यस वर्ष लाप्चा लेकबाट मानसरोवर कैलाश दर्शन गर्न सुरु

हुम्ला, २६ भदौ ।
यस वर्ष पबित्र धार्मिक स्थल मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चाबाट गर्न सुरु भएको छ । यसअघि कोरोना त्रास र मौसम प्रतिकुल हुँदा मानसरोवर कैलाशको दर्शन गर्न नसकिएको अबस्थामा भदौ दोस्रो साताबाट मौसममा सुधार आउदा त्यो सम्भव भएको हो ।  नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको लाप्चा लेकबाट पहिलो पटक नेपाली भुमिबाट मानसरोवर कैलाशको दर्शन गर्नु पाएका चलचित्र कालो पोथीका निर्देशक मिन बहादुर भामले यो अबसर कसैलाई नछुटाउन आग्रह गरेका छन् ।

करिव पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मौसम सफा भए स्पष्ट रुपमा कैलाश पर्वत र मानसरोवर ताल स्पष्ट देखिन्छ । मानसरोर कैलाशको दर्शन गर्न र लिमी भ्यालीमा फिल्मी लोकेशन हेर्न गएका निर्देशक भामले आफ्नै भूमिबाट दर्शन गर्नुको मज्जै अर्कै हुने बताए । कैलाश पर्वतको चुचुरो र ताल एक साथ देखिने भएको कारण आन्तरिक पर्यटकहरु जाने गर्छन् ।

त्यस्तै लाप्चा लेक पुगेर मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले कोरोना संक्रमणका बेला आफ्नै भुमिबाट मानसरोवर कैलाशको दर्शन गर्न पाइएको बताए ।  यसको प्रचार प्रसार र प्रबद्र्धन गर्न सके यसबाट गाउँपालिकाले पनि राम्रो फाईदा लिन सक्नेतर्फ हमालले जोड दिए ।

मौसम खुल्ने सिजन सुरु भएको कारण भदौ पन्ध्र पछि तीन वटा आन्तरिक पर्यटकहरुको समुहले मानसरोवर कैलाशको दर्शन गरिसेका छन् । केही समुहले दर्शन गर्न जाने तयारी गरी रहेका छन् । अब मौसम सफा हुने समय सुरु भएकोले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन कात्तिक महिनासम्म गर्न सकिनेछ । यसलाई गाउँपालिका र कर्णाली प्रदेश सरकारले व्यवस्थित बनाउन सके पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढी रहेको छ । लाप्चा जाने बाटोमा पर्यटकहरुले जङ्गली जनावरहरुलाई पनि देख्न पाउछन् ।

तपाईको प्रतिक्रिया