सिर्जना पाउन जीवनलाइ दुई बर्ष लाग्यो

जीवन चन्द/सिर्जना शाही

अधिकांशले जीवनमा विहे गर्छन् । तर विहेपछि सबै जोडी खुसी हुँदैनन् । केहीको सम्बन्ध त बिचमभै टुट्छ पनि । विहे पहिलेको कल्पनाभन्दा विहे पछिको यथार्थ जिन्दगीसँग जो लडेर अघि बढ्छ, उनीहरुकै वैवाहिक जीवन सफल हुन्छ । आफ्नो दाम्पत्य जीवनलाई कसरी आफै सुमधुर बनाउन सकिन्छ । त्यो त हरेक जोडीले आफै सोच्नुपर्ने विषय हो । धेरै जोडी मध्ये सुर्खेतको वीरेन्द्रनगर निवासी जीवन चन्द र सिर्जना शाहीको जोडी पनि एक हो । हाल जीवन श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक छन् भने सिर्जना गुरुकुल मण्टेश्वरीकी सञ्चालक हुन् । यो जोडीले भोगेको जीवन भोगाइ र प्रेम कथा आजको अंकमा प्रस्तुत छ :–

नाताले जीवन र सिर्जना सोल्टी तथा सोल्टीनी पर्थे । जीवन सुर्खेतमा अध्ययन गर्थे भने सिर्जना दैलेखमा । सिर्जना निकै राम्री छन्, व्यवहार पनि राम्रो छ भन्दै गाउँका साथीहरुले चर्चा गरेको जीवनले पहिलेदेखि नै सुनेका थिए । एसएलसी परीक्षा दिएर बसेको बेला उनीहरु दुबै जना खाली समयको सदुपयोग गर्न सुर्खेतमा कम्यूटर सिक्न थाले । त्यतीबेला मात्रै दुबै जनाको देखादेख भयो । जीवन आफ्नी भाउजुको भाई हुन् भन्ने सिर्जनालाई थाहाँ थियो । तर बोलचाल भने हँुदैन थियो ।

केही दिनपछि जीवन एकजना दाजुसँग सिर्जनालाई हेर्न भनेर गए । सिर्जनासँग भेट भयो । तर सिर्जना बोल्दै नबोलेपछि उनीहरु फर्किए । त्यसपछि पनि पटकपटक भेट हुन्थ्यो । तर सिर्जना कहिलै मन खोलेर बोलिनन् । पछि जीवन सुर्खेत बहुमुखी क्याम्पसमा पढ्न थाले । सिर्जना शिक्षा क्याम्पसमा । त्योबेला उनीहरुको देखादेख मात्रै हुन्थ्यो । तर मनमा भएको मायाको आभास भने व्यक्त गर्न सकेनन् । जीवनले आफुलाई मन पराउँछन्, भन्ने सिर्जनाले बुझिसकेकी थिइन् । जीवनलाई उमेर पनि भइसकेकोले माया प्रेममा पर्न अनौठो जस्तो कहिल्यै लागेन ।

धेरै पटक साथी र चिठीमार्फत सिर्जनालाई प्रस्ताव पनि गरे । तर रिप्लाइ भने कहिल्यै आएन । चिठी पाएपनि सबैको सामु पढ्दा धेरैले कुरा काट्छन् भन्ने डरले सिर्जना चिठी नपढेरै लुकाउँथिइन् । सिर्जनालाई घरपरिवारले अझँ धेरै पढ्नुपर्छ । अहिले नै माया प्रेममा पर्नु हुदैन भन्ने कुरा बेलाबेला सम्झाइ रहन्थे । त्यसैले आएका प्रेमपत्रबारे सिर्जनाले वास्ता नै गरिनन् । तर माया गर्छु भन्ने जवाफको पर्खाइमा रहेका जीवन भने बारम्बार चिठी पठाइ रहन्थ्ये । चिठी पठाउने माध्यम बनाउन सिर्जनाका साथीहरुलाई उनले बहिनी बनाएका थिए । मात्र कुरा गर्नका लागि कतिदिन क्याम्पसको होस्टेलमा बसेकी सिर्जनाको पछि लाग्थे । करिब दुई वर्षसम्म जीवन खुबै सिर्जनाको पछि लागे । उनलाई दिनमा एकपटक सिर्जनालाई देख्नै पर्छ जस्तो लाग्थ्यो । तर भेट हुदाँ आफै बोल्न डराउँथे । केही समयपछि क्याम्पसमा आईएड तहको पढाइ सकियो । सृजना उच्च शिक्षाका लागि काठमाण्डौं गईन् ।


जीवनले सिर्जनालाई चार पाँच वर्षसम्म कुरा गर्न त के देख्न पनि पाएनन् । एक दिनको कुरा हो, रक्षा बन्धनको दिन थियो । पहिलेदेखि सिर्जनाका दाईहरु पनि जीवनसँग खुबै मिल्थे । जीवन आफ्ना दाईसँग एक्कासी रक्षा बन्धनको दिनमा आएपछि सिर्जना अचम्ममा परिन् । त्योदिन सिर्जनाका दाईहरुले जिस्काउँदै जीवनलाई पनि राखी बाँधिदिन भने । तर मनमा माया त छ नी । सिर्जनाले राखी बाँधिनन् ।  हुन त सिर्जना र जीवनबिचको माया उनका दाईहरुलाई पनि थाहाँ थियो । रक्षाबनधनको मौका पारी जीवनलाई सिर्जनालाई भेट्नु थियो । तर राखी बाँधि हालिन् भने के गर्ने भनेर मनमा डर पनि उत्तिकै । यदी राखी बाँधियो भने विहे स्थगित हुन्न भन्ने डर दुबैलाई थियो । त्यो दिन पनि सिर्जना बोलिनन् ।

भ्यालेन्टाइन दिन थियो । त्योदिन जीवनले फोन गरेर माया गर्ने वा नगर्ने जवाफ मागे । तर सिर्जनाले घुमाउरो कुरो गर्दै हुन्छ भनिन् । सिर्जनालाई लभ गर्नुपर्छ, घुम्न जानुपर्छ भन्ने सोचाइ थिएन । तर जीवनलाई सिर्जनासँगै घुम्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । पछि जीवनले घरमा आफै खुलेर सिर्जनासँग विहे गर्ने कुरा गरे । घर परिवारले पनि सहजै स्विकारे । जीवन खुसी भए सिर्जनालाई माग्न गए । २०६० सालमो विहे भयो । विहेको १७ वर्ष वितिसक्यो ।

तर सिर्जनालाई अहिले जस्तो नै लाग्छ । विहेपछि जिम्मेवारी बढ्दै गए । सुरुमा विहे गर्दा जस्तो अवस्था सँधै रहेन । तर सिर्जनालाई मेरो श्रीमान् विहे पहिले जस्तो भएन भनेर कुनै दुख छैन । पहिले जीवन खुबै घुम्न मन पराउँथे । अहिले सिर्जनालाई जीवनसँग घुम्नजान मन लाग्छ । तर जीवनको समय मिल्दैन । कहिलेकाँही जीवनले सिर्जनालाई पहिले घुमिनस् अहिले व्यस्त हुदाँ घुमौ भन्छेस् भनेर ख्यालठट्टा गर्छन् । आफु छोरी र बुहारी हुँदा सिर्जनालाई खासै फरक अनुभुती छैन । माइती जस्तै पोइली घरकाले माया र सम्मान गर्छन् ।

२०६५ मा पहिलो पटक सिर्जना आमा बन्दै थिइन् । पहिलो पटक आमा बन्दा सिर्जना जति खुसी थिइन्, त्यती दुखी नै हुनुपर्यो । उनी नेपालगंजमा अस्पतालमै सुत्केरी भइन् । बच्चा जन्मिदै स्वासप्रसासमा गाह्रो हुँदा आइसियूमा राख्नु पर्यो । बच्चालाई दुई दिनसम्म बाहिरबाटै हेरे । अन्ततः बच्चाको मृत्यु भयो । अस्पतालका डाक्टरले बच्चा मरेको खबर सुनाएपछि जीवन र सिर्जनाका आफन्तहरुमा रुवावासी भयो । त्यसको तीन महिनापछि सिर्जना पढ्न गइन । मनमा पीडा भए पनि कहिल्यै बाहिर व्यक्त गरिनन् । विस्तारै बच्चा भुल्दै गइन् । अहिले जीवन र सिर्जनाको घरवार राम्रोसँग चलेको छ । दुबै जना आफैमा आत्मनिर्भर छन् ।

खासै झगडा हँुदैन । दुबैले एक अर्काको पीडा बुझ्छन् । सिर्जनाले जीवनलाई राजा भनेर बोलाउँछिन । जीवनले नामै लिएर बोलाउँछन् । साथमा छोराको स्याहारसुसार दुबैले उत्तिकै गर्छन् । खाना पकाउनमा दुबैले अल्छि गर्दैनन् । सिर्जनाले अरुभन्दा मासु बढी रुचाउँछिछन् ।
सिर्जनालाई जीवन इमान्दार र जेण्टल लाग्छ । जीवनलाई सिर्जना व्यवहारीक लाग्छ । उनीहरु भन्छन्, नव जोडीले एक अर्कालाई आदर र सम्मान गर्नपर्छ । विश्वास र बुझाइ सकारात्मक राख्नुपर्छ । एक अर्कालाई मनमा लागेको कुरा सेयर गर्नुपर्छ । अनी सबैको दाम्पत्य जीवन सुमधुर र सुखमय हुन्छ । (रेडियो भेरी एफएम र युगआह्वान दैनिकको सहकार्यमा, २०७७ भदौं १३ गते शनिबार प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार