वडाबासीलाई आत्मनिर्भर बनाउने योजनामा छौं

वीरेन्द्रनगर कर्णालीको राजधानी सहर हो । यो नगरमा १६ वटा वडाहरु छन् । जसमध्ये वडा नम्बर १२ मा विकास निर्माण र सामाजिक सुधारमा के प्रगति भइरहेको छ ? निर्वाचन भएको साढे तीन वर्ष वितेको छ । यो अवधिमा जनप्रतिनिधिले नागरिकको अपेक्षा अनुसार काम गरे त ? नागरिकको अपेक्षा पूरा गर्न जनप्रतिनिधिहरु सफल भए वा कस्ता चुनौती भोगिरहेका छन् । यही विषयमा केन्द्रित रहेर सहकर्मी गीता थापाले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, चालिसेसँग गरिएको कुराकानीको शारासं ः

तपाइँ निर्वाचित भएयता हालसम्म के–के काम गर्नुभयो ?

म निर्वाचित भएको साढे तीन बर्ष वित्यो । यो अवधिमा वडा पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र लक्षित वर्गका कार्यक्रमलाई विशेष प्राथमिकताका साथ बजेट निमार्ण गरी अगाडि बढेका छौं । वडामा रहेका महत्वपूर्ण पुर्वाधारतर्फ बाटो कालोपत्रे गर्ने, नखोलेका बाटो खोल्ने, सडक ग्राभेल गर्ने, प्रत्येक टोलमा एम्बुलेन्स पुग्ने सडक निमार्ण गर्ने काम सम्पन्न भएको छ ।

वडाका २५ वटा टोलमा एम्बुलेन्स पुग्ने सडक खोलिएको छ । यस्तै, शिक्षातर्फ पनि गुणस्तरीय शिक्षाका लागि विद्यालयको भवन बनाउने र छरिएरका विद्यालयलाई एकिकृत गर्ने काम भएको छ । स्वास्थ्यको भवन बनाउने काम पनि भएको छ । सामाजिक विकास अलि जटिल विषय रहेछ । लक्षित वर्गहरु जहाँ हाम्रो वडामा सुकुम्बासीहरुको संख्या बढी भएकाले यसलाई व्यवस्थित गरेर लैजाने हामीसँग पर्याप्त मात्रामा स्रोत साधन नभएको र सुकुम्बासीलाई व्यवस्थापन गर्ने अधिकार पनि नभएकाले प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको अवस्था छ । तर, पनि हामीले बालविवाह, घरेलुहिंसा न्युनिकरण गर्नका लागि थुप्रै कार्यक्रमहरु गर्दै आएका छौं ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

पहिलो कुरा त यो हाम्रो वडा क्षेत्रफलको हिसावले ठुलो छ । विकट क्षेत्रहरु पनि समेटिएको, स्रोत साधन कम भएको र जनताको अपेक्षा धेरै भएका कारण छिटो काम गर्न सकिएको छैन । अर्काे कुरा विकासप्रति जनताको अपनत्व कम भएको हो कि भन्ने हामीले अनुभुती गरेका छौं । यसले गर्दा पनि हामीलाई गुरुयोजना कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ । सबै काम सरकारले नै गरिदिन्छ भन्ने मानसिकताका कारण पनि काम गर्नलाई समस्या भएको छ ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

समस्याहरु त थुप्रै छन् । हाम्रो वडाको प्रमुख समस्या भनेको सुकुम्बासीहरूको बस्ती धेरै हुनु र त्यसलाई व्यवस्थापन गर्न नसक्नु नै हो । त्यसैमा वडा नम्बर १२ भनेर खोरिया पनि जोडिएको छ । त्यहाँको भौगोलिक हिसावले विकट नै मान्नु पर्छ । हामीले वीरेन्द्रनगर बजारदेखि जर्वुटासम्म सडक सञ्जाल जोड्ने काम गरेको भए पनि वर्षातको समयमा पहिरो आउने समस्याले गर्दा अहिले त्यहाँ मोटरसाइकलको मात्र आवतजावत भइरहेको छ ।

अबको केहीदिनमा हामी फेरी त्यो पहिरो पन्छाएर सडक सञ्चालनको तयारी गरीरहेका छांै । प्राकृतिक विपतीका कारण सोचे जति विकास गर्न सकिएको छैन । वर्षातको समयमा बाढीपहिरो आउने हुँदा १२ महिना खोरियामा सडक सञ्चालनमा समस्या भएको छ । भौगोलिक विकटताका कारण ठुलो योजना बनाएर काम गर्न सकेका छैनांै । हाम्रो नीति भनेको वडाको सबै टोलमा १२ महिना नै एम्बुलेन्स सेवा दिन सक्ने हो । तर, खोरियामा पहिरो जाने हुँदा समस्या भइरहेको छ ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

गुरुयोजनाको लगत कट्टा गर्ने काम सुरुवात भएको छ । वडाबासीहरु विकासप्रति अपनत्व गर्नुपर्छ भनेर प्रचार प्रसार गर्ने, उपभोक्ता समितिहरुलाई तालिम दिने काम नगरपालिका र वडाले गर्दै आइरहेको छ । विकासका कामहरु सबै सरकारले गर्नुपर्छ, सरकारको दायित्व हो भन्ने मानसिकता छ । सरकारले गरिदिने काम हाम्रै लागि हो भनेर यसलाई गुणस्तरीय बनाउनुपर्छ भन्ने मानसिकता जनताहरुमा कम नै भएको देखिन्छ । हामीले जनतामा सचेतना फैलाउन टोल समुह, उपभोक्ता समिति, सरोकारवाला निकायसँग सहकार्य र समन्वय भइरहेको छ ।


यहाँले अहिलेसम्म गर्नुभएको राम्रा पाँच वटा काम बताईदिनुस् न ?

मुख्यगरी साविकको वीरेन्द्रनगर ११ को सडक कालोपत्रे गर्ने काम लगभग सम्पन्न भएको छ । धेरैजसो गुरुयोजनामा बाटाहरु निमार्ण भइसकेका छन् । शिक्षामा स्तरोन्नती भएको छ । विद्यालय मर्ज गर्ने काम भएको छ । स्वास्थ्यका भवन बनेका छन् । पृतना गेटदेखी जर्वुटासम्म जोड्ने सडक सञ्जाल खोलिएको छ । अब त्यसको स्तरोन्नती गर्ने काम बाँकी रहेको छ । यसलाई पनि चाँडै पूरा गर्नेछौं ।

मत माग्न जाँदा तपाइाले जनतासँग गरेका प्रतिबद्धताहरू कति पुरा गर्नुभयो नी ?

स्थानीय तहबाट प्राप्त भएको अधिकार अनुसार गर्नुपर्ने कामहरु हामीले धेरै गरेका छौं । जुन संघीय, प्रदेश सरकार मातहत गर्नुपर्ने सुकुम्बासी समस्या भने समाधान गर्न सकिएको छैन । स्थानीय तहमा अधिकार नभएको र संघीय सरकार र प्रदेश सरकार मातहत स्थानीय तहमा आउने भएकाले यसको समाधान भएको छैन । जनतासँग गरेको अन्य प्रतिवद्धताहरु पुरा गर्दै अगाडि बढिरहेका छौं । सुकुम्बासीहरुको समस्या सुनुवाई गर्ने कुनै निकाय नहुँदा समस्या समाधान गर्न सकिएको छैन । हामीले भुमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीलाई भेटेर समस्या समाधान छिटोभन्दा छिटो गरिदिन माग पनि गरेका छौं ।

कोरोना महामारी नियन्त्रणका लागि वडामा के कस्ता प्रयास भइरहेका छन् ?

सरकारले तोकेको मापदण्ड अनुसार हामीले जनतामाझ सचेतना फैलाउने काम गरिरहेका छौं । नेपालको अन्य जिल्ला र भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिए घरको स्थिती हेरेर होम आइसोलेसनमा राख्ने काम भइरहेको छ । अर्काे कुरा हामीले कोरोना पोजेटिभ देखिएकाहरुलाई माया दिनुपर्छ, हेला गर्नु हुँदैन भनेर सम्बन्धित टोलका मानिसलाई बोलाई सचेतना दिने काम पनि गरेका छौं । भारत लगायत तेस्रो मुलुकबाट दुई सय ५० नागरिक वडामा भित्रिएका छन् । उनीहरुको व्यवस्थापनका लागि हामीले उनीहरुको घरको स्थिती हेरेर होम क्वारेन्टाइन र होम आइसोलेसनमा राख्ने व्यवस्था पनि गरेका छौं ।

धेरै युवा बेरोजगार बनेका छन्, त्यसको समाधानका लागि के गर्नु भएको छ ?

बेरोजगार युवाहरुलाई हामीले गतवर्ष प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तगर्त १५ दिनको रोजगारी दिएका थियौं । योवर्ष पनि कृषि र साना तथा घरेलु उद्योगबाट बेरोजगार युवालाई रोजगारी दिने योजना नगरपालिकाले बनाएको छ । यसले पनि बेरोजगार युवालाई स्वरोजगार बनाउन मद्दत पु¥याउँछ । फेरी पनि प्रधानमन्त्री र मुख्यमन्त्री स्वरोजगार कार्यक्रम आएमा हामी त्यसको नियम अनुसार युवालाई रोजगारी दिने योजनामा छौं ।

अबका योजनाहरु के के छन् ?

हामीले सुरु गरेका योजनालाई निरन्तरता दिने र पुरा गर्ने काम अगाडी बढाउँछौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण देशभरको अर्थतन्त्र धरासायी भएको छ । हाम्रो अबको मुख्य योजना भनेको अर्थतन्त्रलाई सुधार गर्ने नै हो । त्यसका सरोकारवाला निकाय, संघसंस्थाहरुसँग समन्वय गरेर आर्यआर्जनमुलक कार्यक्रमहरु ल्याउने र बेरोजगार युवाहरु रोजगारी दिने योजना बनाएका छौं । हाम्रो वडालाई आर्थिक रुपमा सवल र वडाबासीलाई आत्मनिर्भर बनाउने योजनामा हामी प्रयासरत छौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार