एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन ल्याइँदै

काठमाडौं, २५ भदौ ।

अमानवीय र जघन्य अपराध गर्ने दोषीलाई कारबाही गर्न कडा कानुन ल्याइने भएको छ। एसिड प्रहारबाट पीडित भएकाहरूबाट माग भएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत नयाँ कानुन ल्याउने बताएका हुन्। त्यसका लागि १५ दिनभित्रै कानुनको मस्यौदा तयार पार्न प्रधानमन्त्री ओलीले कानुन मन्त्रीसहित सम्बद्ध निकायलाई निर्दैशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

देशका विभिन्न भागमा भएका एसिड आक्रमणका घटनामा पीडित भएका १२ जनासँग आज कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गरिने कानुन तत्कालै बनाउने आश्वासन दिएका हुन्। प्रधानमन्त्री ओलीले एसिडपीडितहरूको वीर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको प्रबन्ध गर्ने, सम्पूर्ण उपचार खर्च ब्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधि उपलब्ध गराउने सबै काम सरकारले गर्ने समेत घोषणा गरे।

एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा त्यसको खर्च ब्यहोर्नुका साथै उचित रोजगारी र जीविकाको प्रबन्ध पनि सरकारले नै गर्ने पनि प्रधानमन्त्रीको भनाइ रहेको प्रेस सल्लाहकार थापाले फेसबुकमार्फत जानकारी दिएका छन्। त्यस्ता पीडितलाई सहुलियतमा ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने पनि प्रधानमन्त्रीले सो अवसरमा जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले १० सेप्टेम्बरलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरी अघि बढ्न समेत सबैलाई आब्हान गरेका छन्। एसिड पीडितहरुलाई प्रधानमन्त्री ओलीले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार लागिपर्ने आश्वस्त पार्दै हरेस नखाएर अघि बढ्न सुझाएका थिए। थापाका अनुसार नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा १९ जना एसिड पीडित छन्।

तपाईको प्रतिक्रिया