जसले सुर्खेतमा पाउरोटी खान सिकाए

विपिन ठाकुर
सञ्चालक, गंगामाला पाउरोटी उद्योग,सुर्खेत

जीवन संघर्षको क्रममा जो निरन्तर मेहनतबाट थाक्दैन, अवश्य उसले सफलता प्राप्त गर्छ । जसले कर्म नगरी भाग्य खोज्छ, ऊ सफल नहुन सक्छ । जीवनमा जस्तो सुकै बाधा अड्चन आए पनि जसले डटेर लड्ने क्षमता राख्छ । ऊ अवस्य पनि गन्तव्यमा पुग्छ । यस्तै जीवन भोगाईको अनुभव भएका एक उदाहरण व्यक्ति हुन्, विपिन ठाकुर । वीरेन्द्रनगरमा रहेको न्यू गंगामाला पाउरोटी उद्योगका सञ्चालकसमेत रहेका उनको जीवन भोगाइ र संघर्षको अनुभव आजको जम्काभेटमा । प्रस्तुत छ, कुराकानीमा आधारित शारासं :-

घरको काम गर्दै स्कुल
मेरो जन्म २०२४ साल चैत्र २७ गते भएको हो । महोत्तरी जिल्लाको तत्कालिन भ्रमपुरा गाविस ३ मा म जन्मिएको हुँ । मेरो जन्म सामान्य कृषक परिवारमा भएको हो । म गाउँमै जन्मिएँ र गाउँमै हुर्किएँ । बाल्यकालमा घरको काम गर्दै स्कुल जान्थ्येँ । परिवारमा खान लगाउन खासै समस्या थिएन । तर परिवारको मुख्य पेशा नै कृषि भएकाले बाबा आमासँगै खेतवारी र मेलापात गरिन्थ्यो । घरमा भैंसी पालेका थियौँ । म विदाको दिन र स्कुलबाट आएपछि भैंसी चराउन जान्थ्येँ । कक्षा ५ सम्म गाउँकै प्राथमिक विद्यालयमा पढेँ । पछि कक्षा ६ देखि १० सम्म गाउँ नजिकैको माध्यामिक विद्यालयमा पढेँ ।

गरिबीले पढाइ अधुरो
धान तथा अन्य अन्नबाली उत्पादन गरेर बेचेको पैंसाले हाम्रो परिवारको खर्च चल्थ्यो । चाडवाडमा मिठो मसिनो खान होस्, वा राम्रो लगाउन पैंसाका लागि अन्नबालीकै भर पर्नुपथ्यो । अहिलेको जस्तो पढ्न पनि सजिलो थिएन । विद्यालयको चौरमा बसेर बाँसको कलमले लेख्दै पढेको याद ताजै छन् । तर घरको कमजोर आर्थिक अवस्थाका कारण मैले कक्षा १० भन्दा माथि पढ्न सकिन । हुन त त्योबेला कक्षा १० सम्म पढ्नु पनि ठुलै कुरा थियो । कक्षा १० पछि उच्च शिक्षका लागि गाउँ छोड्नुपर्ने बाध्यता थियो । पढ्नका लागि कि त जनकपुर, कि भारतको पट्ना, सितामणी लगाएतका सहरमा जानुपथ्यो । त्यहाँ गएर पढ्नका लागि आर्थिक अवस्था कमजोर भएपछि पढाइ छोडर व्यवसायमा लागेँ ।

व्यवसायिक यात्रा
व्यापार व्यवसायप्रति मेरो सानै देखिको रुची पनि हो । कुरा २०४१ साल तिरको हो । मैले सुर्खेतमा आएर नापी टोलीसँग काम गर्ने जागिर पाएँ । दुईवर्ष काम पनि गरेँ । त्यो अवधिमा सुर्खेतका गाउँ गाउँ पुगियो । त्यतिबेला यातायातको सविधा थिएन । हामी घरबाट आउँदा वा जादाँ बर्दिया हात्तिसारसम्म हिँडेरै जान्थ्यौं । त्यो बेला दिउँसो अफिस जाने, विहान विहान पाउरोटी बेच्ने काम गरेँ । सुर्खेतमा त्यतीखेर अशोक पाउरोटी उद्योग मात्रै थियो । त्यो त्यती व्यवस्थितत थिएन । फुर्सदको समय खाली किन बस्नु भनेर विहान पाउरोटी बेच्ने काम गरेको हुँ ।


त्यतीबेला अधिकांश मान्छेहरुले पाउरोटी भन्ने थाहाँ पाएका थिएनन् । म बेच्न जादाँ कसरी खाने हो ? भनेर सोध्थे । सुर्खेतमा अधिकांशलाई पाउरोटी खान पनि सिकाइयो । त्यतीबेला सुर्खेतमा १८ वटा होटल मात्रै थिए । म सबै होटलमा पाउरोटी दिन जान्थ्येँ । विस्तारै होटल बढ्दै गए । पाउरोटीको बजार पनि बढ्दै गयो । पाउरोटी उद्योगमा राम्रो सम्भावना देखेपछि पिपिरामा रहेको गंगामाला पाउरोटी उद्योग किनेर न्यू गंगामाला नाम राखँे । त्यसपछि मेरो उद्योगमा उत्पादन हुने पाउरोटी उपभोक्ताले मन पराउदै गए । दिन प्रतिदिन आम्दानी बढ्दै गयो । हाम्रो उद्योगले सुर्खेतको बजार माग पूर्ती गर्दै गयो ।

३० जनालाई रोजगारी
२०४२ तिर चोकचोकमा पाउरोटी लिएर बेच्न जादाँ एउटा पाउरोटीको मुल्य ५० पैंसा मात्रै थियो । अहिले १० रुपैंया पुगेको छ । त्योबेला रातभर आगोमा पाउरोटी पकाउनु पथ्र्यो । तर अहिले सबै काम मेसिनबाट हुन्छ । पहिले र अहिले दुखमा धेरै फरक छ । तर अहिले १० रुपैंयामा बेचेको भन्दा त्यो बेला ५० पैंसामै बेचेको पाउरोटीबाट बढी फाइदा हुन्थ्यो ।

व्यवसायमा मैले कहिल्यै अरुको रिस गरिन । सँधै आफ्नो मेहनत जारी राखे । अहिले हाम्रो व्यवसायमा सघाउन ३० जना बढीलाई रोजगारी दिएको छु । तर बजारमा दक्ष जनशक्तिको अँझै अभाव छ । धेरैले काम पाएनौ भनेर हिँड्छन् । तर आफुसँग भएको सीप प्रयोग गर्दैनन् । नेपाली गरिब र बेरोजगार छैनन् । गरिब बनेका मात्रै हुन् । यहाँ व्यवसाय गर्न सके धेरै सम्भावना छन् । तर दक्षजनशक्ति र विद्युत लगायतको समस्या छन् ।

अबको योजना
मेरो अबको व्यवसायिक यात्रा भनेको पाटी प्यालेस सञ्चालन गर्ने भन्ने हो । कोरोनाका कारण केही समय ढिला भयो । पाटी प्यालेस खोलेर सयौंलाई रोजगारीको अवसर सृजना गर्नेछु । तर पाउरोटी उद्योग बन्द हुँदैन । यी दुबै व्यवसाय सञ्चालन गर्ने सोचमा छु । मलाइ धन र रिसको घमण्ड छैन । आफ्नै बुद्धिले भ्याएसम्म काम गर्छु । धेरै पैंसा कमाएर धेरै धन सम्पति कमाउनुपर्छ र राजनीति गर्नुपर्छ भन्ने मेरो भावना छैन । परिवारलाई सन्तोषसँग बस्न खान पुगेकै छ ।

पाउरोटी बेचेरै वीरेन्द्रनगरमा ढाइ तलाको पक्की घर बनाएको छु । आठ धुर जग्गा जोडेको छु । सवारी साधन किनेको छु । काठमाडौं ब्रिटिस कलेजबाट छोरोलाई एलेक्स पढाएँ । अहिले छोरो फिल्म क्षेत्रमा अध्धयन गर्न भारतको हैदराबादस्थित क्याम्पसमा भर्ना भएको छ । मसँग श्रीमती, नातिनी र भतिजाहरु साथमा छन् । हामी आफु खुसी र सन्तुष्ट हुँदै हाम्रा ग्राहकलाई पनि खुसी बनाउन सफल भएका छौं । हामीलाई अब व्यवसायमा लगानी गर्ने र कामदारलाई दिने पैंसा आम्दानी भए पुग्छ । जसरी पाउरोटी उद्योगबाट ग्राहकलाई सन्तुष्ट दिलाएका छौं । त्यसरी नै अब पाटी प्यालेस खोलेर ग्राहकको मन जित्ने छौं । हाम्रो यो यात्रामा सहयोग गर्ने सबै आफन्त तथा महानुभावप्रति कृतज्ञता प्रकट गर्दछु । हामीलाई आगामी दिनमा पनि यसरी नै साथ दिनुहोला । (२०७७ भदौं १९ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकको साताको जम्काभेटमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार