हिल्सा नाका बन्द भएपछि उत्तरी हुम्लामा खाद्य संकट

हुम्ला, १८ भदौ ।
चीनसँग सिमाना जोडिएको उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका लागि एक हजार क्वीन्टल खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पठाउने भएको छ । दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडा सबै चीनसँग निर्भर रहँदै आएको नाम्खा गाउँपालिकाले कोरोना संक्रमणपछि चीनसँगको नाका बन्द हुँदा खाद्यान्नको समस्या भोग्दै आएको छ ।

वडा नम्बर १ का अध्यक्ष प्रेम बहादुर लामाले नाम्खा गाउँपालिकामा खाद्यान्न अपुग हुने संभावना बढेपछि खाद्यान्न माग गरिएको बताए । गाउँपालिकाका सबै बासिन्दाहरु खाद्यान्न, लत्ता कपडा र विकास निर्माणका सामानहरु चीनको बुराङ काउण्टीको ताक्लाकोटमा निर्भर रहँदै आएकोमा कोरोना कहरका कारण अहिले चीनसँगको हिल्सा नाका बन्द हुँदा यी सामग्रीको समस्या भएको हो ।


आफ्नै उत्पादनले कमै समय खाना पुग्ने र चीनबाट सामान आयात नभएपछि नाम्खा गाउँपालिकामा खाद्यान्न समस्या भएको हो । लिमिटेडको सिमकोट शाखा प्रमुख राम बहादुर बिष्टले गाउँपालिकाको माग केन्द्रमा बढाउँदा लिमिटेड एक हजार क्वीन्टल खाद्यान्न तत्काल हवाई मार्गबाट ढुवानी गर्ने निर्णयमा पुगेको बताए । ढुवानीको लागि टेण्डर हुँदा सप्लार्यस समेत छनौट भएको र अब एक हप्तामा नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु हुने भएको छ ।

हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न नाम्खा गाउँपालिकामा भने पैदल मार्गबाट ढुवानी हुनेछ । खाद्यान्न समस्या देखिएपछि नाम्खा गाउँपालिका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको सिमकोट शाखाबाट एक हजार क्वीन्टल खाद्यान्न पठाइएको छ । शाखा प्रमुख बिष्टले जिल्लाबाट उपलब्ध भएको खाद्यान्न प्रतिघरधुरी ९० केजी वितरण गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार