न टिपियो यार्सा, न गइयो भोट

मुगु, २६ भदौ ।
मुगुम कार्मारोङ गाँउपालिका –१ का छिरिङ्ग तामाङको पाँचजनाको परिवार हरेक वर्ष यार्सा संकलनमा निस्कन्थ्यो । यार्सा बिक्री गरेर आएको रकमले तिब्बतको ह्याचीमारमा लाग्ने हाटबजारबाट वर्षभरी पुग्ने खाद्यन्न र लत्ताकपडा खरिद गर्थे उनीहरु । सोही गाउँपालिका–५ का टासी तामाङको परिवारले पनि यार्सा सकंलनबाट आएकै आम्दानीले तिब्बतमा लाग्ने हाटबजारबाट खाद्यन्न र अन्य सामग्री ल्याएर जीविकोपार्जन गथर््यो ।

यार्साकै आम्दानीले परिवार पाल्ने छिरिङ्ग र टासी मात्र नभइ मुगुम कार्मारोङ गाँउपालिकाका १ देखि ९ वडाका एक हजार दुई सय घरधुरी यार्साकै भरमा घर खर्च चलाउँछन् । यो गाँउपालिकाको मुख्य आयश्रोत भनेकै यार्सागुम्ब हो । यार्सागुम्बु संकलनबाट आएको आम्दानीले यहाँका स्थानीयबासी साउनको दोस्रो सातादेखि भदौको दोस्रो सातासम्म तिब्बतको ह्याचीमारमा लाग्ने हाटबजारबाट वर्षभरी पुग्ने खाद्यन्न लत्ताकपडासहित अन्य सामग्री पशुचौपायमार्फत ढुवानी गरेर ल्याउँथे ।

यो वर्ष कोरोनाका कारण सरकारले यार्सा संकलनमा रोक लगाएको छ । संकलनमा रोक लगाएसँगै यहाँका स्थानीयको मुख्य आयश्रोत नै गुमेको छ। तिब्बत सरकारले समेत यो वर्ष हाटबजार बन्द गरेकाले मुगुम कार्मारोङ गाँउपालिकाका स्थानीय परिवार पाल्ने चिन्तामा छन् । जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म मुगुम कार्मारोङ गाँउपालिका–१ र २ वडाको अग्ला अग्ला पाटन क्षेत्रमा पुगी यार्सा संकलन गर्थे । आम्दानी रकमले तिब्बतको ह्याचीमोरामा लाग्ने हाटबजारबाट आवश्यक सामान खरिद गरी यो बेला घर पुगिसकेका हुन्थ्ये ।

कोरोना भाइरसका कारण यार्सा संकलन गर्न पाइएन । यार्सा संकलन नै यहाँका स्थानीयको मुख्य आयश्रोत हो । आयश्रोत नै बन्द भएपछि परिवारको पेट पाल्न धौ धौ भएको मुगुम कार्मारोङ गाँउपालिका–४ का पेमा छिरिङ्ग तामाङले बताए । यार्साबाट आएको नगद आम्दानीसहित काठ, निगालोबाट बुनेका सामग्री, सुकाएका फलफूल, रातो चामल, खुर्सानी, चाँदीबाट बुनेका सामग्री र पशु चौपाया समेत लिएर तिब्बतीसँग साटासाट समेत गर्थे ।

यस्ता जिन्सी सामन भोट जान नपाएपछि घरमै थुपारिएर राख्नु परेको सोही गाँउपालिका–१, का कार्मा नोर्बु तामाङ बताउँछन् । जेठ १५ गते देखि असार १५ सम्म यार्सा संकलन गरिसकेपछि तिब्बतीले मुगु गाँउका स्थानीयलाई हाटबजार लाग्ने समयको जानकारी पठाउँथे ।

तपाईको प्रतिक्रिया