काठमाडौं, २३ भदौ ।
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदैछ । दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पार्न अपील समेत गरेका छन्।
‘नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिवद्धता कार्यान्वयन गर्ने उद्देश्य अनुरूप साक्षर नेपालको अभियान अगाडि बढाइरहेका छौं। निरक्षर नेपालीलाई साक्षर बनाउनु हाम्रो मुख्य लक्ष्य हो’, प्रधानमन्त्रीले भनेका छन्, ‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भइसकेका छन्। आगामी दिनमा बाँकी रहेका जिल्लाहरूको साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ।’
प्रधानमन्त्री ओलीले अहिले कोभिड(१९ को संकट रहेकाले साक्षरता र सामाजिक सचेतनाका साथ यसको सामना गर्न पनि भनेका छन्। उनले विद्यालय जाने उमेर नाघेका नागरिकका लागि जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवन पर्यन्त सिकाइका अवसर जुटाउने विषय समेत सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन्।
‘यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरु सञ्चालनमा रहेका छन्। साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रहरूको परिचालनबाट टोल टोलसम्म यी कार्यक्रमहरु पुर्याउन सम्भव भएको छ’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ।’
सरकारले १५ वर्ष र त्योभन्दा माथिको उमेर समूहका सबै नेपालीलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
‘हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। यस्तो संवैधानिक सुनिश्चिततालाई हामीले कार्यान्वयन गरेका छौं’, प्रधानमन्त्री ओलीले भनेका छन्।
युग संवाददाता । । २३ भाद्र २०७७, मंगलवार १०:५८