सम्पादकीय : प्रहरीका दुख

समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको हो । प्रहरीले समाजमा हुने अपराध नियन्त्रणमा भूमिका खेलिरहेका छन् । आफ्नो ज्यानको बाजी लगाएर नागरिकको सुरक्षामा खटिने क्रममा कतिपय प्रहरीले ज्यानै गुमाउने गरेका छन् । कानुन कार्यान्वयन, अपराध नियन्त्रण, विपद्मा उद्दार र समाजलाई सुरक्षित राख्ने काममा सक्रिय रहेकै कारण प्रहरीप्रति नागरिकको विश्वास छ । यही कारणले पनि प्रहरी देख्ने वित्तिकै नागरिकले आफूलाई सुरक्षित महशुस गर्ने गरेका छन् । तर नागरिकको जीउधन र राज्यको कानुन कार्यान्वयन गराउने प्रहरीहरु नै असुरक्षित छन् । दुर्गम जिल्लाका विकट बस्तीमा पनि प्रहरीले काम गरिरहेका छन् । राज्यले दिएको न्यून तलव सुविधामा नै प्रहरीले शान्ति सुरक्षा कायम गर्ने काम गरिरहेका छन् । भौतिक सुविधाको अभाव छ । भवन र घर नहुँदा प्रहरीहरु जोखिमपूर्ण रात बिताउन बाध्य छन् । कतिपय प्रहरीहरु त चिसोमा त्रिपालमुनी रात काट्न बाध्य छन् । भत्किएका घर र त्रिपालमा बस्न बाध्य प्रहरीहरु आफै असुरक्षित बन्नुपर्ने अवस्था छ ।

कर्णालीको भौगोलिक अवस्था जटिल छ । राज्यको उपस्थिति नभएको बस्तीमा पनि प्रहरी पुग्नुपर्ने हुन्छ । अहिले पनि कर्णालीका अधिकांश प्रहरीका युनिटहरु भवनविहीन छन् । आफ्नै भवन नहुँदा प्रहरीले त्रिपालमा रात काटिरहेका छन् । कतिपय प्रहरी भाडाका र भत्किन लागेका भवनमा बसिरहेका छन् । यसले जीर्ण बनेका त्यस्ता भवन कतिबेला भत्किने हुन् भन्ने पीरलो छ । अर्कोतर्फ भवन नहुँदा ढुक्कसँग निदाउन सक्ने अवस्था पनि छैन । नागरिकलाई सुरक्षा दिनुपर्ने प्रहरीलाई आफ्नै ज्यान जोगाउन हम्मेहम्मे छ । न सुविधा राम्रो, न त बस्नलाई व्यवस्थापन । तर पनि प्रहरीले राज्यले दिएको जिम्मेवारी पूरा गर्न लागि परेका छन् । कर्णालीमा मुख्यगरी प्रहरीले भवनको अभाव भोगिरहेका छन् । भवन अभावमा प्रहरीहरु कोचिएर बस्नुपर्ने, त्रिपालमा सुत्नुपर्ने र आराम गर्न नपाउने अवस्था छ । अर्कोतर्फ भवन नहुँदा थुनुवासँगै सुत्नुपर्ने हुन्छ । यस्तै कतिपय सुरक्षा योजनाहरु गोप्य नरहने जोखिम पनि छ ।

समाज सुधारमा प्रहरीको भुमिका महत्वपूर्ण छ । अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकालाई सम्मान गर्नै पर्दछ । यस्तो अवस्थामा प्रहरीका आफ्नै दुख छन् । समाजमा शान्ति सुरक्षा कामय गर्ने काममा खटेका प्रहरीलाई आवश्यक सुविधा उपलब्ध गराउने कार्यमा स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनै पर्दछ । सेवा र सुविधाले कार्यक्षमतामा पनि बृद्धि गर्दछ । स्रोत र साधनको अभावमा प्रहरीले चाहेजति काम गर्न सकिरहेको देखिदैन । यसकारण पनि त्रिपालमा सुत्न बाध्य प्रहरीको पीडालाई सरकारले समाधान गर्न जरुरी छ । गास, बास र कपास भनेका मानिसका आधारभूत आवश्यकता हुन् । प्रहरी पनि मानव हुन् । त्यसैले पनि उनीहरुको समस्या समाधान गर्नका लागि सरकार गम्भिर बन्न आवश्यक छ । यसो भएमा मात्र समाजमा हुने अपराध नियन्त्रण गर्न र नागरिकको जीउधनको सुरक्षामा प्रहरीको भूमिका अझ प्रभावकारी बन्न सक्छ । (२०७७ भदौं २२ गते सोमबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया