प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परि भाषित गर्न उचित पनि हुँदैन । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं, तर अनुभव गर्न सक्छौं । हो त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन । प्रेमको कुरा हर कोहीले गर्छन्, तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।
यस्तै प्रेमको उदाहरणीय जोडी हुन् प्रेमप्रकाश देवकोटा र लक्ष्मी देवकोटा । आजभन्दा ३३ वर्षअघि वैवाहिक जीवनमा बाधिएका यो जोडीको प्रेम अहिले पनि उस्तै गहिरो अनि फराकिलो छ । एक अर्कालाई उति नै माया गर्छन्, जति सुरुवाती दिनमा गर्थे । वैवाहिक सम्बन्ध प्रेम र अन्तर आत्माको मिलनका निमित्त नै बनाइएको हो । त्यसलाई बढाउन प्रेम र लक्ष्मीले वैवाहिक सम्बन्ध गाँसे । हुन त प्रेमको परिभाषा खुला छ । प्रेम सबैले सबैलाई गरिन्छ, मान्छेदेखि वस्तुलाई समेत प्रेम गरिन्छ । तर, विवाह एउटा व्यक्तिसँग मात्र गरिन्छ, जो सामाजिक बन्धन हो ।
मागी विवाह
सबै जोडीको चाहना हुन्छ कि आफ्नो जोडीले आफूलेभन्दा बढी माया गरिदियोस् । देवकोटा एउटा यस्तो भाग्यमानी व्यक्ति हुन्, जसले आफूलेभन्दा बढी माया गर्ने श्रीमती पाए । त्यो समयमा प्रेमका दाईभाउजुको घरमा लक्ष्मी छिमेकीको नाताले आउने र जाने गर्थिन् । लक्ष्मीसँग उनको भेट दाईकै घरमा भएको थियो । सामान्य चिनजान थियो ।
बोलचाल हुन्थ्यो त्योभन्दा बढी उनीहरूबीचमा केही थिएन । त्यतिबेला देवकोटाले लक्ष्मीसँगै विवाह हुन्छ भन्ने कल्पनासमेत गरेका थिएनन् । तर, थाहै नपाइ उनीसँग माया बस्यो । उनीहरुको सामान्य बोलचाल र भेटघाटले कतिबेला दुवैमा एक अर्काेप्रति प्रेम बस्यो थाहा नै भएन । दुवैले एक अर्काेलाई मनमनै मन पराउन थालेका थिए । मुखले नै माया गर्छु भन्नु परेन । एकअर्काेले मन त पराए । तर, भागेर विवाह गर्ने आँट दुवैमा भएन । एकअर्काेलाई मन पराएको कुरा दुवैले आ–आफ्नो घरपरिवारलाई भने । दुवै परिवारले थाहा पाएपछि परिवारको सहमतिमा नै उनीहरूको २०४४ सालमा मागी विवाह भयो ।
छोरीलाई जस्तै माया
हरेक महिलाको सपना हो विवाह । विवाह गर्दा कस्तो हुन्छ होला ? कसरी अर्काेको घरमा बस्ने होला ? यस्तै अन्तरमनसँगको द्धन्द्धसँगै विवाहको सपना बुनिएको हुन्छ । माइतीमा सबैको प्यारी बने जस्तो घरको प्यारी बन्ने शौभाग्य विरलै मात्रा महिलाले पाउने गर्छन् । यस्तै भाग्यमानी हुन् लक्ष्मी पनि ।
विवाहपछि उनलाई घरमा पनि माइतीमा जस्तै माया मिल्यो । उनलाई केही फरक लागेन माइती र घर । हुन त विवाहपछि घरमा बुहारीलाई छोरी कै माया ममता दिए पनि माइतीको अभाव खट्की रहन्छ । तर, लक्ष्मीले विवाहपछि घरमा छोरीकै माया र ममता पाइन् । उनले भनिन्, ‘मलाइ विवाहपछि घरमा कहिल्यै माइतीको अभाव भएन, सासुले सधैं छोरीको दर्जामा राखेर हेर्नुभयो । त्यसैले पनि कहिल्यै पराइघरमा छु जस्तो लागेन ।’
सफलतामा लक्ष्मीको हात
तत्कालिन लाकुरी गाविस दैलेखमा जन्मिएका देवकोटाले वीरेन्द्रनगर बहुमुखी क्यापसमा पढ्दा– पढ्दै पढाइ छोडेर जागिरतिर लागे । उनले विद्युत प्राधिकरण जुम्लामा जागिर गर्न थालेका थिए । उनले शिक्षक सेवाको परीक्षा पनि दिएका थिए । शिक्षक सेवामा नाम निस्केपछि उनले विद्युतको जागिर छोडेर २०४६ सालमा शिक्षक पेसामा आवद्ध भए । सरस्वती प्रावि गरगरेबाट शिक्षक पेसा सुरु गरेका देवकोटाले एकवर्ष करैखोलाको विद्यालयमा पढाए । २०५० सालदेखि जनता प्रावि विद्यालय खोरियामा पढाउन सुरु गरेका देवकोटा अहिले भने अवकांश प्राप्त जीवन विताइरहेका छन् ।
उनी जनता प्राविकै प्रधानाध्यापक थिए । उनी शिक्षक पेसामा जुनजुन विद्यालयमा आवद्ध भए, सबै विद्यालयमा राम्रो काम गर्दै अगाडि बढे । उनी सफल हुनुमा लक्ष्मीको ठूलो हात छ । लक्ष्मीले घर व्यवहार सम्पूर्ण राम्रोसँग सम्हालेपछि देवकोटालाई आफ्नो कामलाई सहज र इमान्दारितापूर्वक निभाउन सजिलो भएको थियो । उनी भन्छन्, ‘मैले त श्रीमती भाग्यले पाएको हो, उनले मलाइ हरेक समयमा साथ दिँदै आइन् र सफल भएँ ।’
झगडा त परालको आगो न हो
मान्छेको जीवनमा प्रेम, स्नेह, माया र झगडा पनि सँगै जोडिएकै हुन्छ । झगडाले माया झन् प्रगाढ बन्दै जान्छ । प्रेम र लक्ष्मीको पनि कहिलेकाँही सामान्य झगडा हुने गर्छ । तर, त्यो झगडालाई मायाले एकैछिनमा बिर्साउँछ । उनीहरू भन्छन्, ‘श्रीमान् र श्रीमतीको झगडा त परालको आगो’ हा,े एकै छिनमा निभिहाल्छ ।’ सामान्य झगडालाई कहिल्यै ठूलो रूप दिन नहुने यो जोडीको भनाइ छ । लक्ष्मीभन्दा देवकोटा अलि बढी रिसाउने गर्छन् । तर, लक्ष्मी केही नबोलेपछि आफै एकैछिनमा शान्त भइहाल्छन् । जोडी एक अर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । लक्ष्मीले परिवारलाई सुखका साथ माया ममता दिएर राखेकी छन् ।
लक्ष्मीको त्यो बानी देवकोटालाई मनपर्ने गर्छ । देवकोटा भन्छन्, ‘उनले मेरो र परिवारको बढी चित्ता गर्छिन् त्यो बानी साह्रै मन पर्छ ।’ लक्ष्मीको अर्का कहिल्यै पनि घमण्ड नगर्ने बानी देवकोटालाई मनपर्ने गर्छ । देवकोटा घर बाहिर गएपछि समयमा नै घर पुग्ने गर्छन् । त्यो बानी भने लक्ष्मीलाइ मनपर्ने गर्छ । देवकोटाको झनक्क रिसाउने बानी भने लक्ष्मीलाई अलि मन पर्दैन ।
गिफ्ट आदानप्रदान
पहिलेको त्यो समय एक अर्काेलाई मन पराउँछु भन्नसमेत डराउने थियो । प्रेम गरे पनि व्यक्त कमै मात्राले गर्ने गर्थे । त्यसैमाथि विवाहपछि पनि परिवारको अगाडी खुलेर श्रीमान् श्रीमति बोल्नसमेत लाज मान्थे । एकअर्काको जन्मदिन र वर्षगाँठ कसरी मनाउने ? त्यो समयमा सम्भव पनि थिएन । तर, अहिले यो जोडी खुलेर एक अर्काको जन्मदिन र वर्षगाँठ मनाउने गर्छन् । त्यतिमात्र होइन, एकअर्कालाइ गिफ्ट पनि दिने गर्छन् । गिफ्ट दिन नसकेको समयमा मनपर्ने चिज किन्नु भन्दै पैसा नै दिने गर्छन् । दुवैले मिलेर घरको काम गर्छन् । देवकोटाले लक्ष्मीलाई घरको काममा फुर्सद भएसम्म सघाउने गर्छन् ।
सम्बन्धको कडी विश्वास
माया, प्रेम जति गर्छु भने पनि एकअर्काेमा विश्वास छैन भने त्यो सम्बन्ध धेरै समय टिक्न सक्दैन । माया, प्रेम टिकाउने कडी हो विश्वास । उनीहरुका अनुसार दाम्पत्य जीवन सफल बनाउन एकअर्काेमा दरिलो विश्वास हुनुपर्छ । एकले अर्काेको भावनाको कदर गर्नु जान्नु पर्छ ।
एकअर्कामा जबसम्म विश्वास हुँदैन, तबसम्म दाम्पत्य जीवन सफल र सुखमय हुन सक्दैन । एकअर्काको भावना बुझेर कदर गर्न सकेमा मात्र सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ । श्रीमान, श्रीमतीले आफ्नो व्यावहारिक विचारधारालाई एकआपसमा आदान प्रदान गरेर सफलता प्राप्त गर्छन । कुनै पनि काम गर्दा तेरो मेरो नभनी आपसी समझदारीमा गर्नु राम्रो हुन्छ । जसले गर्दा श्रीमान् र श्रीमतीबीचको सम्बन्ध प्रगाढ बन्छ । (२०७७ भदौं २७ गते शनिबार युगआव्हान राष्ट्रिय दैनिकको हाम्रो प्रेम स्तम्भमा प्रकाशित)
युग संवाददाता । । २८ भाद्र २०७७, आईतवार ०५:५१