सानैदेखि आफन्तले मास्टर भनेर बोलाउँथे

सन्तबहादुर सुनार
प्रमुख जिल्ला अधिकारी, दैलेख

दैलेखको नारायण नगरपालिका वडा नं. २ मा जन्मिएका सन्तबहादुर सुनार सह–सचिवसम्म पुग्दाका संघर्ष कम छैनन् । आर्थिक अभावकै कारण नियमित रुपमा उच्च शिक्षा पढ्न पाएनन् । बरु एसएलसीपछि गाउँमा शिक्षक बने । त्यही पैसाले प्राइभेट रुपमा उच्चशिक्षा पढे । मुखियाको जागिर खाँदै स्नातक तह पुरा गरे । उमेरले उकालो लाग्दै गर्दा ४५ वर्षमा विदेशमा पुगेर स्नातकोत्तर अध्ययन गरे । यही संघर्षशिल यात्राले उनलाई मुखिया हुँदै सह–सचिवसम्म पुरयायो । निजामति सेवामा प्रवेश गरेको लामो समयपछि अहिले आफ्नै जिल्लामा स्थानीय प्रशासनको नेतृत्व गर्ने अवसर पाएका छन् उनले । आमा गंगादेवी र बुवा पुरनसिंह सुनारको कोखबाट विस २०२२ माघ ११ गते उनको जन्म भएको हो । प्रस्तुत छ, हाल दैलेखमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत उनको संघर्षको शारासं :

बाँसको कलम
२०३० सालतिर अहिलेको जस्तो कापी र कलम हुन्थेनन् । अधिकांशले बाँसको कलम बनाएर लेख्थे । एक/दुई जनाले मसी भर्न मिल्ने (निमवाल) कलम चलाउँथे । सन्तबहादुरले पनि निमवाला कलमबाटै चलाए । उनका बुवा भारतीय सुरक्षाकर्मी ‘इन्डियन आर्मी’ थिए । बुवाले भारतबाट आउँदा मसीका डब्बा र कमल उत्तैबाट ल्याइदिन्थे । तर त्यो मसी र कमल सधै टिक्थेनन् । ‘स्कूलमा आफूभन्दा ठूला साथीहरुले कहिले चोरेर त कहिले थर्काएर पनि मैले लिएको मसी भर्थे’ उनी भन्छन्, ‘बुवाले ल्याएको कलम धेरै टिक्थेन, बाँसको कमल बनाएर लेख्थेँ ।’

तर रफ गर्ने कापी किन्न सक्ने अवस्था थिएन । ‘अफिसका वरिपरी फालेरका कापीका पानाहरु जम्मा गरेर रफ बनाउँथे’ उनी भन्छन्, ‘नोक गर्ने कापी वर्षमा एकपटक मात्रै किन्थ्यौं ।’ उबेला धेरैले स्कूले पढ्थेनन् । दलित समुदायबाट स्कुल पढ्ने झन विरैलै पाइन्थे । बुवा भारतीय सुरक्षाकर्मी भएका कारण सन्तबहादुरले स्कुल जाने अवसर पाए । ‘बुवा छुट्टीमा आएको बेला स्कुलमा नाम लेखाइदिनु हुन्थ्यो’ उनी भन्छन्, ‘बुवाकै कारण मैले स्कुल पढ्न पाएको हुँ ।’

स्कूललाई दुई रुपैयाँ शुल्क तिर्नु पथ्र्याे । एकदिन सन्तबहादुरलाई शुल्क तिर्न दुई रुपैयाँमा २५ पैसा पुगेन । रकम अपुग भएपछि पैसा राख्ने डिब्बालाई पैसाकै रुपमा स्कुलमा बुझाइ दिए । २०३० सालमा गाउँकै नेपाल राष्ट्रिय राष्ट्रिय जारकोटमा कक्षा ३ सम्म र त्रिभुवन व्यवसायिक माध्यमिक विद्यालय माध्यमिक शिक्षा पुरा गरे । २०४० सालमा एसएलसी पास गरेपछि भने उच्च शिक्षा अध्ययन गर्न पाएनन् । झण्डै चार वर्षपछि प्राइभेटतर्फ महेन्द्रबहुमुखि क्याम्पस नेपालगञ्जबाट प्रविणता प्रमाणपत्र र स्नातक तह, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र ४५ वर्षको उमेरमा कोरिया पुगेर पुनः कृषि तथा ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् । एकदिन पनि क्याम्पस नगएरै प्रविणता प्रमाणपत्र तह उर्तिण गरेका उनले एसएलसीदेखि स्नाकोत्तर तहसम्म कमाउँदै पढ्दै गरेका हुन् ।

नपढाएरै मास्टर
सन्तबहादुरको आफन्तीहरु एक जना व्यक्तीले पनि धेरै पढेका थिएनन् । अधिकांशले स्कुलमा पाइलासमेत टेकेका थिएनन् । स्कुल गएकाहरु पनि २/३ कक्षामै पढाइ छोड्थे । ५/६ कक्षा पढेपछि इष्टमित्र र साथीभाईले सन्तबहादुरलाई मास्टरको उपाधि दिए । ‘हाम्रो समुदायमा पढेको मान्छे कोही थिएनन्, ५/६ मा पढ्ने बेला नै आफन्तीहरुले मलाइ मास्टर भनेर बोलाउँथे’ उनी भन्छन्, ‘यही कारण सानैदेखि मास्टर (शिक्षक) हुने रुचि थियो, बुवा र भिनाजुले इन्डियन आर्मी बनाउँछुभन्दा पनि गइँन ।’ नभन्दै एसएलसी पास नहुँदै शिक्षक हुने अवसर मिल्यो । सानैदेखि पढाइमा अब्बल एलएलसीको रिजल्ट नआउँदै नौमुले गाउँपालिका वडा नं. १ को भैरव माध्यम विद्यालय शिक्षक भए । मासिक पाँचसय तलव खाएर चार वर्षसम्म अध्यापन गराए । तर स्थायी नहुने र उच्च शिक्षा पढ्ने उद्देश्यले शिक्षकको जागिर छोडिदिए ।


अनि शिक्षक पेसा छोडे
सन्तबहादुरले जीवनमा गरेको संघर्ष निकै प्रेरणादायिक छ । तत्कालिन समयमा स्थायी हुने व्यवस्था नभए शिक्षक पेशा छोड्न बाध्य भए । उच्च शिक्षा पढ्न नेपालगञ्ज झरेका उनले २०४५ सालमा मुखिया पदबाट निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । मुखिया भएको तीन महिनापछि सहलेखापाल, अधिकृति हुँदै २०७२ सालमा उपसचिव भए । २०७४ सालदेखि नेपाल सरकारको सहसचिव पदमा कार्यरत छन् । जागिरको क्रममा नेपालगञ्ज, दैलेख, बझाङ, कैलाली, दाङ, सुर्खेत काठमाडौँ लगायतका धेरै जिल्लामा पुगेर सेवा गर्ने अवसर प्राप्त गरेका छन् । निजामति सेवामा प्रवेश गरेको लामो समयपछि दुई हप्ताअघि गृह जिल्ला अर्थात दैलेखको प्रमुख जिल्ला अधिकारीको नेतृत्व गरिरहेका छन् ।

पैसा नलिएरै काम गर्दा सेवाग्राही दंग पर्थे
उबेला अहिलको जस्तो सेवाग्राहीहरुमा जनचेतना थिएन । विशेषगरी दुर्गम क्षेत्रका सेवाग्राहीहरु पैसा दिएपछि मात्रै कर्मचारीले काम गर्छन् भन्ने ठान्थे । सन्तबहादुर सुब्बा हुँदा एकदिन यस्तै घटना आइपरयो । उनी त्यो कार्यालयका हाकिम थिए । तर कर्मचारीले सेवाग्राहीबाट उसैगरी पैसा लिएका रहेछन् । त्यो थाहा पाएपछि सन्तबहादुरले रकम फिर्ता गर्न लगाए । दुर्गमका ति सेवाग्राही विना पैसा काम भएको देखेपछि दंग परे ।

जागिरको सिलसिलमा उनी जब बझाङ पुगेपछि उनले सरसफाइ अभियान चलाए । ‘कसैले पनि चर्पी प्रयोग गर्दा रहेनछन्, खोलाखाल्सी र बाटैभरी दिसा हुन्थ्यो’ बझाङ बस्दाका ति दिन सम्झदै सन्तबहादुर भन्छन्, ‘स्थानीय र राजनीतिक दलका अगुवा कार्यकर्तालाई साथमा लिएर आफै बाटोखाटो सफा गर्न लागे हप्तादिनमै सबै दुर्गन्ध हट्यो ।’ त्यहाँ बस्दासम्म सन्तबहादुरले सरसफाइका विभिन्न अभियानहरु चलाए । जसका कारण बझाङ नागरिकका प्यारा कर्मचारी बने ।

अब आफ्नै जन्मभूमिमा केही गर्छु
लामो समयपछि गृह जिल्लामा स्थानीय प्रशासनको नेतृत्व गर्ने अवसर पाएका सन्तबहादुर अब आफ्नै जन्मभूमि सजाउने पक्षमा छन् । अनुभवले खारिएका उनीले नेतृत्व सम्हालेको दुई दिनमै दैलेखमा गएको बाढीपहिरोमा उद्दारमा देखाएको सक्रियता नागरिकको मन जितिसकेका छन् । ‘पहिरो गएपछि राती दुई बजे स्थानीयले फोन गरे, झण्डै पाँच घण्टापछि काठमाडौँबाट हेलिकोप्टर आएर घाइतेको उद्दार गरयो ।’

दैलेखमा बाढी गएको दिन सम्झदै उनले भने, ‘राती नै उद्दारका लागि गृह मन्त्रालयलाई जानकारी गराए, समयमै घाइतेको उद्दार भएपछि मेरो पनि इज्जत जोगियो ।’ जिल्लामा रहँदा प्राकृतिक प्रकोपमा प्रभावकारी उद्दार, महामारीमा प्रवावकारी समन्वय, सेवा प्रभाव, सुशासन र पारदर्शीतामा सुधार ल्याउने उनको अठोट छ । हालसम्म तत्कालिन क्षेत्रिय प्रशासन, गृहमन्त्रालयको प्रवतादेखि विभिन्न फाँटहरु, धनगढी र घोराई उप–महानगरपालिका, कर्णाली प्रदेशको अर्थमन्त्रालय लगायतका महत्वपूर्ण कार्यालयको नेतृत्व हाँकी सकेका छन् । राजनीतिलाई दलहरुले सेवा र समय अनुकुल कर्मचारी परिवर्तन हुन सकेमा भ्रष्टाचार र सुशासन न्यूनिकरण गर्न सकिने उनको बुझाई छ । (२०७७ भदौं १४ गते आइतबा साताको राष्ट्रसेवक स्तम्भमा युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार