सुत्केरी आमाकाे निधनपछि शिशुलाई गाउँपालिकाले पढाउने

दैलेख, १५ भदौ ।
दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया सुत्केरी पार्वती शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घटनामा गाउँपालिकाले पीडित परिवारका माग पूरा गर्ने भएको छ। उनको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । शनिबार साँझ गाउँपालिकाका जनप्रतिनीधि, मृतक महिलाका आफन्त र राजनीतिक दलका प्रतिनिधिसहितको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा बसेको बैठकले चार बुँदे सहमती गरेको हो ।

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार घटनाको यथार्थ पत्ता लगाउनका लागि छानबिन समिति गठन गर्ने सहमती भएको छ । मृतक पार्वतीको नवजात शिशुको उच्च शिक्षासम्मको अध्ययन र सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने सहमती भएको अध्यक्ष शाहीले बताए ।

यस्तै पार्वतीको उपचारमा क्रममा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने भएको छ भने किरिया खर्च बापत गाउँपालिकाले किरिया अवधिभित्रै २५ हजार रुपैयाँ उपलब्ध गराउने सहमती भएको बताइएको छ । लामो समयदेखि डाक्टर विहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा अबको १५ दिनभित्र विशेषज्ञ सेवा सञ्चालन गर्ने सहमतीसमेत भएको छ ।

त्यसैगरी गाउँपालिकाले एम्बुलेन्स सेवाका लागि नियमित गाडीको व्यवस्थापन गर्ने सहमती भएको बताइएको छ । पार्वतीलाई प्रसुतीका लागि शुक्रबार बिहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो । शुक्रबार दिउँस ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन्। सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावपछि उपचारमा ढिलाइ हुँदा उनको निधन भएको हो । अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरबाहीले उनको मृत्यु भएको आफन्तले बताए ।

तपाईको प्रतिक्रिया