बेपत्ता पारिएका व्यक्ति फर्कने आफन्तहरुको आशा जिवित

सुर्खेत, १४ भदौ ।
वीरेन्द्रनगर–१० निवासी राजकुमारी वलीकी दिदी (दीपा वली) वेपत्ता भएको १७ वर्ष पुग्यो । देशमा चलेको सशस्त्र द्वन्द्वको समयमा राज्यपक्षबाट दीपालाई बेपत्ता बनाइएको थियो । तर अझै पनि दीपा फर्केर आउँछिन् कि भन्ने परिवारलाई आशा छ । २०६० साल साउन २१ गते रामघाटबाट भवानीवक्स दल गण छिन्चु ब्यारेकले पक्राउ गरेदेखि दीपाको अवस्था अत्तोपत्तो छैन ।

उनी जिउँदै छन् या हत्या भइसक्यो भन्नेबारेमा हालसम्म परिवारलाई जानकारी नै छैन । ‘आर्मीले पक्राउ गरेदेखि आजसम्म केही अत्तोपत्तो छैन्’ राजकुमारी भन्छिन्,‘ दिदीकै पिरले बाआमाको मृत्यु भयो, तर १७ वर्षसम्म राज्यले न दिदीको बारेमा जानकारी दियो, न त हामीले न्याय नै पायौं ।’ यो परिवारले न्यायको लागि प्रहरी प्रशासनदेखि अदालतको ढोका पनि ढक्ढक्याए ।

वेपत्ता पारिएकाहरुको खोजीका लागि बनेको बेपत्ता छानविन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र विभिन्न न्यायिक निकायसम्म पुगे । तर आफन्तले दीपाको अवस्थाबारे पत्ता लगाउन सकेनन् । ‘राज्यदेखि विभिन्न संघ संस्थाले सोधिखोजी गरे, नाम ठेगाना र घटनाको विवरण लिए । तर केही गरेनन, बरु उल्टै हाम्रो घाउ बल्झाए’ राजकुमारी भन्छिन्, ‘राज्यले राहत भन्दै १० लाख रुपैयाँ त दियो, तर न्याय भने दिएन । हामीलाई बेपत्ता पारिएकाहरु फर्कन्छन् की भन्ने आशा अझै पनि जिवितै छ ।’ साथै उनले शान्ति प्रक्रियापछि बेपत्ताको छानविन होला भन्ने ठूलो आश राखेको उनले न्याय पाउने आशा भने अझै मारेकी छैनन् ।

गुर्भाकोट नगरपालिका–२ का कृपासिं घर्तीका वुबा पुष्कर घर्ती बेपत्ता भएको १९ वर्ष पुग्यो । तत्कालिन विद्रोही पक्षबाट वेपत्ता बनाइएका उनको अवस्था अझै अज्ञात छ । बुवाको अनुपस्थितिमा कृपासिंले धेरै कष्ट भोगे । कक्षा ७ मा पढ्दै गर्दा बुवा बेपत्ता भएपछि त्यसपछिका दिनहरु कृपासिंका लागि कष्टकर बने । बुवाको अनुपस्थितिमा पढाइ छोड्नु परयो । सकी नसकी घर व्यवहार धान्नुपर्ने भयो । ‘आर्थिक अभावमा आमाले मलाई धेरै पढाउन सक्नु भएन, बुवाको अभावमा पढ्ने इच्छाहरु अधुरै रहे’ कृपासिं भन्छन्, ‘१९ वर्ष वित्यो बुवाको हालसम्म अत्तोपत्तो छैन, तर पनि बुबा कतैबाट अझै घरमा आउनुहुन्छ की भन्ने आश लाग्छ ।’

पुष्करलाई तत्कालिन माओवादीले आधा तलव नदिएकै कारण बेपत्ता बनाएका थिए । विद्रोही पक्षको बारम्बारको धम्की सहन नसकी त्यहाँबाट विस्थापित भएर सबै परिवार मालारानी बसाइ सरे । तर त्यहाँ पनि उनीहरुले सुख पाएनन् । मालारानी पुगेको केही महिनामै विद्रोही पक्षले पुस्करलाई बेपत्ता बनाएको थियो । कृपासिंले पनि वुबाको अवस्था सार्वजनिक गर्न माग गर्दै आयोगहरुमा निवेदन दिए । तर १९ वर्ष वितिसक्दा पुष्करको अवस्था नै सार्वजनिक हुन सकेन ।


राजकुमारी र कृपासिंमात्रै होइन, तत्कालिन सशस्त्र विद्रोहमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका सयौं परिवारका सदस्यहरुको अवस्था उस्तै छ ।  छोराछोरी बेपत्ता पारिएकै पीरले केही आमाबुवाले जीवन नै त्याग्नु परेको छ । केहीले भने बेपत्ता परिवार फर्कने आशैआशमा बसेका छन् । घरको अभिभावक बालबालिकाहरुले भने आजपनि कष्टपूर्ण दैनिकी विताउन बाध्यछन् । अभिभावक बेपत्ता हुँदा हजारौँ बालबालिकाहरु टुहुरो जस्तै हुनु परेको छ । सहाराविहीन भएपछि बालकालिकाले जीवनको लक्ष्य नै बदलेका छन् । द्वन्द्धको चपेटामा परेका ति निर्दोष बालबालिकाले जीवनको गन्तव्य भेटाउन सकेका छैनन् ।

शान्ति प्रक्रियापछि बेपत्ताहरुको छानबिनको लागि भन्दै बेपत्ता छानविन आयोग बन्यो । तर आयोग आफै बेपत्ता भयो । जसकाकारण वर्षांैसम्म वेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गरिएको छैन । आफन्तहरुले पनि बेपत्ता पारिएकाहरु आउने आश मारेका छैनन् । यसैबीच आज (आइतबार) ‘बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको दशौं अन्तर्राष्ट्रिय दिवस’ विविध कार्यक्रम गरेर मनाइने भएको छ । वेपत्ता पारिएकाहरुको सम्झानामा दीप प्रज्वल्लन गर्ने र सरकारलाई ज्ञापन बुझाउने कार्यक्रम तय गरिएको एड्भोकेसी फोरम सुर्खेतका अधिवक्ता तेज बोहोराले जानकारी दिए ।

बेपत्ताका आफन्तलाई आयआर्जनमा जोड्छौं
सशस्त्र विद्रोहको समयमा वेपत्ता पारिएका आफन्तहरुलाई रोजगारमूलक आयआर्जन कार्यक्रममा जोड्ने प्रदेश सरकारले योजना बनाएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट वेपत्ताहरुको परिवार लक्षित रोजगार तथा आयआर्जन मूलक कार्यक्रम ल्याएको हो । द्वन्दमा वेपत्ता परिएका परिवारलाई राहत हुनेगरी आयआर्जन मूलक कार्यक्रम ल्याइएको सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

कार्यविधि अभावका कारण गतवर्ष कार्यक्रम लागु गर्न नसकिएको भन्दै उनले बेपत्ता पारिएका आफन्तलाई राहत मिल्ने गरी चालु आर्थिक वर्षका कार्यक्रमहरु छिट्टै सुरु गर्ने बताइन् । ‘बेपत्ताका आफन्तीहरुको सम्मान र राहतका लागि सिपमूलक कार्यक्रमहरु ल्याएका छौँ’ मन्त्री केसीले भनिन, ‘सरकारका कार्यक्रमले पीडितलाई थोरै भए पनि राहत मिल्नेछ अपेक्षा गरेका छौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार