बालबालिकालाई घरमै सिकाइ सामग्री

कालीकोट, २८ भदौ ।
चैतदेखि विद्यालय नदेखेकी खाँडाचक्र नगरपालिका–४ ताडीकी ८ वर्षीया कोपिला विश्वकर्मा बिहीबार पाठ्य सामग्री पाउँदा खुसी भइन् । ३ कक्षामा अध्ययनरत कोपिलाले भनिन्, ‘दिउँसो भाइबहिनीलाई हेर्नुपर्छ, छकाल– बाहा (बिहान–बेलुकी) पढ्न पाइने भयो ।’ पुराना किताब च्यातिएकोले चैतपछि किताब देख्न नपाएको उनले बताइन् ।

कोरोना कहरका कारण विद्यालय बन्द भएपछि घरमै बसिरहेका बालबालिकालाई पठन सामग्री वितरण गरिएपछि उनीहरु खुसी भएका छन् । विद्यालय गएर पढ्न नपाए पनि घरमै नयाँ पुस्तक पाउँदा पढ्नतिर ध्यान गएको उनीहरुको भनाइ छ । नवज्योति आधार भूत विद्यालयमा अध्ययनरत कोपिलाले पुस्तकसँगै लेखन सामग्री पाएपछि खोलेर चित्र हेरेकी थिइन् । ‘चित्रमा साबुन– पानीले हातधुने तरिका लेखिएको रहेछ,’ उनले भनिन्, ‘तरकारी खेती, चाडपर्वका कुरा पनि लेखिएका रहेछन् ।’

खाँडाचक्र नगरपालिको यूनिसेफको सहयोगमा बालविकास केन्द्रमा अध्ययनरत कक्षा ३ सम्म अध्ययनरत १ सय ४३ जनालाई सामग्री वितरण गरेको हो । प्रधानाध्यापक रामबहादुर बोगटीले विद्यालय बिदा भए पनि विद्यालयले टोलटोलमै पुगेर सामग्री वितरण गरेको बताए ।

नगरपालिकाको नवज्योतिसहित पञ्चदेव मावि, चुलिमालिका मावि, कालिका मावि, मेघमति आवि, जनप्रभात मावि, लिगासैनी मावि, प्रगतिशील मावि, कुलदेव मावि, विजोशी मावि र कर्णाली माविको सेवा क्षेत्रका बालबालिकालाई सिकाइ सामग्री दिएको हो । खाँडाचक्रका नगर शिक्षा शाखा प्रमुख जसीप्रसाद चौलागाईँले घरमा पठनपाठनको वातावरण नभएका, पाठ्यसामग्री अभाव भएका बालबालिकालाई सिकाई सामग्री दिइएको बताए ।

कोरोना कहरमा क्वारेन्टाइन बनाइएका रास्कोट नगरपालिकाका ९ विद्यालयमा पनि सिकाइ सामग्री दिइएको छ । महावै गाउँपालिकाका १८ वटा विद्यालयमा अध्ययनरत १ हजार ३ सय २९ जना बालबालिकालाई पनि झोलासहितका सिकाइ सामग्री उपलब्ध गराइएको स्रोतव्यक्ति परेकबहादुर शाहीले बताए । कालीकोटका ९ वटै स्थानीय तहमा रहेका ५६ विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाका अनुसार अहिले सबै विद्यालयमा रहेका क्वारेन्टाइन हटाइसकिएका छन् ।

तपाईको प्रतिक्रिया