बर्सेनी बाढी र पहिरोको त्रास रोकथाममा छैन सरकारी चासो

सुर्खेत, २१ भदौ ।

केही वर्षअघि मुगुको छायाँनाथ रारा नगरपालिका—४ भामबाडास्थित लेतेखोलामा आएको बाढीले स्थानीयको खेतीयोग्य जग्गा बगायो । बाढीका कारण भामबाडा, रावलबाडा र रोकायाबाडामा खेती गरेको जग्गासहित बाली नै सखाप भयो । २०५१ भदौमा पहिलो पटक बाढीले कटान थालेको यो स्थानमा हरेक बर्षको बर्षा याममा त्यसरी नै बाढी आउने गरेको छ । यसकारण बर्खा लाग्ने वित्तिकै स्थानीयहरु रातमा निदाउन सक्दैनन् । बाढीले जग्गासँगै बस्ती नै बगाउने चिन्ता स्थानीयमा छ ।

छायाँनाथ रारा नगरपालिका—४ मा रहेको बुकाखोलामा पहिलो पटक २०६१ साउन २५ गते आएको बाढीले सोही वडाको पाँचसय हेक्टरभन्दा बढी जग्गा बग्यो । त्यसयता हरेक वर्ष आउने बाढीले जमिन बगाउने गरेको छ । हाल यो क्षेत्र आसपासमा रहेका दोबाटो, कालापाल्त र पाटपोटेनीका एकसय ५० घरधुरी पहिरोको जोखिममा छन् । बाढी र पहिरोको जोखिममा रहेको यो बस्तीका बासिन्दा पनि वर्षात्को समयमा रातमा निदाउन सक्दैनन् । हरेक बर्ष बाढीले नोक्सान गर्दै आएको बुकाखोलामा बाढीको रोकथामकालागी हालससम्म दुई करोडभन्दा बढी बजेट लगानी भइसकेको छ । नियन्त्रण हुनुको सट्टा बर्षेनी ठुलो क्षती हुँदै जान थालेपछी रारा विमानस्थल पनि पहिरोको जोखिममा परेको छ ।

छायाँनाथ रारा नगरपालिका—४ का प्रदिप रावलले बर्सेनी बाढी र पहिरोले नोक्सान गरे पनि रोकथाममा सरकारी निकाय गम्भिर नभएको बताए । यता छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाहीले भने जोखिम रहेको स्थानमा तटबन्ध निर्माण गरिने बताए । दैलेखका भैरबी गाउँपालिका–६खम्बगाडे बजार नजिकैको डाँडामा पहिरो जाँदा दुई परिवार विस्थापित भएका छन् । गत साउनमा स्थानीय भविसरा सुवेदी र लालबहादुर खत्री बस्दै आएको घर भत्किएका हुन् । अहिले लालबहादुरको आठ जना र भविसराको पाँच जनाको परिवार कोठा भाडामा लिएर बसिरहेका छन् । ‘ ओत लाग्ने यही घर थियो, घर पहिरोले लग्यो । अहिले कोठा भाडामा बसेका छांै, अन्त कतै घर निर्माण गरेर बसौ भने जग्गा पनि छैन’ भविसराले भनिन् । माथिका घटनाहरु कर्णालीमा बर्षात्का बर्सेनी हुने नोक्सानका केही उदारण मात्र हुन् ।

कर्णालीमा बर्सेनी यस्ता घटनाहरु दोहोरिने गरेका छन् । तर यस्ता जोखिम न्यूनिकरणका लागि कुनै पहल भएको देखिदैन । रोकथाम र न्यूनिकरणका प्रयासहरु नहुँदा स्थानीयहरु हरेक बर्ष उही क्षति बेहोर्न बाध्य छन् । कतिपय परिवार वर्षात्को समयमा राम्रोसँग निदाउन सक्दैनन् । अर्कोतर्फ राहत र उद्दारमा मात्र बजेट खर्चने स्थानीय र प्रदेश सरकारले समेत विपद् व्यवस्थापन र रोकथामका पूर्वतयारी नगर्दा समस्या बल्झने गरेको हो । स्थानीयले जोखिममा रहेका बस्तीको दिर्घकालिन व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका छन् ।

दुर्घटनामा खुट्टा, बर्षात्मा घर गुम्यो

दैलेखको भैरबी गाउँपालिका–५ का चन्द्रप्रसाद रिजाल परिवारको गुजरा चलाउन भारतमा भौंतारिए । त्यहाँ मजदुरी गर्दा उनको र परिवारको दिनचर्या राम्रै चल्यो । तर, २०७४ असोजमा उनी बस दुर्घटनामा परे । दुर्घटनामा उनको दुबै खुट्टा गुम्यो । कम्मरमुनीको भाग चल्नै छाड्यो । उनको उपचारमा लाखौ खर्च भयो । सातलाख रुपैयाँ खर्चेर भारतमा उपचार गरेका रिजाल थप उपचारका लागि आर्थिक अभाव हुँदा अपाङ्ग शरिर लिएर गाउँ फर्किए । रिजाल आफ्नो उपचारमा नेपालका विभिन्न अस्पतालमा पुगे । तर आर्थिक अवस्थाले उनको उपचार सफल हुन सकेन । ‘पहिलाको जस्तै हिँड्ने र मजदुरी गरेर परिवारको खर्च धान्ने सपना छ, तर उपचारका लागि रकम छैन’ उनले भने । रिजाल भन्छन्, ‘घर फर्केर छरछिमेकबाट सहयोग मागेर प्रदेश अस्पताल सुर्खेतमा पुनः उपचारका लागि भर्ना भएँ, सुर्खेतमा एकलाख रुपैयाँ खर्च भए पनि शरिरमा सुधार आएन्, ऋणसापट गरेर भए पनि थप उपचारका लागि काठमाण्डौ गएँ । त्यहाँ पनि दुईलाख रुपैयाँ खर्च भयो, तर सुधार भएन ।’ सहयोग माग्दा वडा नं. ५ ले २५ हजार रुपैयाँ उपलब्ध गराएको उनले बताए । ‘त्यही रकम बोकेर पोखराको हरियोखर्क अस्पतालमा पुगेँ, अस्पतालले पाँचलाख रुपैयाँ अरु खर्च लाग्ने बताएपछि दुई महिनासम्म सोही अस्प्तालमा बसेर फर्किए,’ रिजालले भने । गतबर्ष पोखरामा पुगेर उपचार गरि फर्किएका रिजाल ह्वीलचियरको सहायताले घर वरपर घुम्न सक्ने भएका छन् । मजदुरीका क्रममा शरिरको आधा भाग गुमाएका रिजालको बस्ने बाससमेत गुमेको छ । ‘गत साउन अन्तिम साता परेको अविरल बर्षात्का कारण भएको घर पनि भत्कियो’ उनले भने, ‘भत्केको घर ठड्याउने अवस्थामा छैन, हाल आफन्तको शरणमा बसेका छौं ।’

पहिरोपीडितको पुर्नस्थापना नहुँदा जंगलमा बास

कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ पोरीवनका चन्द्र लुवारको घर पहिरोमा पुरियो । गत साउन १२ गतेको बर्षासँगै पहिरो खस्दा उनको घर पुरियो । तर भाग्यबास मानवीय क्षती भएन । तर घरबारविहीन भएपछि उनको ११ जना सदस्य रहेको परिवार अहिले जंगलभित्र बसिरहेको छ । पीडितको पुनसर््थापना नहुँदा उनीहरु स्थानीय डोप्का सामुदायीक वनभित्रत्रिपाल टाँगेर बसिरहेका छन् । प्रदेश सरकारले दिएको एकबोरा चामल र एउटा पालमुनि यो परिवारले रात काटिरहेको छ । जंगलको बास । सरकाले दिएको एउटा त्रिपालभित्र ११ जना कोचिएर बस्नुपर्ने बाध्यता छ । बर्षायाम भएकाले यो परिवारलाई निकै समस्या छ ।

पहिरोका कारण उक्त गाउँका ११ परिवार विस्थापित भएका छन् । विस्थापित बनेका ११ जनाको परिवारका ६० जना सदस्यहरु त्रिपालमा बस्न बाध्य भएका हुन् । त्यसमा पनि चार जना गर्भवती महिलाहरुलाई थप समस्या भएको छ । स्थानीय कर्ण लुवारको नौ जनाको परिवार छ । उनीहरु पनि एउटै त्रिपालमा बस्न बाध्य छन् । प्रदेश सरकारले दिएको चामल पनि सकिएको छ । उनले भने, ‘गाँउपालिकामा आएर गुहार माग्दा चामल सकियो भने, प्रदेश सरकारले थप चामल पठाउने भनेको छ । तर कहिले आउने हो, हामीलाई छाक टार्नै समस्या भईसकेको छ ।’

यस्तै पीडित मान लुवारले आफुलाई सामुदायीक वनमा राखेर वेवास्ता गरिएको बताए । उनले भने, ‘एक पालमा १० जनाको परिवार खुम्चीएर बसेका छौँ । वनको बास खाने गास पनि छैन। कोही खोजी खबरमा पनि आउदैन् ।’ पीडितहरुलाई खानाको समस्या भएको छ । पहिरोपीडित उदे सार्कीले भनें, ‘हाम्रो समस्या वुझ्न अहिलेसम्म कोही आएका छैनन्, पहिरोले बस्ती नै जोखिममा भएपछि हामी सुरक्षित ठाँउको खोजीमा जंगलमा वसिरहेका छौं । तर जंगलमा खान वस्न र पानीको समस्या छ ।’ सान्नीत्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीले पोरिवनका पहिरोपीडितलाई पहिरो चरणको राहत बाँडिएको बताए ।

तपाईको प्रतिक्रिया