कोरोना त्रासपछि देशमा लकडाउन भयो । करिब चार महिना त देश नै ठप्प भयो । त्यसमा पनि सार्वजनिक यातायातका साधनहरु चलेनन् । अहिले लकडाउन हटेको छ । तर कोरोना संक्रमणको दर घटेको छैन । जोखिम कायमै भएकाले पनि सरकारले लामो दुरीका सवारी साधन संचालन खुला गरेको छैन । तर जिल्लाभित्रै भने संचालन गर्न सकिने निर्णय सरकारले गरेको छ । जिल्लाभित्र सार्वजनिक गाडी संचालन गर्ने भनिए पनि जोखिम अनुसार जिल्ला तहमा निषेधाज्ञा हुने गरेको छ । कर्णालीको राजधानी सुर्खेतमा पनि केहीदिन पहिला निषेधाज्ञा भयो । अहिले निषेधाज्ञा हटे पनि सार्वजनिक यातायातमा जोरविजोर प्रणाली लागू गरिएको छ । यही निर्णयका कारण यहाँका यातायात व्यवसायीहरु असन्तष्ट बनेका छन् । यतिमात्र होइन, व्यवसायीले जोरविजोर प्रणाली अवैज्ञानिक भएको भन्दै विरोध गरिरहेका छन् । कोरोनाको जोखिमको नाममा सार्वजनिक यातायातलाई धरासायी बनाउन खोजिएको व्यवसायीको गुनासो छ । सुर्खेतमा व्यवसायीले नै गाडी चलाउन नसकिने बताएपछि सर्वसाधारणलाई समस्या भएको हो ।
कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि सबै उपायहरु अपनाउ आवश्यक छ । तर त्यस्ता प्रयासहरु व्यवस्थित भने हुनै पर्दछ । यातायात खुला गर्दा एक स्थानबाट अर्को स्थानमा कोरोना नफैलियोस् भन्ने नै हो । तर के प्रशासनले थालेको यो प्रयास वैज्ञानिक छ त ? अर्थात जोरविजोर प्रणाली लागू गर्दैमा संक्रमण नियन्त्रण होला त । वास्तवमा यसले जोखिम घटाउने भन्दा पनि सर्वसाधारणलाई दुख दिने काम भएको छ । अहिले नीजि सवारी साधनहरु ढुक्कसँग संचालन भइरहेका छन् । न कुनै सावधानी, न त कुनै सामाजिक दुरी नै । बरु सात जना क्षमता भएका निजी गाडीले कोचेर मान्छे बोक्ने गरिरहेका छन् । जिल्लाभित्र मात्र होइन, निजी गाडीहरु देशका विभिन्न स्थानमा आउजाउ गरिरहेका छन् । कोरोना फैलिने खतरा यसबाट नै बढी देखिएको छ । न कुनै रोकावट छ, न त कसैले चेकजाँच र निगरानी नै गरेको पाइन्छ । तर सार्वजनिक यातायातमा मात्र प्रशासनको ध्यान केन्द्रीत भएको देखिन्छ । सर्वसाधारणको पहुँचमा हुने सार्वजनिक यातायात बन्द हुँदा दुख जनतालाई नै बढी भएको छ ।
वास्तवमा सार्वजनिक यातायात सस्तो छ । दुर्गमका नागरिकले सहज रुपमा सेवा पाउने अवस्था । व्यवसायीहरुले घाटा सहेर पनि सेवा दिने कसरत गरिरहेका थिए । यस्तो अवस्थामा व्यवसायीलाई असन्तुष्ट बनाएर सार्वजनिक यातायात नै बन्द हुने अवस्था आउनु दुखद हो । यसकारण स्थानीय प्रशासन र यातायात व्यवसायीहरुले वार्ताबाट निकास खोज्नु आवश्यक छ । संकटमा सेवा नै बन्द गराउने भन्दा पनि संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाउँदै, स्वास्थ्य मापदण्ड पालना गरेर तथा सामाजिक दुरी कायम गराएर सार्वजनिक गाडीहरु संचालन गर्नु पर्दछ । सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्न आवश्यक छ । (२०७७ भदौं १८ गते विहिबार प्रकाशित युगआव्हान राष्ट्रिय दैनिक)
युग संवाददाता । । १८ भाद्र २०७७, बिहीबार १२:४४