वीरेन्द्रनगरकाे प्रगति : एक वर्षमा दुईसय मिटर सडक कालोपत्रे

प्रदेश राजधानी रहेको शहर भएकाले पनि वीरेन्द्रनगरले भौत्तिक विकासमा नमूना काम गर्नुपर्ने हो । वीरेन्द्रनगरले राम्रो काम गर्न सके प्रदेशका अन्य स्थानीय तहले पनि त्यसको सिको गर्न सक्छन् । तर वीरेन्द्रनगरको भौत्तिक विकास सन्तोषजनक देखिएको छैन ।

सुर्खेत, २७ भदौ ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । प्रदेशको राजधानी भएका कारण पनि अन्य क्षेत्रको तुलनामा वीरेन्द्रनगरको विकास निर्माण तीव्र गतिमा हुनुपर्ने हो । तर पछिल्लो एक वर्षमा नगरपालिकाले भौत्तिक विकास अपेक्षा अनुसार गर्न सकेन । प्रदेश राजधानी समेत रहेको भए पनि यो नगरपालिकाको पूर्वाधार निर्माणमा अलमल देखिएको छ ।

अन्य जिल्लाभन्दा सुगम भए पनि वीरेन्द्रनगरको भौतिक प्रगति सन्तोषजनक छैन । वितेको आर्थिक वर्षमा नगरपालिकाको तथ्याङ्क अनुसार पूर्वाधारतर्फ पक्की सडक निर्माणको प्रगति न्यून छ । गत आर्थिक वर्षमा वीरेन्द्रनगरले जम्मा दुईसय मिटर मात्रै सडक कालोपत्रे गरेको हो ।

भौत्तिक प्रगति गर्न नसकेको नगरपालिकाले विभिन्न कारण देखाएको छ । सडक कालोपत्रे गर्ने समयमा कोरोना भाइरसले लकडाउन भएका कारण दुईसय मिटर मात्रै कालोपत्रे भएको वीरेन्द्रनगर नगरपालिकाको योजना शाखाका सहायक धनबहादुर खत्रीले जानकारी दिए । ‘हरेक वर्ष चैत बैशाखमै सडक कालोपत्रे गरिन्छ’ उनले भने, ‘कोरोनाका कारण चैतमै लकडाउन भएपछि सडक कालोपत्रेको काम हुनै पाएन ।’

प्रदेश राजधानी भएका हिसावले वीरेन्द्रनगरका हरेक सडकहरु कालोपत्रे हुन आवश्यक भए पनि कोरोनाकै कारण अघिल्लो आर्थिक वर्षमा सडकको काम सन्तोजनक हुन नसकेको उनको भनाइ छ । राजधानीमा बढ्ने सवारीको चापलाई मध्ययनगर गर्दै वीरेन्द्रनगरका सबै सडकहरु पक्की बनाइनुपर्ने उनको तर्क छ । सडक पूर्वाधारमा प्रदेश सरकारले लगानी बढाएका कारण वीरेन्द्रनगरका अधिकाँश सडकहरु स्तरोन्नती हुने नगरपालिको जनाएको छ ।

चालु आर्थिक वर्षभित्र वीरेन्द्रनगरका मुख्य र सहायक सडक गरेर तीन दर्जन बढी सडकहरु स्तरोन्नती हुने नगरपालिकाको भनाइ छ । कोरोनाका कारण चैत, बैशाख र जेठमा लकडाउन भएपछि विकास निर्माणका काम ठप्प भएको थियो । यद्यपी जेठदेखि वीरेन्द्रनगर गरपालिकाले विकास निर्माणलाई निरन्तरता दिने प्रयास गरेको थियो ।

नगरपालिकाले विकास निर्माणका निरन्तरता दिन स्थानीय प्रशासनले विकास निर्माणमा खटिने मजदुर र सवारी साधनलाई पास उपलब्ध गराएको थियो । तर जनशक्ति र निर्माण सामाग्री अभावका कारण सडक कालोपत्रे गर्न नसकिएको नगरपालिकाले जनाएको छ । राजधानी भए पनि वीरेन्द्रनगर भित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षातमा हिलाम्य हुँदै आएका छन् ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाभित्र ४० वटा सडकको स्तरोन्नती थालेको थियो । पुस दोस्रो सातादेखि सडकको स्तरोन्नती थालेको पूर्वाधार विकास निर्देशनालयले पनि कोरोनाकै कारण अधिकाँश सडक अधुरै राखेको थियो ।

पूर्वाधार निर्माण नगरपालिका र प्रदेश सरकारले चासो नदिँदा सडक, खानेपानी र विद्युत् आपूर्तिमा बर्षाैदेखि समस्या हल हुन सकेको छैन । वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारको अलमलका कारण राजधानी वीरेन्द्रनगर शहरको मुहार फेरिएको छैन । यता कर्णाली प्रदेश सरकारले पनि चालु आर्थिक वर्षमै वीरेन्द्रनगरमा मात्रै ३६ ओटा सडक निर्माण गर्ने जनाएको छ । उपत्यकाभित्र प्रदेश राजधानी शहरी सडक, जनता सडक र जनता सडकमा तीन विभिन्न ३६ सडक निर्माण गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत सडक कालोपत्रे र ४० प्रतिशत सडकहरु स्तरोन्नती गरिने पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

५४ किलोमिटर नयाँ सडक
गत आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले साढे ५४ किलोमिटर नयाँ सडक बनाएको छ । १६ वटा वडाका विभिन्न क्षेत्रमा गरी ५४ किलोमिटर नयाँ सडक निर्माण गरिएको हो । वीरेन्द्रनगरका हरेक टोलमा सडक पूर्वाधार पु¥याउने लक्ष्य अनुसार नयाँ सडक निर्माणलाई प्राथमिकता दिइएको नगरपालिको जनाएको छ ।

नगरपालिकाले उपत्यकाभन्दा बाहिरी वडामा नयाँ सडक बनाउने र उपत्यकाका सडकको स्तरोन्नती गर्ने रणनीति लिएको छ । वडा र नगर गौरवका आयोजना अन्तरगत नयाँ सडक निर्माण गरिएको हो । त्यस्तै विभिन्न वडाका लागि साढे १७ किलोमिटर सडक ग्राबेल गरिएको छ । पूर्वाधार कार्यक्रमतर्फ साढे १० किलामिटर पक्की नाला निर्माण गरिएको छ । गत वर्षमा २० वटा कल्र्भटसहित र ह्वुमपाइप राखिएको छ ।

२५ वटा खानेपानी आयोजना
त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा विभिन्न स्थानमा गरी पाँच वटा सार्वजनिक शौचालय निर्माण गरेको छ । मानिसको अत्याधिक भिड हुने र पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिएको हो । जसमा वीरेन्द्रनगर नगरपालिका र संयूक्त राष्ट्र् संघ विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाभित्र पाँच स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निमार्ण गरिएको हो ।

नगरपालिकाका अनुसार वडा नं. ६ वसपार्कको पश्चिम तथा वडा नं. ८ बुलबले प्रवेशद्वारको उत्तर (महिला प्रशिक्षण केन्द्रको पश्चिम) लगायतका स्थानमा सौचालय निर्माण गरिएको हो । सार्वजनिक स्थानमा शौचालय नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नु परेको थियो । सार्वजनिक शौचालयको समस्या देखिएपछि वीरेन्द्रनगर नगरपालिकाले केही वर्ष पहिले एउटा घुम्ती शौचालयको व्यवस्था सञ्चालन गरेको थियो । तर केही समयमै घुम्ती शौचालय सञ्चालन गर्न सकेको थिएन ।

त्यस्तै विभिन्न वडामा गरी २५ खानेपानी आयोजनाको काम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । खानेपानी आयोजना अन्तरगत पाइप खरिद, ट्याङ्की तथा धारा र कुवा निर्माण गरी २५ वटा खानेपानी योजनाहरु सम्पन्न गरिएको हो । पूर्वाधार निर्माण अन्तरगत नै ३३ कोठा थप गरिएको छ । विभिन्न वडा कार्यालय तथा विद्यालयको गरी ३३ वटा कोठा थप गरिएको हो ।

तपाईको प्रतिक्रिया