निजी विद्यालयले शिक्षकलाई तलब दिएनन्

सल्यान, २८ भदौ ।
सल्यानका विद्यालयहरूले कोरोना महामारीलाई कारण देखाउँदै ६ सयभन्दा बढी शिक्षकलाई तलब दिएका छैनन् । लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षकहरुले तलब नपाएका हुन् । सल्यानमा प्याब्सन र एन प्याब्सन मातहतमा झन्डै ४० बोर्डिङ स्कुल सञ्चालनमा छन् ।

बन्दाबन्दीका कारण विद्यालयहरु बन्द भएपछि आफुहरु आर्थिक संकटमा परेको ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल, बागचौरका प्रिन्सिपल इन्द्रबहादुर भण्डारीले बताए । उनले भने, ‘विद्यालयका १७ जना शिक्षकले चैत देखि तलब पाएका छैनन्, बोडिङ स्कुलका प्रिन्सिपल इन्द्र बहादुर भण्डारीका अनुसार चैतको पहिलो सातादेखि वार्षिक परीक्षा सुरु गरी वर्षको अन्तिमसम्म सबै आर्थिक कारोबार समेत सकेर तलब खुवाउने गरेको विद्यालयले चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि सबै काम ठप्प पारेका छन् ।’

विद्यालयले दिने न्यून तलबबाट घर खर्च चलाउने गरेका शिक्षकहरु यतिखेर बेरोजगार बनेको शिक्षक तारादेव शर्माले बताए । उनले भने, ‘मासिक रुपमा पाउँदै आएको तलब नै आउने बाटो बन्द भएपछि दैनिक जीवनयापन गर्न समस्या भएको छ ।’ जिल्लाको शारदा नगरपालिका–३ मा रहेको एमएम एकेडेमीका शिक्षकले पनि चैतदेखि तलब पाएका छैनन्।

स्कुलका प्रिन्सिपल पूर्णबहादुर बस्नेतका अनुसार २२ जना शिक्षक रहेको उक्त विद्यालयमा आम्दानीको स्रोत नै बन्द भएपछि तलब खान र खुवाउनै समस्या भएको छ। उनले भने, ‘विद्यालयको आम्दानी हुने ठाउँ छैन। पाँच महिनादेखि तलब दिन सकिएको छैन ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सल्यानका अध्यक्ष जीत बहादुर भण्डारीका अनुसार जिल्लाका प्याब्सन मातहतका २० विद्यालयका करिब ३ सय शिक्षक लकडाउनका कारण प्रत्यक्ष प्रभावित छन् । सल्यानजस्तो क्षेत्रमा अनलाइन कक्षा पनि सम्भव नभएकाले धेरैको रोजीरोटी समस्यामा परेको उनले बताए ।

एनप्याब्सन सल्यान अध्यक्ष कमल थापाले लामो समयसम्मको लकडाउनका कारण विद्यालय टिकाउनै समस्या भएको बताए । उनले भने, ‘सरकारले पनि निजी विद्यालयलाई टिकाउन विशेष प्याकेज ल्याउन जरुरी छ, सरकारी विद्यालयका शिक्षकले नपढाएर तलब पाउने, तर निजी विद्यालय विस्थापित हुनुपर्ने कस्तो दुर्भाग्य !’

तपाईको प्रतिक्रिया