कर्णालीमा एकसय ३० वटा विद्यालयका भवन निर्माण अधुरै

सुर्खेत, २४ भदौ ।

कर्णाली प्रदेश अधिकांश विद्यालयका भवनहरु अहिले पनि जीर्ण अवस्थामा छन् । वर्षौंअघि निर्माण भएका विद्यालयका ति भवन कोही चुहिने र कोही कुनै पनि बेला भत्किने अवस्थामा छन् । जसका कारण विद्यार्थी र शिक्षकले त्रासित भएर कक्षामा बस्नुपर्ने बाध्यता छ । शिक्षा प्रणालीमा भएको फेरवदलसँगै विद्यालयमा कक्षाहरु पनि थपिएका छन् । यसअघि कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा अहिले कक्षा ८ सम्म, कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा कक्षा १० र १० कक्षासम्म पढाइ हुने विद्यालयले कक्षा १२ सम्मको पढनपाठन गर्नुपर्ने अवस्था आएको छ । तर यसरी कक्षाहरु थप हुँदा विद्यालयमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । तर पनि कर्णालीमा निर्माणाधिन अधिकांश भवनहरु अधुरै छन् ।

पहिलेभन्दा माथिल्लो तह पढाइ हुने अधिकांश विद्यालयमा प्राप्त भवन छैनन् । भवन अभावका कारण कक्षा व्यवस्थापन गर्न विद्यालय नेतृत्वलाई हेम्मेहम्मे परेको छ । यही समस्या सामाधानका लागि गत आर्थिक वर्ष २०६६÷०७७ मा कर्णाली प्रदेश सरकारले कर्णालीका एकसय ८७ वटा विद्यालयमा भवनको निर्माण कार्य अघि बढायो । जसमध्ये एकसय पाँच वटा विद्यालयका दुईकोठे भवन र ८२ वटा ६ कोठे भवन निर्माण थालिएको थियो । तर वर्षमा ५७ वटा विद्यालयको भवन मात्रै सम्पन्न भएका छन् । बाँकी एकसय ३० वटा विद्यालयका भवन भने अधुरै रहेका छन् ।

शिक्षा विकास निर्देशनाल कर्णाली प्रदेशको तथ्याङ्क अनुसार दुईकोठे भवन निर्माण थालिएका एकसय पाँच वटा विद्यालयमध्ये ३५ वटा विद्यालयको मात्रै भवन निर्माण सकिएको छ । त्यस्तै ६ कोठे भवन निर्माण थालिएका ८२ वटा विद्यालयमध्ये २२ वटा विद्यालयमा मात्रै भवन निर्माण सकिएको हो । यता शिक्षा विकास निर्दशनालयले भने कोरोना भाइरसको महामारीका कारण भवन निर्माण सम्पन्न हुन नसको बताएको छ । ‘कोरोनापछि सबै विद्यालयहरुमा आइसोलेसन र क्वारेन्टाइनस्थल बने, निर्माण सामग्रीको मूल्य आकासियो’ शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले भनिन्, ‘कोरोनाकै कारण भवनहरु निर्माण हुन सकेनन् ।’

बजेट खर्च गर्ने अक्तियारी ढिला आउनु र असारे विकास गर्ने प्रवृत्ति लगायतका कारण पनि समयमै भवन निर्माण हुन नसकेको उनको तर्क छ । ‘अधिकांश विद्यालयले जेठ १५ गतेभित्र निर्माण सक्ने गरी काम थालेका थिए, तर त्यही समय विद्यालयहरुमा क्वारेन्टाइन बनाइयो’ उनले भनिन, ‘ कोरोना सर्ने डरले क्वारेन्टाइन स्थलमै गएर काम गर्ने अवस्था नै भएन ।’ विद्यालयले काम गर्न चाहे पनि लकडाउन कारण निर्माण सामग्री मूल्य बढ्नु र मजदुर नपाउनु जस्ता कारण तोकिएकै समय विद्यालयका भवन बन्न नसकको उनको तर्क छ । कोरोना त्रासा कायमै रहेकाले ति अधुरा भवनको निर्माण कार्य कहिले पूरा हुने हो भन्नेबारेमा सरोकारवालाहरु नै अनविज्ञ छन् ।

जुम्लामा एउटा पनि विद्यालयको भवन बनेन

आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारले जुम्लामा १९ वटा विद्यालयको भवन निर्माण थालेको थियो । जसमध्ये ११ वटा विद्यालयको दुई कोठे र ८ वटा विद्यालयको ६ कोठे भवन निर्माण अघि बढ्यो । तर सबै विद्यालयको भवन कार्य अधुरै रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । त्यस्तै सुर्खेतमा पनि २१ वटा विद्यालयका भवनको निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्षमा सुर्खेतका १८ वटा विद्यालयले दुईकोठे र ११ विद्यालयले ६ कोठे भवन निर्माण थालेका थिए । जसमध्ये सात वटा विद्यालयले दुई कोठे र एउटा विद्यालयले ६ कोठे भवन निर्माण सम्पन्न गरेका छन् ।

तथ्याङ्क अनुसार दैलेखमा १७ वटा विद्यालयको भवन निर्माण अधुरै छ । त्यहाँ १३ वटा विद्यालयको दुई कोठे र ११ वटा विद्यालयको ६ कोठे भवन निर्माण सुरु गरिएको थियो । तिमध्ये दुईकोठे र ६ कोठे गरी ६ वटा विद्यालयको मात्रै भवन निर्माण सकिएको छ । जाजरकोट र सल्यान १५÷१६, कालिकोटमा १७, मुगुमा नौ, हुम्लामा १४ र डोल्पामा एउटा विद्यालयको भवन निर्माण अधुरै रहेको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले जाजरकोटका दुई कोठे १० वटा र सात वटा ६ कोठे भवन निर्माण गर्न बजेट उपलब्ध गराएको थियो । सल्यानमा दुई कोठे १० वटा र ६ कोठे ११ वटा, रुकुमपश्चिममा दुई कोठे सात वटा, ६ कोठ ६ वटा, कालिकोटमा दुई कोठे ११ वटा र ६ कोठे ९ वटा विद्यालयको भवन निर्माणका थालिएको थियो ।

तपाईको प्रतिक्रिया