‘गाउँलेहरु अहिले पनि हेडमास्टर भन्छन्’

दुर्गाप्रसाद चालिसे
जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समिति, सुर्खेत

शिक्षक पेशा समुदायमा प्रतिष्ठित पेशा हो । तर सबै शिक्षकले अभिभावको मन जित्न सक्दैनन् । दुर्गाप्रसाद चालिसेले भने शिक्षक भएको वर्ष दिनमै अभिभावक, शिक्षक र कर्मचारीको मन जिते । सानैदेखि पढाइमा अब्बल र इमान्दार भएकै कारण १९ वर्षकै उमेरमा अभिभावकहरुले उनलाई हेडमाष्टर (प्रधानाध्यापक) बनाइ दिए । झण्डै १५ वर्षपछि जीवनको यात्रा परिवर्तन गरेर उनी निजामति क्षेत्रमा प्रवेश गरे । प्रस्तुत छ, हाल जिल्ला समन्वय समिति सुर्खेतमा समन्वय अधिकारीको रुपमा कार्यरत चालिसेसँग गरिएको कुराकानीको शारांस :–

पढाइमा अब्बल
२०२९ साल पुस २९ गते उनको जन्म भयो । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ८ उनको स्थायी ठेगाना हो । सामान्य किसान परिवारमा जन्मिएका उनी सानैदेखि पढाइमा अब्बल थिए । पाँच वर्षकै उमेर जीवनज्योति माध्यमिक विद्यालयबाट उनले कखरा सुरु गरेका हुन् ।
कक्षा ४ देखि ७ सम्म जनजागृति माध्यमिक विद्यालय तोस्रा र कक्षा ८ देखि एसएलसीसम्म जनता माध्यमिक विद्यालय विद्यापुरमा अध्ययन गरेका हुन् । २०४४ सालमा एसएलसी उत्तीर्णपछि महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जबाट इन्टर र सुर्खेत क्याम्पस शिक्षाबाट स्नातक र स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । कक्षा १ देखि १० सम्म प्रथम र एसएलसीमा ब्याज टपर उनले स्नातक र स्नातकोत्तर तह भने नियमित पढ्न पाएनन् ।

अभिभावकले नै हेडमास्टर बनाए
एसएलसीपछि चालिसेले महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जबाट आइकम अध्ययन गर्न थाले । तर २०४६ सालको बहुदलिय जनआन्दोलनका कारण पढाइ रोकियो । त्यही समय उनी घर फर्किए । जनआन्दोलन सफल भयो । तर उनी पुनः अध्ययनका लागि नेपालगञ्ज फर्किएनन् । आर्थिक अभावका कारण गाउँमै रोजगारी खोजी गर्न थाले । त्यही क्रममा उनलाई कखरा सिकेको स्कूलमा मास्टर (शिक्षक) हुने अवसर मिल्यो । २०४७ साल माघदेखि उनले जीवनज्योति माध्यमिक विद्यालयमा अध्यापन गराउन सुरु गरे । ‘आर्थिक अभावकै कारण पढाइलाई निरन्तरता दिन सकिँन’ उनी भन्छन्, ‘गाउँमै मास्टर हुन्छु भनेको अभिभावकले त हेडमास्टर नै बनाइ दिए ।’ उनलाई हेडमास्टरको जिम्मेवारी दिनुको पछाडि दुई कारण थिए । पहिलो उनी सानैदेखि पढाइमा अब्बल थिए, दोस्रो स्थानीय शिक्षक भएपछि गाउँमा चन्दा संकलनमा सहज हुन्थ्यो । किनकी तत्कालिन जनज्योति निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउनु थियो ।

स्थानीय शिक्षक भएपछि चन्दा संकलनमा सहज हुने उद्देश्यले अन्य शिक्षकले उनलाई हेडमास्टरको जिम्मेवारी दिएका थिए । ‘भर्खर १९ वर्ष लागेको थिएँ, तर अभिभावक र शिक्षकहरुले विद्यालयको नेतृत्व मेरो काँधमा पारी दिनुभयो’ उनले भने, ‘सुरुमा त हेडमास्टर भएर विद्यालय चलाउन सक्छु जस्तो लागेको थिएन, तर आँटेपछि माध्यमिक विद्यालय बनाउन सफल भएँ ।’ बरु समाजले आफूप्रति गरेको विश्वासलाई टुट्न नदिन चालिसेले चार वर्षसम्म माथिल्लो तह पढाएको पारिश्रमिक समेत लिएनन् ।

जीवनको उर्जाशिल उमेर चालिसेले विद्यालयकै लागि खर्चिए । परिणामत : उनले अर्काे परिचय अर्थात ‘हेडमास्टर’को बनाए । ‘लामो समयदेखि निजामति क्षेत्रमा आएको छु, तर गाउँमा अहिले पनि मलाइ हेडमास्टर भन्छन्’ समाजले आफूप्रति देखाएको माया सम्झदै उनी भन्छन्, ‘स्वतन्त्रता नभएपछि शिक्षक पेशा छोडेर निजामतिमा फर्किएँ ।’

झण्डै १५ वर्ष शिक्षण पेशामा विताएका उनी शिक्षकमा हुने राजनीतिक हस्तक्षेपकै कारण निजामति क्षेत्रमा आएका हुन् । जीवन ज्योति मा.वि. गुटुमा लामो समय अध्यापन गराएका थिए । ऊबेला शसस्त्र विद्रोहका कारण शिक्षकलाई गाउँमा सहज रुपमा बस्ने वातावरण थिएन । असुरक्षा महशुस गरेर र १५ वर्ष लामो शिक्षण पेशाबाट विदा लिए । ‘सेवाको दायरा फराकिलो बनाउन र स्वतन्त्र जीवन विताउन निजामित क्षेत्रमा आएँ’ उनी भन्छन्, ‘शिक्षक पेशामा सन्तुष्टि थियो, तर स्वतन्त्रता थिएन ।’


सेवाग्राहीको माया नै सन्तुष्टि
स्वतन्त्रताका लागि चालिसेले २०६३ बैशाखदेखि निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । जेठ २ गतेदेखि जिल्ला शिक्षा कार्यालय कालिकोटमा प्राविधिक सहायक (शिक्षा सेवा) पदबाट निजामति जागिर सुरु गरे । तर लामो समय कालिकोट बस्न पाएनन् । करिव चार महिनापछि उनी शाखा अधिकृतको परीक्षामा सफल भए । २०६३ असोज ८ गतेदेखि शाखा अधिकृतको रुपमा सामान्य प्रशासन मन्त्रालय काठमाडौँमा सरुवा भए ।

शाखा अधिकृत हुँदा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलाली, डिभिजन सहकारी कार्यालय डोटी, लोकसेवा आयोग महाकाली अञ्चल कार्यालय महेन्द्रनगर, लोकसेवा केन्द्रिय कार्यालय काठमाडौँ, तत्कालिन स्थानीय विकास मन्त्रालय अन्तरगत जिल्ला विकास समितिको कार्यालय कालिकोट, स्थानीय तह पुनसंरचना आयोगमा विताए ।

२०७३ चैतमा उपसचिव भए । जागिरकै क्रममा विदुर नगरपालिका नुवाकोटपछि २०७४ असोजदेखि जिल्ला समन्वय समिति सुर्खेतमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत छन् । जागिरको क्रममा उनी जहाँ–जहाँ पुगे सेवाग्राहीलाई सन्तुष्ट बनाउँनुपर्छ भन्ने मान्यताका साथ काम गरे । नीति निर्माणदेखि योजना कार्यान्वयन र विकासका गतिविधिमा सेवाग्राहीलाई सन्तुष्ट बनाउनुपर्छ भनेर काम गरे ।

जिल्ला विकास समिति कालीकोटको योजना अनुगमन तथा प्रशासकीय अधिकृत भएर विकास निर्माणमा देखाएको सक्रियता र नागरिकको चाहना अनुसार काम गरेकै कारण उनले कालिकोटबाट उनले नागरिक अभिनन्दन पाए । सेवाग्राहीको मन जितेकै कारण कालिकोटका नागरिकले उनलाई फूलमालासहित विदाइ गरे । कालिकाटको इतिहासमा उनी नै जनताबाट सम्मान पाउने पहिलो योजना, अनुगमन तथा प्रशासकीय अधिकृत बने ।

आँट गरे हुँदो रहेछ
चालिसेको जिम्मेवारी प्रतिको इमान्दारिता र लगनशीलता प्रेरणादायी छ । १९ वर्षको उमेरमा हेडमास्टरको जिम्मेवारी पुरा गरेका उनले ३४ वर्षको उमेर निजामति सेवामा प्रवेश गरे । त्यो पनि सँगै पढेका साथीहरुसँग परीक्षामा सहभागी भए ।  ‘बुढेसकालमा के लोकसेवा पास गर्न सक्ला ?’ साथीभाईले उनलाई यस्तै भन्थे । तर लोकसेवाको तयारी गर्नका लागि विद्यालयको भार घटाए । हेडमास्टरको जिम्मेवारी अरुलाई सुम्पिए । बेलाबेलामा विदा लिएर अध्ययन गरे ।

अन्ततः ३४ वर्षको उमेरमा लोकसेवा आयोग पास भए । ‘१५ वर्ष शिक्षण पेशामै व्यस्त भएँ, अध्ययन गर्ने फुर्सद नै मिलेन’ उनी भन्छन्, ‘आँट गरे हुँदो रै’छ ।’ १९ वर्षमा हेडमास्टरको जिम्मेवारी र ३४ वर्षमा लोकसेवा पढ्ने साहस र मेहनतकै कारण आफू सफल भएको उनको बुझाइ छ । अवकासपछि समाज रुपमान्तर अर्थात समाज सेवामा लाग्ने उनको लक्ष्य छ । (२०७७ भदौं २१ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार