सोती घटना : धरौटीमा छुटेकाहरुको सक्कल मिसिल मगाउन उच्च अदालतको आदेश

सुर्खेत, २८ भदौ ।
रुकुम पश्चिम, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा उच्च अदालत सुर्खेतले बालसुधार र पुर्पपक्षका लागि थुनामा रहेका २२ जनाको ‘सुरु सक्कल मिसिल’ मगाउने आदेश दिएको छ । घटनापछि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुट मुद्दामा बाल सुधारमा रहेका २ र पुर्पपक्षका लागि थुनामा रहेका २० जनाका पारिवारिक सदस्यहरुले उच्च अदालत सुर्खेतमा सरकारविरुद्ध निवेदन दिएका थिए ।

निवेदनको सुनुवाई गर्नेक्रममा बिहीबार उच्च अदालत सुर्खेतले उनीहरुको ‘सुरु सक्कल मिसिल’ झिकाउन जिल्ला अदालत रुकुमलाई आदेश दिएको हो । अदालत स्रोतका अनुसार अदालतको आदेश इमेलमार्फत जिल्ला अदालत रुकुम पठाइसकिएको छ तर हुलाक बन्द रहेकाले मिसिल आउने समय निश्चित छैन । यस्तै जिल्ला अदालत रुकुमले सोही मुद्दा खेपेका तीन जनालाई साधारण तारेख र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध पनि सरकारले उच्च अदालत सुर्खेतमा निवेदन हालेकोमा उनीहरुको पनि ‘सुरु सक्कल मिसिल’ जिल्ला अदालत रुकुमबाट मगाउन उच्च अदाललत सुर्खेतले आदेश दिएको छ । घटनामा संलग्न भएकाहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै मुनलाल नेपालीबाट जाहेरी दर्ता भएको थियो । जिल्ला अदालत रुकुममा घटनामा संलग्न ३४ जनाविरूद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दा दायर गरिएको थियो ।

गत जेठ १२ गते अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको भनिएको घटनामा मृत्यु भएको ६ जनामध्ये ४ जना दलित समुदायका थिए। ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो । घटनाबारे गृहमन्त्रालयद्वारा गठित समिति, संसदीय समिति, राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय टोली, जिल्ला प्रहरी कार्यालयलगायतले अनुसन्धान गरेका थिए ।

यी निकायले गरेको अनुसन्धानबाट उस्तै निष्कर्ष निस्किएपछि प्रहरीले घटनामा संलग्न भएकाहरुविरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको मुद्दा सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत रुकुममा दायर गरेको थियो । यो घटनालाई लिएर संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत विज्ञप्ति निकालेको थियो ।

जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकले १९ जना साथीसहित रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी आफ्नी प्रेमीका भगाउन खोज्दा केटीपक्षले दलितलाई छोरी नदिने भन्दै उनीहरुलाई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएको आरोप लगाइएको छ ।केटी पक्षले भने कोरोना संक्रमणको महामारी फैलिरहेको र लकडाउन भएको अवस्थामा ठूलो संख्यामा आएका केटाहरुलाई सोधपुछ गर्दा गर्दै घटना भएको दाबी गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया