सम्पादकीयः दलहरुको जिम्मेवारी

यतिबेला देश कोरोना महामारीसँग जुधिरहेको छ । अर्थतन्त्र कमजोर बनेको छ । नागरिकहरु त्रासमा छन् । कोरोना संक्रमणको दर बढ्दो छ । यस्तो अवस्थामा जिम्मेवार राजनीतिक दलका क्रियाकलापहरु भने महामारीलाई गिज्याउने खालका छन् । विशेषगरी कर्णालीका जिल्लामा दलहरुले वेमौसमी बाजा बजाइरहेका छन् । यो बेला संवेदनशिल बन्ने हो । नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुने हो । नागरिकलाई कोरोना संक्रमणबाट जोगाउने र उनीहरुलाई यसबाट सुरक्षित बनाउने गरी सचेतना फैलाउने समय हो । तर सत्तारुढ नेकपा र विपक्षी काँगे्रेसले नै नागरिकलाई संक्रमणको खतरामा डुवाउने गतिविधि गरिरहेका छन् । महामारीको समयमा पनि दलहरुले चुनावी अभियान जस्तै गाउँ र टोलसम्म पुगेर कार्यकर्ता भेला, जमघट र कार्यक्रमहरु गरिरहेका छन् । कार्यकर्ता प्रवेश गराउने होडबाजीका कारण गाउँसम्म कोरोना फैलिने जोखिम पनि बढेको छ । वास्तवमा यो नागरिकको स्वास्थ्यमा दलहरुबाट भएको खेलवाड र लापरबाही हो ।

कोरोना संक्रमणबाट बच्न स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने हो । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्दछ । तर दलहरुले सुर्खेतका गाउँहरुमा दिनहुँ सार्वजनिक कार्यक्रमहरु गरिरहेका छन् । जहाँ मानिसहरुलाई भेला पार्ने गरिएको छ । जिम्मेवार नेताहरुले नै मास्क नलगाउने र सामाजिक दुरी पनि कायम नगरेको देखिएको छ । यसले कोरोना महामारीलाई नै गिज्याउने काम गरेको छ । कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने नाममा संक्रमणको जोखिम बढाउने काम भएको छ । सर्वसाधारणलाई लकडाउन र निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले यसतर्फ किन ध्यान नदिएको ? के पार्टी प्रवेश गराउँदा कोरोना नसर्ने हो ? वा दलहरुका लागि यो सबै गर्न छुट छ । यसतर्फ स्थानीय प्रशासन गम्भिर बन्नै पर्दछ । आज जिल्ला तहका मुख्य नेता र अधिकांश सांसदहरु नै संक्रमित बनेका छन् । यसकारण नेताहरु सुरक्षित छनु भन्न सकिने अवस्था छैन । हाल भइरहेका लापरबाहीले गाउँसम्म संक्रमण नफैलिएला भन्न सकिने अवस्था छैन । नेताहरु सदरुमकाम आउने र गाउँ जाने गर्दा संक्रमणको जोखिम पनि गाउँसम्म पुग्ने खतरा कायमै छ ।

राजनीतिक दलका लागि संगठन विस्तार गर्ने र कार्यकर्तामाझ जाने यो समय उपयुक्त होइन । महामारी कम भएको अवस्थामा पनि भोलीका दिनमा राजनीतिक गतिविधि गर्न सकिन्छ । यसकारण पनि अहिलेको अवस्थामा भइरहेका दलहरुका सार्वजनिक गतिविधिहरु बन्द गर्नु पर्दछ । दलहरुकै कारण भोली गाउँमा संक्रमण फैलियो भने यसको अवस्था के होला ? यसैले नागरिकको जीवनरक्षा भन्दा दलका कार्यक्रम हुन सक्दैनन् । कार्यकर्ता वा जनताको ज्यान नै जोखिममा पारेर दलहरुले कसका लागि राजनीति गर्ने हो ? यदी राजनीति नागरिकका लागि नै हो, नागरिककै हितका लागि दलहरुले चाहेका हुन् भने उनीहरुको स्वास्थ्यप्रति जिम्मेवार बन्नै पर्दछ । स्थानीय प्रशासनले पनि दलहरुका क्रियाकलापहरुलाई तत्कालका लागि बन्द गराउन आवश्यक छ । महामारीमा नागरिकलाई ज्यानको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता र त्रास रहेका बेदा दलहरुले कार्यकर्ता पार्टीमा प्रवेश गराउने जुन प्रतिस्पर्धा गरेका छन्, यो समय र परिस्थिति अनुसार सहाउँदा छैनन् ।

तपाईको प्रतिक्रिया