगै भारतबाट गाउँ फर्कनेको संख्या बढेको भन्दै अबको संक्रमण अझै फैलिने स्वास्थ्य कार्यालयको आँकलन छ । त्यस्तै सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सावधानी नपआउने व्यक्तिका कारण बृद्धअवस्थाका नागरिकमा संक्रमण फैलिने र मृत्युको संख्यामा बृद्धि हुनसक्ने कार्यालयले चेतावनी दिएको छ ।

सुर्खेतमा मात्रै ८२ जना होम आइसोलेसनमा

होम आइसोलेसनमा बस्नु जोखिमपूर्ण भए पनि सुर्खेतमा भने ८२ जना संक्रमित होम आइसोलेसनमा बसेको पाइएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वीरेन्द्रनगरमा ७९ जना र भेरीगंगा नगरपालिकामा तीन जना होम आइसोलेसनमा बसेका छन् । वीरेन्द्रनगरका चार जना होटल आइसोलेसनमा बसेको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनकाअनुसार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा एक जना, जुम्लाको चन्दननाथ नगरपालिकामा नौ जना होम आइसोलेसनमा छन् । कर्णाली प्रदेशका कालिकोट, दैलेख, जाजरकोट र सल्यानमा होम आइसोलेसनमा बस्नेको संख्या शुन्य छ ।

कर्णालीमा तीनसय ७५ जना सक्रिय संक्रमित

कर्णाली प्रदेशमा शनिबारसम्म तीनसय ७५ जना सक्रिय कोरोना संक्रमित छन् । संक्रमितमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात दुई सय १४ जना सक्रिय संक्रमित छन् । त्यस्तै दैलेखमा २३ जना, जाजरकोटमा सात जना, सल्यानमा १६ जना, रुकुमपश्चिममा आठ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै जुम्लामा ४९ जना र कालिकोटमा २० जना संक्रमित छन् । दैलेखमा भारतबाट आउने नागरिकको संख्या घटेसँगै संक्रमितको संख्या घटेको हो । समुदायस्तरमा संक्रमित फैलिएपनि संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

संक्रमित बढ्न थालेपछि दैलेखमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर मेसिन) समेत जडान गरिएको छ । त्यस्तै एक बेला संक्रमण शुन्य भएको जुम्लामा समुदायस्तरमा संक्रमण फैलिएपछि संक्रमितको संख्या थपिएको हो । त्यहाँ स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी लगायत स्थानीयमा संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला कोरोना परीक्षणका हिसावले नेपालमै दोस्रो स्थानमा पर्दछ । प्रतिष्ठानमा एक घण्टामै एक पटकमै हजार जनाको स्वाव परीक्षण गर्न सक्ने क्षमतको मेसिन र आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण गरिदै आएको छ ।

थुनुवासहित २१ जना संक्रमित थपिए

कर्णाली प्रदेशमा शनिबार तीन जना थुनुवा र आठजना सुरक्षाकर्मीसहित २१ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल कालागाँउ सुर्खेत÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई जना गरी २१ जनामा कोरोना थपिएका हुन । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये तीन जना बैंकका कर्मचारी छन् ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६ जना, दैलेख पाँच जना, बर्दियाका तीन जना, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक÷एक जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनबाट गरी १६ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया