महामारीमा पनि अटेरी दल

सुर्खेत, २३ भदौ ।

पछिल्ला दिनमा कर्णालीमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढिरहेको छ । सांसद, नेता र कार्यकर्ता पनि कोरोना संक्रमणबाट अछुतो छैनन् । तर पनि राजनीतिक दलले गाउँगाउँमा कोरोना संक्रमणलाई फैलाउने गरी जोखिमयुक्त भेला र जमघट गरिरहेका छन् ।

संक्रमण रोकथामका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा प्रतिबन्द लगाएका छन् । महिनौदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । दुई हप्तादेखि सुर्खेतमा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली लागु गरिएको छ । महिनौंदेखि शैक्षिक संघसंस्थाहरु बन्द छन् । कोरोनाका कारण नागरिकको जीवन रक्षामा नै चुनौती थपिएका बेला जिल्लाका राजनीतिक दलहरुले नै लापरबाही गरिरहेका हन् ।

समाजलाई सहि नेतृत्व र मार्गदर्शन गर्नुपर्ने दल र तिनका नेताहरु नै यतिबेला गाउँगाउँमा भेला र जमघट गरेर महामारी नियन्त्रणमा अटेरी गरिरहेका छन् । न मास्क, न सामाजिक दुरी । दलहरुले पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने नाममा जोखिम बढाउने काम गरिरहेका हुन् । सामाजिक दुरी र सावधानी अपनाएर ज्यान जोगाउनुपर्ने बेलामा दलहरुका यस्ता गतिविधिले उनीहरु नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार छन् भन्ने पुष्टि गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले संक्रमण फैलिने खतरा रहेको भन्दै बारम्बार दलहरुलार्इृ राजनीति गतिविधि नगर्न गरेको आग्रहलाई दलहरुले अटेर गरिरहेका छन् । मुख्यगरी सत्तारुढ नेकपा र विपक्षी काँग्रेसबिच महामारीमा पनि भेला र जमघट गर्ने प्रतिस्पर्धा नै देखिएको छ । न्यूनतम स्वास्थ्य मापदण्ड नै नअपनाएर नेताहरु कार्यकर्ता भेलामा व्यस्त छन् । यसले गाउँ तहसम्म नै संक्रमण फैलिने जोखिम बढेको हो ।

जिल्ला तहका मुख्य नेता र सांसदहरु नै संक्रमित हुँदा पनि दलहरुले राजनीतिक गतिविधि रोकेका छैनन् । बरु सयौंको भीड जम्मा गर्ने, सामाजिक दुरी र सुरक्षा सावधानी नअपनाउने जस्ता गतिविधि गरेर संक्रमणको जोखिम बढाइ रहेका छन् । यसले सर्वसाधारणहरु पनि संक्रमति हुने र महामारी थप फैलने जोखिम बढेको हो ।

नागरिकको स्वास्थ्यमा खेलवाड नगर्नुस्

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना महामारी रोकथाममा दलहरु जिम्मेवार नबन्दा समस्या भएको जनाएको छ । ‘यस्तो महामारीमा त दलहरु कोरोना रोकथाममा लाग्नु पथ्र्याे, तर जिम्मेवार नेताहरु नै संक्रमण बढाउने गतिविधिमा लाग्नु भएको छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकार हिरालाल रेग्मीले भने, ‘सांसद र नेताहरु नै जिम्मेवार नहुँदा दलका गतिविधि रोक्न समस्या भयो ।’ प्रशासनले कुनै पनि स्थानीय तह र वडामा राजनीतिक गतिविधि नगर्ने आग्रह गरे पनि दलहरुले अटेरी गरेको उनको भनाइ छ ।

‘लकडाउन भएदेखि नै राजनीतिक गविविधि गर्न प्रतिबन्ध लगाइएको छ, तर नेताहरुले गाउँमा भेला र कार्यक्रमहरु गर्न थाले’ रेग्मीले भने, ‘नागरिकको जीवन रक्षा गर्नेबेला दलहरु नै जिम्मेवार बन्न सकेनन् ।’ अनौपचारिक रुपमा महामारी नसकिदासम्म दलहरुलाई राजनीतिक गतिविधि रोकिदिन आग्रह गरेको उनी बताउँछन् । सांसद, नेता र कार्यकर्तामा पनि कोरोना संक्रमण देखिएको भन्दै दलहरुले राजनीतिक गतिविधि रोक्नुपर्ने उनको तर्क छ । कोरोना रोकथामका लागि राज्यले करोडौ बजेट खर्च गरिरहेको भन्दै रेग्मीले नागरिकको स्वास्थ्यमाथी खेलवाड नगर्न दलहरुलाई आग्रह गरे ।


पार्टीले आधिकारिक रुपमा कार्यक्रम नै गरेको छैन

महाधिवेशनको तयारीमा रहेको काँगेसले पनि महामारीमा गाउँमा भेला र जमघट गरिरहेको छ । तर उसले सुर्खेतमा पार्टीको तर्फबाट कुनै पनि कार्यक्रम नगरेको दाबी गरेको छ । ‘कोरोनाको जोखिममा पार्टीले सम्पूर्ण राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ, नेताहरु पनि घरमै बसेका छन्’ नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले भने, ‘वडा तहका नेताहरुले जम्मा भएर फोटो खिच्दैमा पार्टीको कार्यक्रम भन्न मिल्दैन ।’ पार्टीले सम्पूर्ण कार्यकर्तालाई कोरोना रोकथाम र घरमै बस्न आग्रह गरेको उनको भनाइ छ ।

कार्यकर्ताहरुले वडा र टोलटोलमा अनौपचारिक छलफल गरेको रेग्मीको दाबी छ । बरु कोरोना रोकथाम र संक्रमण फैलिन नदिन नागरिकलाई जनचेतना फैलाउने गरेको उनले बताए । नेताहरु गाउँ पुग्दा कार्यकर्ताहरु भेटघाटमा आउने र सामाजिक दुरी कामय गरेर छलफल गरिरहेको काँग्रेसको दाबी छ । अन्य पार्टीबाट कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धामा काँग्रेसले पनि महामारीमा जोखिमयुक्त क्रियाकलाप संचालन गरिरहेको छ ।

अब राजनीतिक भेटघाट र गतिविधि रोक्छौं

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले अब राजनीतिक गतिविधि रोक्ने जनाएको छ । कोरोना संक्रमणको दर बढेको भन्दै नेकपाले यस्तो क्रियाकलाप रोक्ने जनाएको हो । यद्यपी कोरोना महामारीमा कुनै पनि कार्यक्रम नगरेको दाबी नेकपाको छ । ‘महामारीमा कार्यकर्ताले सानातिना अनौपचारिक छलफल मात्रै गरेका छन्’ नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले भने, ‘सामाजिक दुरी र सुरक्षा सावधानी अपनाएर सामान्य छलफल मात्रै गरेका छौं ।’

उनले अब यस्ता क्रियाकलाप पनि रोकिने बताए । ‘नेता कार्यकर्ताहरुले सामाजिक दुरी कायम गरेर कोरोनाका बारेमा कार्यकर्तासँग छलफल गरेका हुन्, यसलाई पार्टीको कार्यक्रम नै भन्न मिल्दैन’ जिसीले भने, ‘संक्रमण फैलिदै गए सबै कार्यकर्तासँगको भेटघाट पनि रोकिन्छ ।’ नेता कार्यकर्ताबाट नभइ सरकारी कार्यालयमा हुने भिडका कारण संक्रमण बढेको उनको तर्क छ । गाउँमा दिनहुँ पार्टी प्रवेश गराउने नाममा भेला र जमघट हुँदा पनि नेकपाको जिल्ला नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार