पार्टीले चाहे मात्र कर्णालीमा सरकार पुनर्गठन हुनसक्छ

गोपाल शर्मा
प्रदेश सभा सांसद, कर्णाली

पछिल्लो समय कर्णाली प्रदेशमा सरकार परिवर्तनको चर्चा चलेको छ । मुख्यगरी सांसदहरले नै बारम्बार मन्त्रीमण्डल पुर्नगठनबारे बहस गर्दै आएका छन् । कोरोना महामारी नियन्त्रण, विपत् व्यवस्थापन, विकास र सुशासनको पाटोमा प्रदेश सरकार र मन्त्रीहरुको भुमिका प्रभावकारी हुन नसकेको गुनासो पनि बढ्दो छ । यसै विषयमा हामीले प्रदेश सभाका सांसद गोपाल शर्मासँग कुराकानी गरेका छौं । प्रस्तुत छ, रुकुमपश्चिमबाट निर्वाचित सांसद शर्मासँग गरिएको कुराकानीको सारांशः-

कर्णालीमा प्रदेश सरकार परिवर्तन हुन लागेको हो ?
यस बिषयमा चर्चा हुन थालेको त धेरै समय भइसक्यो । मलाइ लाग्छ, यहाँ चर्चा मात्रै हुने हो । तर पार्टीले निर्णय गरेर सरकार पुनर्गठन गर्छ वा परिर्वत नै गर्छ भने त्यो पार्टीको निर्णय चाँही मान्ने हुन्छ ।  किनकी हामी पार्टीका कार्यकर्ता हौं । अहिले नै पुनर्गठन गर्न संभव छ भनेर हामीले भन्ने स्थिती पनि छैन । त्यो नेताहरुमा भरपर्ने कुरा हो । केन्द्रिय नेताहरुले निर्णय गरेर मन्त्रीमण्डल पुनर्गठन गर्छन् भने हामीले त्यो मान्दैनौं भन्न मिल्दैन ।

तपाइँको विचारमा तत्काल सरकार परिवर्तन वा पुनर्गठन गर्न जरुरी छ कि छैन ?
सरकार पुनर्गठन हुनुपर्छ भन्नेमा म छैन । पहिलो कुरा के का लागि पुनर्गठन गर्ने हो ? अब योभन्दा राम्रो हुन्छ भने गर्दा पनि हुन्छ । तर यस्तै प्रवृत्ति यथावत लिएर जाने हो भने पुनर्गठनको पनि अर्थ छैन । नयाँ देखाउँछौं भन्ने कुरा व्यक्तिगत कुरा हो । पदमा पुग्नुभन्दा पहिले राम्रो गर्छु भन्ने आशा र दावी मात्रै हो । तर पदमा पुगेर राम्रो काम गर्छ की गर्दैन भन्ने व्यवहारले बताउँछ । त्यही कारण व्यवहारमा पृष्टी नुहँदै दावी गरेर योभन्दा अर्कोले राम्रो काम गर्छ कि भन्ने कल्पना मात्रै हुन् । जबसम्म असल कामका लागि व्यवहार परिवर्तन हुँदैन, तबसम्म सरकार वा मन्त्रीमण्डल परिवर्तन गरेर कुनै अर्थ छैन । उही संस्कार र उही बानी, उही क्षमता भएका व्यक्तिले नै सरकार चलाउने हुन् भने अहिलेकै ठिकै छ नी ।

कोरोनाले निम्त्याएका समस्या न्यूनिकरणका लागि कस्ता प्रयास हँुदैछन् ?
पहिलो कुरा रोग नै मुख्य भएकाले बाँकी गर्ने कुरा सहायक हुन्छन् । जब रोग हटेर स्वस्थ भइन्छ, तब अरु काम गर्न सकिन्छ । तर हामीले जिल्लामा रोग नियन्त्रण सँगसँगै अन्य काम पनि अघि बढाएका छांै । अहिलेसम्म रुकुमपश्चिममा ६४ जनालाई कोरोना संक्रमण भयो । संक्रमण रोक्न उनीहरुलाई उचित व्यवस्थापन गरिएको छ ।

चौजहारी नगरपालिकाकै पहलमा जिल्लामा पीसीआर मेसिन राख्यौं । यसले गर्दा पनि कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा सहयोग पुग्यो । रोग नियन्त्रणसँगै सुरक्षित उपाय अपनाउँदै विकास निर्माण तथा रोजगारीका काम पनि अघि बढाएका छौं । भोकमरी हटाउन तथा रोजगारीका लागि कृषि तथा पशुपालनका कार्यक्रम सञ्चालित छन् ।स्वास्थ्य संस्थामा औषधि, उपकरण, जनशक्ति तथा भौतिक संरचना व्यवस्थापनमा लागि परेका छौं ।

यहाँको गृह जिल्लामा भएको नवराज विक र उनका साथीहरुको हत्याकाण्डमा तपाइँ पनि आलोचित हुनुभयो नी ?
फेरी विषय प्रशंगले अन्त जान्छ । म यसबारे धेरै बोल्न चाहन्न । अहिले अदालतमा विचराधिन मुद्दा हो । अदालतले जे निर्णय गर्छ । त्यो हामी सबैले मान्य हो । वास्तिविक के थियो ? के प्रचार भयो ? भन्ने सबैका आ आफ्नै तर्क हुन् । काठमाडौंबाट सोती देखिदैन । सोती र जाजरकोटका मान्छेले जे भोगेका छन्, त्यो उनीहरुलाई थाहा छ ।

देख्नेले के देख्यो । भन्नेले के भन्यो र सुन्नेले के सुन्यो भन्ने कुरा सबै विश्लेषण गरेर साध्य छैन । अब अदालततिर फर्केर पीडित र पीडकले न्यायको प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्यही नै मान्य हो । अब अन्य विकल्प छैन । यसबारे संसदनमा जनार्दन शर्मालाई बोल्नसमेत दिईएन । राजनैतिक कारणले आरोप लगाएर आलोचित बनाउने काम भएको हो ।

रुकुमपश्मिमा त विकासको स्वाद चाख्न नेकपा नै बन्नुपर्छ भन्ने गुनासो छ नी ?
हसाउँन्ु भो । तपाइँलाई म एउटा उदाहरण दिन्छु । त्रिवेणी गाउँपालिकामा १० नम्बर वडा कांग्रेसले जितेको छ । तर हामीले सबैभन्दा पहिले विद्युत त्यही १० नम्बर वडामै बाल्यौं । त्यसपछि ८ र ९ वडामा बत्ति बल्यो । हामीलेसबैभन्दा पहिले कांग्रेस धेरै भएकै गाउँमा विकास गर्छौ भनेका छौं । कांग्रेसले गर्ने विकासको जिम्मा पनि त हामीले लिएका छौ नी ।  हामी विकासका लागि राजनीति गर्दैनौं । रुकुममा विकासका लागि कहिल्यै पार्टी छुट्याएका छैनौं । त्यसैले पनि विकासमा अघि छौं । आगामी दिनमा पनि यस्तो विभेद कहिले नै हुँदैन ।

अन्त्यमा, तपाइँको अबको योजनाबारे संक्षेपमा बताइ दिनुहोस् न ?
पहिलो कुरा त प्रदेशको बजेट कति जान्छ भन्ने कुरा सबैलाई थाहा नै छ । प्रदेशको बजेटले प्रदेश राजधानी जोड्ने सडक निर्माणको लागि छलफल जारी छ । निर्वाचन क्षेत्रका मुख्यमुख्य बाटोहरु अघि बढाएका छौं । बनेका सडकहरुको स्तरोन्नती गरेका छौं । पालिकाका केही सडक नपुगेका वडामा सडक पुगेको छ । दोस्रो कुरा : विद्युतीकरणको काम तीब्र रुपले अघि बढाएका छौ । एक वर्षभित्र जिल्लाका सबै ठाउँमा बत्ति बाल्छौं । तेस्रो कुरा : एक घर, एक खानेपानीको धारा निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्थानीय तह, प्रदेश र संघको सहयोगमा शिक्षा क्षेत्रलाई सुधार ल्याउने काम जारी छ । एउटा वडामा एउटा स्वास्थ्य चौकी स्थापना भएर सहज सेवा प्रदान भइरहेको छ ।  रोजगारी र उत्पादनमुलक कार्यका लागि कृषि, फलफुल र पशुपंक्षि पालनको कार्यक्रम भइरहेका छन् । मलाई लाग्छ, केही वर्षभित्र बेरोजागारी संख्या पनि अन्त्य हुन्छ । (२०७७ भदौं १७ गते बुधबारसाताको जम्काभेट स्तम्भमा प्रकाशित)

तपाईको प्रतिक्रिया